रङ्गमञ्चकी माया

पहिला–पहिलातिरका नाटकीय गतिविधिमा महिलाको भूमिका निभाउने नारी पात्र कोही हुँदैनथे । गुनियो–चोलो लगाएर पुरुषबाट नै नारी पात्रको गर्ज टार्ने गरिन्थ्यो । नारीलाई रङ्गमञ्चमा अभिनय गर्न घर परिवार र समाजबाट एक किसिमको नैतिक बन्देज जस्तै थियोे । हामी भन्दा एक पिढी अघिल्लो पुस्तासम्मले त्यस्तो समस्या व्यहोर्दै आयो । समयले नैतिकताको त्यो बन्धनलाई खुकुलो पारी विस्तारै फुकायो । गुनियो–चोलोमा बेरिएर घुम्टो हालेर नारीको आभास दिन त सकिएला, नारी कण्ठबाट निस्कने सुरिलो आवाज कसरी दुरुस्तै बनाउनु ! उठबस चालढाल कताबाट मिलाउनु ! अभिनयमा जतिसुकै मेहनत गरेर विभिन्न रसमा डुब्न खोजे पनि दर्शकले त्यसलाई मजाक ठानी हास्यमै मिसाई दिँदाहुन् । कृत्रिम नारी पात्रका कारण हास्यरसबाट उम्कनै सक्दैनथ्यो होला नाटक । सम्झदा त्यस्तो लाग्छ ।

हाम्रो पिढीमा आइपुग्दा नारी पुरुष बराबर जस्तै जस्तै भए । सौभाग्यले रङ्गमञ्चीय गतिविधिका सुरुआती दिनमा पनि हामीलाई त्यो समस्या आएन । टीका पुलामी, सीता राना, लीला राना, दुर्गा थापालगायतका नारी पात्रहरू उत्कट चाहना राखी काममा साझेदार हुँदै आए । केही पछिल्ला दिनमा बागीना समूह सुर्खेतको रङ्गमञ्चीय गतिविधिमा संलग्न हुँदा नारी पात्रमा सशक्त अभिनय गर्ने सानी एउटी कलिली केटी थिइन्, जसको अभिनय कलाले चित्ताकर्षक गरेर हेरिरहुँ झैं लागिरहन्थ्यो । नाम हो सुशीला बस्नेत । सुशीलाको बुलन्द आवाज र त्यो आवाजसँग दुरुस्त मेलखाने अङ्ग सञ्चालनले अभिनयमा पूर्णतया यथार्थ झल्कन्थ्यो । त्यस कारणले जुनसुकै नाटकमा पनि सुशीलाको महŒव अगाडि आउँथ्यो ।

बागीनाको रङ्गमञ्चीय गतिविधिमा नन्दा बस्याल, टीका पुन र पूजा भण्डारीले पनि कुनै समय अभिनय गरिरहेका हुन् । बालकलाकरका रूपमा बागीनाले समेटेका सुनिता रोकाय र सविता कोइराला निरन्तर अभिनय गर्दागर्दै परिपक्व उमेरका भए । जुनसुकै भूमिका सहजै गर्नसक्ने प्रतिभावान नारी पात्र हुन सुनिता र सविता ।

बागीनाबाट हामीले २०६०÷०६१ सालमा सुरक्षित मातृत्वका लागि हप्ताको कुनै एकबार बज्ने रेडियो नाटकको एउटा श्रृंखला तयार पार्दै थियौं । नाटक रेकर्डका लागि रेडियो नेपाल कालागाउँ पुग्नुपथ्र्यो । आवतजावतका लागि कुनै सवारीसाधन थिएनन् । हामीसँग ३÷४ वटा मोटरसाइकल थिए । कलाकारलाई खेपैखेप ओसारपसार गर्नुपथ्र्यो । रेडियोमा रेकर्ड गर्न अहिले जस्तो सरल प्रविधि पनि थिएन । रेकर्ड बिग्रेको खण्डमा घरीघरी दोहो¥याउनु पथ्र्यो, तनाव हुन्थ्यो । कहिले दिनभरी र कहिलेकाहीँ भोलिपल्टसमेतको समय बर्बाद हुन्थ्यो । सरकारी जागिरेका लागि त समय मिलान गर्न अत्यन्त कठिन पथ्र्यो । मेहनत पूर्वक गरेको कामको परिणाम कस्तो आउला भनी घरमा कौतुहलताले रेडियो सुन्दा नतिजाले आनन्दी तुल्याउँथ्यो । राम्रै गरिएछ भन्ने लाग्थ्यो । सन्तोषजनक नतिजाले अझ सुधार्नु पर्ने कुरा पनि औंल्याइ दिन्थ्यो, कामले काम सिकाउँछ भने झैं । रेडियो नाटकमा अभिनयको सबै प्रक्रिया ध्वनि र स्वरमा मात्रै निर्भर हुन्छ । मञ्च र सडकमा आङ्गीक र वाचिक (हाउभाउ र संवाद) दुवै माध्यमले अभिनय गरिन्छ । हाउभाउ कटाक्ष क्रिया–प्रतिक्रिया र संवादले गरिने अभिनयमा सानोतिनो त्रुटिको त्यति भेउ पाइँदैन । त्यहाँ हाउभाउले नपुगे संवाद र संवादले नपुगे हाउभाउले धानिदिए पनि पुग्छ । तर रेडियोमा त्यो स्वीकार्य हुँदैन त्यहाँ त सानो त्रुटि पनि छर्लङ्ग देखिन पुग्छ । परिस्थिति परिवेश घटना परिघटना सबैथोक बुझाउनका लागि स्वरमै प्राण भरिनुपर्छ रेडियो नाटकमा ।

हामी नेवारे चनौटेबाट नाटकीय गतिविधिमा तल्लीन रहेको अवस्थामा २०५५ सालमा रेडियो नेपालले देशव्यापी रूपमा रेडियो नाटकको आह्वान ग¥यो । त्यतिबेला रेडियो नाटकको ठूलो महŒव थियोे । नाटकमा रूचि राख्ने मान्छे आफ्नो काम निप्टाएर दिउँसो एक बजे रेडियोसँग झुम्मिन्थे । ‘आए आँप गए झटारो’ भन्दै हामीले एउटा नाटक निर्धारित मितिभित्र रेडियो नेपालको ठेगानामा पठायौं । नाटक छनौटमा परेकोले रेकर्डका लागि क्षेत्रीय प्रसारणमा सम्पर्क राख्नुपर्ने जानकारी आयो । त्यो हाम्रा लागि अत्यन्त खुसीको कुरा थियोे, किन कि मोफसलबाट रेडियो नाटकहरू सितिमिति राजधानी छिर्न सक्दैनथे । रेकर्ड भएपछि केन्द्रीय र क्षेत्रीय प्रसारणबाट पालैपालो बजिरह्यो रेडियो नाटक ‘टोपीको मोल’ । त्यो सफलताले उत्साह र हौसला मात्र दिएन, केही ज्ञान पनि छोडेर गयो । टोपीको मोलले रेडियो नाटकमा सुरु यात्रा तय गरिदियो । अनुभव आर्जन गर्ने मौका दियो ।

‘सुरक्षित मातृत्व’ नामक रेडियो नाटकका लागि सासुको भूमिकामा सुशीलाको आवाज परिपूर्ण थियोे । स्वास्थ्य परिचारिका तथा छिमेकी महिलाको भूमिकामा सुनिता र सविता छँदैथिए । प्रसव वेदनामा छटपटाउँदा बुहारीको चीत्कार अलि चित्तबुझ्दो लागिरहेको थिएन । नाटक पूर्वाभ्यासका लागि हामीहरू बागीना प्राङ्गणमा थियौं ।

‘दाइ, मैले एउटा नानीलाई बोलाएको छु तिनलाई हेरौंन । राम्रो गर्न सकिन् भने अरु कार्यक्रममा हामीलाई पछिसम्म पनि काम लाग्छ ।’ भाइ गोविन्द कोइरालाले त्यसो भनेपछि हामी भित्र पस्यौं ।

‘के हो नानी तिम्रो नाम ?’

‘माया थापा ।’

‘प्रसव वेदनाको रोल गर्नुपर्ने छ, सकिन्छ ?’

‘खोइ, हेरौंन, सक्छु कि !’

नयाँ कलाकारलाई कथाको विषय, परिवेश र परिस्थिति बुझाउन केहीबेर पूर्वाभ्यास गरेर हामी रमाना भयौं रेडियो नेपाल क्षेत्रीय प्रसारण कालागाउँमा । रेकर्डिङमा कतै पनि नरोकिएर खोला झैं सलल बग्यो नाटक । अनुमान गरेको निर्धारित समयभन्दा अगाडि नै सकियो नाटक । नतिजाले पनि सन्तोषको ठाउँ अझ फराकिलो बनायो । त्यो श्रृंखला ले रेडियो नाटकका लागि एउटा अनिवार्य पात्र बनाइदियो मायालाई ।

मनोरञ्जनको साथसाथै दर्शकदीर्घामा सिधा सन्देश प्रवाह गर्न पछिल्ला दिनहरूमा सडक नाटक अत्यन्त लोकप्रिय हुँदै गएको छ । सरकारी र गैरसरकारी संघ–संस्थाले आफ्ना कार्यक्रम जनसमाजमा लैजान सडक नाटकलाई नै माध्यम बनाउने गरिरहेका छन् । रेडियो र मञ्च नाटकमा जतिसुकै अभ्यस्त र पारङ्गत भएपनि सडक नाटकको प्रकृति फरक भएकोले पात्रको भूमिका निभाउन सुरुका दिनहरूमा कोही कसैलाई केही गाह्रो अप्ठ्यारो र असजिलो पनि हुनसक्छ । वरिपरि नजिकैको घेराबाट दर्शकको प्रत्येक्ष सामना गर्नुपर्छ त्यहाँ । रेडियोमा जस्तो बिग्रेको खण्डमा दोह¥याउन पनि मिल्ने र मञ्चमा जस्तो पछाडि फर्केन मिल्ने त्यस्तो कुनै गुन्जाइस सडक नाटकमा हुँदैन । कतिपय ठाउँतिर अभिनयमा अलि कमजोर र सिकारु पात्रलाई दर्शकले हतोत्साही पार्ने मात्र होइन हास्यपात्र बनाइ दिन्छन् । सडक नाटकका सुरुवाती दिनहरूमा समेत अभिनयको मनोविनोदले दर्शकको मन जित्न सफल भएपछि बागीना समूह र आरंग नेपालको नाटकीय गतिविधि र अभिनय क्षेत्रमा एक नारी पात्रको स्थापित नाम भयो माया थापा ।

रेडियो, सडक हुँदै मञ्च नाटकमा फड्को मारेर सशक्त अभिनयको माध्यमबाट आफ्नो पहिचान बनाएकी थापाले ‘दाइ मेरो बिहामा हजुर जसरी पनि आउनुहोला’ भनेर निम्ता गरेको हिजो–अस्ति झैं लाग्छ । बाध्यतावस जिल्ला बाहिर जानुपर्ने कारणले बिहेमा माइतीपक्ष हुन सकिएन । लामो समयसम्म जागिरले मलाई बाहिरतिरै अड्यायो । हिउँद–बर्खाहरू धेरै बितेर गए । समयको अन्तरालमा एकाएक आमाको बिँडो थाम्न सक्छु भन्ने आभास दिएर मायाकी छोरी सुमार्गी कार्की हामीसँग आइन् बालकलाकारको रूपमा अभिनय गर्न । रङ्गकर्ममा केही गर्न सकिएन भन्ने दिक्दारीले पटकपटक मन कुँडिएर साह्रै विरक्त बनाउँदा साना आँखामा सपना लिएर आउँछन् यिनी कोपिलाहरू । रङ्गकर्ममा जाँगर पोख्न आउने सुमार्गीहरूका अनुहार हेर्दा हृदयमा आशा फुलेर आउँछ । ओइलि झर्छन निराशा सबै, खिचिन्छ मन फेरि रङ्गकर्मतिर निरन्तर ।

वर्तमान समय परिवेशमा रंगकर्ममा अभिनय गर्न नारीलाई कुनै नैतिकता र संकोचले रोक लगाउन सक्दैन । बरु पेसा र काम काजले अभिनयमा पारंगत नारी पात्रहरूलाई अलि व्यस्त बनाउँदै लगेको छ । केही निश्चित समय कालसम्म रङ्गमञ्चमा सक्रिय रहने र पछि चटक्कै छोडी ओझेल पर्ने परिपाटीलाई अनिवार्य सुधार गर्नुपर्ने देखिन्छ । कहिले कुनै नाटकले चारजना नारी पात्र खोज्यो भने पूर्वाभ्यासदेखि प्रस्तुतिसम्म तनावकै सामना गर्नुपर्छ र सिक्दै गरेका नयाँ पात्रबाट काम उतार्नुपर्ने हुन्छ । जहाँ ईच्छा त्यहाँ उपाए भने झैं कुनै बाध्यता, व्यस्तता र विवशतामा नअल्झियोस अबको रङ्गयात्रा । प्रतिबद्धतामा ध्यान दिए फुक्दै जान्छन सबै विघ्न बाधा । जय नाट्यश्वरी !

-उमालाल आचार्य

प्रकाशित मितिः   १५ माघ २०७८, शनिबार ०५:०४