कोभिडको तेस्रो लहर

कर्णालीमा कोरोनाका सिकिस्त संक्रमित न्यून

सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरमा कर्णाली निकै प्रभावित बन्यो । त्यसबेलाको संक्रमणले ठूलो मानवीय क्षतिसमेत भयो । संक्रमणको त्रास पनि बढी नै रह्यो । त्यसको दाजोमा हालसम्मको अवस्था हेर्दा तेस्रो लहरको असर भने कम देखिएको छ । अहिले कोरोनाबाट भयभीत हुने अवस्थासमेत हट्दै गएको हो ।

चिकित्सकहरूका अनुसार कर्णालीमा पुस अन्तिम सातादेखि तेस्रो लहर फैलिन थालेको थियो । त्यसयता संक्रमणको ग्राफ दैनिकजसो उकालो लागेको छ । यो लहरमा संक्रमण तीव्र देखिएपनि सिकिस्त बिरामी भने न्यून छन् । अहिले अस्पतालहरूमा बिरामीको चाप छैन । फाटफुट मात्रै संक्रमितहरू उपचारका लागि अस्पताल जाने गरेका हुन् ।

प्रदेश अस्पताल सुर्खेतमा पाँच जना संक्रमित उपचाररत् छन् । यही अस्पताल हो, जहाँ गत वर्ष संक्रमितको चाप थेग्न नसकेर सेवा प्रवाहमा समस्या भएको थियो । दोस्रो लहरको संक्रमणताका कर्णालीका अस्पतालहरूमा बेड र मेडिकल अक्सिजनको चरम अभाव भयो । अहिले त्यस्तो स्थिति नरहेको अस्पताल निर्देशक डा. डम्बर खड्का बताउँछन् । उनले संक्रमण दर उच्च भएपनि अधिकांशमा सामान्य स्वास्थ्य समस्या मात्रै देखिएको जनाए । ‘अस्पतालमा संक्रमित बिरामीको चाप छैन,’ उनले भने, ‘हाम्रोमा दैनिक सरदर चार÷पाँच जनाले उपचार गरिराख्नु भएको छ । यसपटक जटिल स्वास्थ्य समस्या कमैलाई देखियो ।’ अघिल्लो वर्ष संक्रमण यही हाराहारीमा हुँदा धेरैमा जटिल समस्या देखिएका थिए । कर्णालीमा पहिलोभन्दा दोस्रो लहरमा डेल्टा भेरियन्टले धेरै संक्रमित भए । दोस्रो लहरमा मृत्युदरसमेत अधिक थियो । त्यसबेला दैनिक १२ जनासम्म संक्रमितको ज्यान गएको हो ।

प्रदेशभर हालसम्म चार सय ५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पहिलो लहरमा ६८ र दोस्रोमा तीन सय ८८ जनाको मृत्यु भएको हो । तेस्रो लहर सुरु भएदेखि कोरोनाकै कारण कसैको मृत्यु भएको छैन । पछिल्लो समय कोरोना भाइरसविरुद्ध दिइने खोपको दायरा बढ्नु तथा स्वास्थ्य सावधानीमा समेत ख्याल गर्नेको संख्या वृद्धि भएकाले मृत्युदर घटेको हुनसक्ने प्रदेश अस्पतालका निर्देशक डा. खड्काको आकलन छ । उनी भन्छन्, ‘संक्रमित भए भनेर आत्तिहाल्नु पर्दैन । त्यस अनुसारका स्वास्थ्य पूर्वाधार र जनशक्तिको व्यवस्था भएको छ । पहिलेजस्तो उपचारमै समस्या हुने अवस्था अहिले छैन ।’ उनले जोखिमबाट बच्न भने सबै नागरिक उत्तिकै जिम्मेवार र सतर्क रहनुपर्ने सुझाए ।

पछिल्ला केही दिनयता समुदायस्तरमा ओमिक्रोन भेरियन्टको संक्रमण रफ्तारमा फैलिएको छ । सिकिस्त बनाउने नभए पनि यसले धेरै जनालाई संक्रमण गराउने चिकित्सकहरूले जनाएका छन् । उनीहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन दुई गुणा छिटो फैलिरहेको छ । कर्णालीमा पनि संक्रमण दर तीव्र छ । यहाँ माघ लागेयता संक्रमण दर ६० प्रतिशतभन्दा माथि पुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कले संक्रमण दर दिनहुँ बढ्दो क्रममा रहेको देखाएको छ । शुक्रवार मात्र प्रदेशभर चार सय ४८ जनाको नमूना परीक्षण गर्दा दुई सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर हालसम्म ४५ प्रतिशतले कोरोना भाइरसविरुद्वको दुवै डोज खोप लगाइसकेका छन् । माघ पहिलो सातादेखि प्रदेशभर खोपको थप मात्रा ‘बुस्टर डोज’ पनि दिइँदै आएको छ । खोप अभियानले संक्रमणको जोखिम पनि कम गरेको बताइएको छ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा मोडर्ना खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य संस्थासँगै माघ २० गतेसम्म विद्यालयमा पनि केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाइँदै छ । केही जिल्लामा पहिलो र कतिपयमा दोस्रो मात्रा मोडर्ना खोप दिन लागिएको हो । प्रदेशका हिमाली जिल्लामा भने दोस्रो चरणको खोप फागुुनमा सञ्चालन गर्ने तयारी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको छ । त्यस्तै, संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने र ज्येष्ठ नागरिकहरूलाई बुस्टर डोज दिइँदै आएको छ ।

निर्देशनालयको पछिल्लो विवरणअनुसार प्रदेशभर कोरोनाका सक्रिय संक्रमित एक हजार आठ सय २६ रहेका छन् । संक्रमणमुक्त हुने दर पनि राम्रो रहेको निर्देशनालयले जनाएको छ । यो पटक अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । हाल ११ जना मात्र संस्थागत आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । बाँकी एक हजार आठ सय १५ जना संक्रमित होम आइसोलेसनमा बसेका हुन । संक्रमित बिरामीमा खासै लक्षण नदेखिएकाले पनि होम आइसोलेसनमै बसेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् । कोरोनाको तेस्रो लहर भयभीत नभइ संयमित हुुनुुपर्ने खालको रहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । ‘जटिल खालका लक्षण नभएकाले धेरै संक्रमित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर घरमै बस्नु भएको छ,’ उनले भने, ‘अस्पताल भर्ना तथा संस्थागत आइसोलेसनमा रहेकाहरूमा पनि ठूलो स्वास्थ्य समस्या छैन ।’ कोरोना संक्रमणलाई सामान्य रूपमा भने लिन नहुनेतर्फ उनले सचेत गराए । सार्वजनिक स्थल र भिडभाड हुने क्षेत्रहरूमा जनस्वास्थ्य मापदण्ड पालना नहुनुुले संक्रमणको जोखिम अझै उच्च रहेको उनको भनाइ छ ।

बालबालिकालाई ‘गुलाबी खोप’

सरकारले पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोना विरुद्घको खोप दिने तयारी गरेको छ । योभन्दा माथिका उमेर समूहलाई खोप दिइँदै आएपनि ११ वर्षमुनीकालाई पनि खोप दिने तयारी थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब दुई महिनापछि उक्त उमेरकालाई खोप दिइने छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘गुलाबी खोप’ मार्चको अन्त्य वा अप्रिल पहिलो सातासम्म आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । खोप आउनासाथ दुईदेखि तीन महिनाभित्र यो उमेर समूहका पूर्ण जनसंख्यालाई लगाउने तयारी भइरहेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालको कूल जनसंख्याको ४५.२ प्रतिशत अर्थात् एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनालाई पूर्ण मात्रा खोप दिइएको छ । त्यस्तै, ५४.२ प्रतिशत अर्थात् एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । दुई लाख ८२ हजारले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाइसकेका छन् ।

प्रकाशित मितिः   १५ माघ २०७८, शनिबार ०५:०७