३४ हजार नागरिक भोकमरीको चपेटामा

भूकम्पीय प्रभाव तथा उत्पादन कमीको कारण नेपालका ३४ हजार नागरिक भोकमरीको चपेटामा पर्ने तथ्यांक सार्वजनिक भएको छ। खासगरी भूकम्प प्रभावित जिल्ला र पश्चिमी विकट जिल्लाहरुमा करिब ३ महिना खाद्य असुरक्षा चरम रुपमा आइपर्ने नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)ले गरेको अध्ययनमा प्रक्षेपण भएको छ।

कृषि विकास मन्त्रालयको अगुवाइमा जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालहरुले यो अध्ययन गरेका हुन् जुन काठमाण्डौबाहेकका जिल्लामा गरिएको थियो। ‘मुख्य कारण गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्पको प्रभाव देखियो’ प्रतिवेदनमा भनिएको छ, ‘भूकम्प प्रभावित जिल्लामा जिल्ला खाद्य सुरक्षा संजालहरूले हिउँदे बालीको उत्पादनमा ह्रास आएको, सरसफाइ र स्वास्थ्यको अवस्था नराम्रो रहेको, बाढी पहिरोका कारण सडक र बाटोघाटो बन्द भएकोसमेत जस्ता कारण पनि देखिए।’

प्रतिवेदन अनुसार गोरखा, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकका केही गाविसमा खाद्य असुरक्षा चरम रुपमा आइपर्ने देखिएको छ।

‘भूकम्प प्रभावित जिल्लाका सर्वसाधारण न्यून राहतले मात्र नपुग्ने भएकाले घर बनाउने, तत्कालिक रोजगारी खोज्नुपर्ने जस्ता समस्यामा छन्,’ कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘त्यसैले खाद्यान्न उत्पादनभन्दा अरु काममा बढी ध्यान दिएकोले खाद्य असुरक्षा बढेको हो।’

यो वर्ष धान र मकैको उत्पादन देशभरि नै बढेकाले समग्र खाद्य सुरक्षाको अवस्थामा भने सुधार हुने देखिएको छ। यो वर्ष धानको उत्पादन हालको ४२ लाख टनबाट बढेर ४९ लाख टन पुग्ने अनुमान मन्त्रालयले गरेको छ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले विभिन्न जिल्लाका ३१ गाविसलाई उच्चतम् खाद्य असुरक्षित, १७५ गाविसलाई मध्यमस्तरीय खाद्य असुरक्षित र ३ हजार १५९ गाविस तथा नगरपालिकालाई न्यूनतम खाद्य असुरक्षित अवस्थामा वर्गीकरण गरेका छन्। नेक्सापले हरेक चार महिनामा समग्र खाद्य सुरक्षाको अवस्थालाई विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

प्रकाशित मितिः   ६ पुष २०७३, बुधबार १२:११