पश्चिमका सडक हिउँदमै हिलाम्मे
सुर्खेत: पश्चिम सुर्खेतका अधिकांश क्षेत्र अहिले पनि विकट छन् । प्रदेश राजधानीकै जिल्ला भएपनि यहाँका धेरै ठाउँमा सडकको भरपर्दो सुविधा पुगेको छैन । विकासको प्रमुख आधार सडक नै गतिलो नहुँदा पश्चिम क्षेत्रको समग्र विकासमै बाधा भएको छ । यस क्षेत्रका धेरै स्थानमा सडक बनेकै छैनन् । भएका ठाउँमा पनि सहज रूपमा यातायातका साधन गुड्ने अवस्था छैन । नागरिकले दशकौँदेखि सडक सास्ती खेप्दै आएका छन् । यहाँका मुख्य सडकसमेत बर्खामा मात्र नभइ हिउँदमा पनि हिलाम्मे हुन्छन् । सडकको आवश्यक मर्मत–सम्भार नहुँदा नागरिकहरू बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य भएका हुन् । पश्चिमको सडक समस्या भने अहिलेको होइन, विगतदेखिकै हो । तीन दशक अघि जे थियो आज पनि अवस्था कुनै सुधार आएको छैन ।
निर्वाचनका बेला हरेक पार्टी र नेताहरूले यही सडकलाई चुनावी एजेण्डा बनाउँछन् । सडक सुधार गर्ने आश्वासन दिएरै भोट माग्छन् । त्यसपछि अर्को चुनावसम्म सडक सुधार–विस्तारको सवाल ओझेलमा पर्छ । झन्डै तीन दशकदेखि पश्चिममा यस्तै सडक राजनीति चलिरहेको छ । चुनावताका निकै चर्चा हुने सडकको स्तरोन्नति भने कहिल्यै हुँदैन । विकासको यो एजेण्डा चुनाव जितेपछि आश्वासनमा मात्र सीमित हुने गरेको छ । सडक सुविधा भरपर्दो नभएपछि अहिले पनि पश्चिम क्षेत्रका कतिपय स्थानबाट वीरेन्द्रनगर आउन एकदिन पुरै लाग्छ । नजिकैको दूरीमा पनि कच्ची र हिलाम्मे सडकले यात्रा निकै असहज हुने गरेको त्यस क्षेत्रका बासिन्दा बताउँछन् । सडकको मर्मत–सम्भार नहुँदा सधैँ कष्टकर यात्रा गर्नु परिरहेको चौकुने गाउँपालिकाका रमेशकुमार कठायतले बताए । उनी भन्छन्, ‘दशक पहिले खनिएका सडकको हालत अहिले पनि उस्तै छ । आवश्यक स्तरोन्नति नगरिँदा झन्–झन् जीर्ण बन्दै गएका छन् ।’ ती सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिमसमेत उत्तिकै रहेको उनले बताए । सडक सुधारमा तीनै तहका सरकारले चासो नदिएको कठायतले गुनासो गरे ।
केही दिनयतादेखि बड्डिचौर–बेनिघाट सडक खण्डअन्तर्गत बड्डिचौरको खम्बागाडेमा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । उक्त सडक मर्मत नहुँदा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । उपचारलगायतका अत्यावश्यक काम लिएर वीरेन्द्रनगर आउनेहरू मर्कामा परेका हुन् । हिलाम्मे सडकमा गाडी पास गर्नै मुस्किल छ । त्यही सडक भएर ओहोर–दोहोर गर्नुपर्ने सयौं यात्रु दैनिक अलपत्र परिरहेका छन् । नेकपा ‐एमाले) सुर्खेतका उपसचिव घनश्याम पाण्डे प्रदेश र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण पश्चिमका नागरिकको यात्रा वर्षाैंदेखि कष्टकर बनेको बताउँछन् । उनलले सडक सुधार गर्ने जिम्मेवारीबाट स्थानीय सरकार पनि पन्छिने गरेको आरोप लगाए । ‘सामान्य मर्मत–सुधार त स्थानीय तहले पनि गर्नसक्थ्यो,’ पाण्डेले भने, ‘सडकको विजोग अवस्था हुँदा पनि पालिकाले बेवास्ता गर्दै आएको छ ।’
विगतमा बड्डिचौर–बेनिघाटअन्तर्गत रहेको यो सडक खण्ड हाल मदन भण्डारी राजमार्गमा पर्छ । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले कच्ची र जीर्ण सडक भएकाले जति पटक मर्मत गरेपनि अवस्था सुधार हुन नसकेको बताए । कच्ची सडक र त्यहाँको भूवनोटका कारण पनि समस्या दोहोरिने गरेको उनी बताउँछन् । त्यहाँ पानी पर्ने वित्तिकै सडक अवरुद्ध हुने गरेको हो । अहिले भने बड्डिचौरको खम्बागाडेमा बिग्रिएको सडक मर्मत गरिएको छ । ‘वर्षाका कारण सडक हिलाम्मे हुँदा केही दिन यात्रुहरूले सास्ती पाउनुभयो,’ अध्यक्ष बस्नेतले भने, ‘सडकको अवरोध हटाइएको छ । मंगलवारदेखि गाडी चलेका छन् ।’ उनले अब यो खण्ड मदनभण्डारी राजमार्गमा परेकाले गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको जनाए । ग्राभेल मात्र भएकाले यस सडकमा नियमित गाडि सञ्चालनमा निकै चुनौती रहेको उनको भनाइ छ ।
बड्डिचौर–बेनिघाट सडक निर्माणको काम सुरु भएको झन्डै तीन दशक पुग्नै लागेको छ । वि.सं. २०५० सालमा सडक निर्माण थालिएपनि हालसम्म स्तरोन्नति हुन सकेको छैन । सडक सुधारमा ढिलाइ भएपछि त्यस क्षेत्रका बासिन्दा अझै यातायातको सहज पहुँचमा पुग्न नसकेका हुन् । कतिपय सडक खण्डमा हिउँदमा पनि डोरी लगाएर गाडि तान्नुपर्ने बाध्यता छ । खोलामा पुल नहुँदा पानीको बहाव बढ्दा घण्टौंसम्म किनारमा कुर्नुपर्छ । बड्डिचौरदेखि लगामसम्म ९४ किलोमिटर सडक खण्ड पर्छ । मदनभण्डारी राजमार्ग आयोजनाले यो खण्डमा ५० मिटर चौडा सडक बनाउने जनाएको छ । तर, सडक निर्माण पूर्वका थुप्रै काम भने बाँकी नै छन् । राष्ट्रिय गौरवको राजमार्गमा परेपनि सडक सुधार–विस्तारको कामको गति निकै सुस्त छ । बल्ल विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) बनेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन ‐ईआईए) हुन सकेको छैन ।
विकासका अन्य पूर्वाधार ओसार्ने मुख्य माध्यमकै बेहाल भएपछि यसले पश्चिम सुर्खेतको विकासलाई निकै पछाडि धकलेको एमाले नेता पाण्डेले बताए । उनका अनुसार प्रदेश राजधानीको नजिकै भएपनि सडक पूर्वाधार भरपर्दो नभएकै कारण पश्चिम सुर्खेत दुर्गम छ । त्यहाँका सडकको स्तरोन्नति नहुनुमा नेताकै कमजोरी रहेको उनी बताउँछन् । ‘सडकको हालत उस्तै रहिरहनुमा यस क्षेत्रबाट जो–जो सांसद र मन्त्री बन्नुभयो उहाँहरूकै निरीहता हो,’ पाण्डेले भने, ‘सडक नेताहरूको प्राथमिकतामा परेकै छैन ।’ यस क्षेत्रबाट चुनिएका जनप्रतिनिधिको उदासिनताका कारण सडक स्तरोन्नति नभएको उनको भनाइ छ ।
बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले यही सडक भएर दैनिक वीरेन्द्रनगर ओहोर–दोहोर गर्नुपर्ने हुन्छ । अधिकांश सडक खण्डमा वर्षात्को समयमा त झन् गाडि नै चल्दैनन् । एम्बुलेन्ससमेत चल्ने अवस्था नभएपछि बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् । स्थानीय जनप्रतिनिधिहरूले भने सडक सुधार नहुनुमा प्रदेश र संघीय सरकारकै लापरबाही रहेको बताउने गरेका छन् । संघ र प्रदेश सरकारसँग स्थानीय तहले बारम्बार सडक सुधारका लागि पहल गरिरहेको उनीहरूको दाबी छ । पश्चिममा माथिल्लो तहका सरकारले निर्माण थालेका सडक योजना समयमै सम्पन्न नहुँदा पनि समस्या जटिल बन्दै गएको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा बड्डिचौरदेखि बाबियाचौरसम्म सडक सुधार गर्ने योजना ल्याएपनि त्यसको कार्यान्वयन अझै भएको छैन । उक्त सडक मर्मत–सुधारका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ ।
प्रकाशित मितिः २० माघ २०७८, बिहीबार ०५:०५
साझा बिसौनी ।