महिला आन्दोलनको इतिहास र वर्तमान
गीता थापा |
महिला आन्दोलनको इतिहास लामो छ । यद्यपि सन् १९७० को दशकदेखि महिला आन्दोलन थप सङ्गठित र व्यवस्थित भएको हो । विश्वका केही क्रियाशील महिलाहरूले सुरुवात गरेको महिला आन्दोलनकै कारण ७० को दशकसँगै विकास प्रक्रियामा महिलाको समानुपातिक सहभागिता र विकास हुनुपर्ने कुरा व्यापाक ढङ्गले आवाज उठ्यो । महिलाको विकास योजनामा भूमिका र सहभागितालाई सन् १९७० दशकदेखि विभिन्न पक्षले जोड दिएको पाइन्छ ।
१९ औं शताब्दीको मध्यतिर आइपुग्दा पनि विश्वका विकसित मुलुकहरूमा समेत महिला अधिकार, समानता र स्वतन्त्रता कुण्ठित थियो । बीसौं शताब्दीको सुरुवातसँगै युरोपियन मुलुकमा औद्योगिकीकरणको विस्तार र विकासको व्यापकता सँगसँगै क्रान्तिकारी विचारधाराहरूको विकासमा पनि तीव्रता आयो र विश्वमा विज्ञान र प्रविधिको विकास उत्पादनमा वृद्धिसँगै श्रमिक र पूँजीपति वर्गको पनि विकास हुन थाल्यो । पूँजीपतिहरूले आफ्नो वर्गीय विशेषता अनुरूप श्रमिकहरूको श्रमको अत्यधिक शोषण गरी मुनाफा कमाउने होडवाजी गर्न थाले । यस्तो शोषणको प्रतिवाद गर्दै श्रमिकहरूले आफ्नो श्रमको उचित मूल्य काम गर्ने स्वस्थकर वातावरण र सामाजिक सुरक्षा ८ घण्टा काम आठ घण्टा मनोराजन र आठ घण्टा आराम जस्ता आधारभूत अधिकारको माग राखी सङ्घर्षको थालनी गरे । त्यस समयमा महिलाहरू भने सीमित संख्यामा मात्र रोजगारमा सामेल थिए सार्वजनिक क्षेत्रमा महिलाहरू नगन्यरूपमा मात्र थिए । यही परिवेशमा महिलाहरूले सार्वजनिक क्षेत्रमा प्रवेश पाउनुपर्ने रोजगारीको अधिकार मताधिकार जस्ता अधिकारको कुरा उठाउन थाले ।
सन् १९०८ मा महिलाहरूमाथिको दमन दिनमा १८ घण्टाभन्दा धेरै काम गर्नुपर्ने बाध्यात्मक अवस्था र असमानता जस्ता कुराहरूको विरोध गर्दै महिलाहरू बोल्न र क्रियाशील बन्न थाले र अमेरिकाको शिकागोमा काम गर्ने घण्टामा कार्य घण्टा घटाउने उपयुक्त तलब र मताधिकारको माग गर्दै १५ हजार महिलाहरूले ¥याली गरे । त्यसबीच सन् २००९ मा अमेरिकामा समाजवादी पार्टीको घोषणा भयो । यसमा महिलाहरू पनि सम्मिलित भएर महिला अधिकारका कुराहरूलाई अझ व्यवस्थित रूपमा निरन्तर उठाउँदै आए । तत्कालिन समयमा महिलाहरूले आफ्नो अस्तित्वबोध गरेर परिवारको सीमित घेरालाई तोड्दै सार्वजनिक क्षेत्रमा महिलाको पहुँच हुनुपर्ने कुरा उठाएता पनि महिला आन्दोलनको स्पष्ट खाका कोरिइसकेको थिएन । अन्तर्राष्ट्रिय महिला आन्दोलनको विकास भइसकेको पनि थिएन ।
महिला विकास आन्दोलनको पहिलो प्रयास स्वरूप सन् १९१० मा विभिन्न विकसित मुलुकका महिलाहरूले महिला र पुरुषबीचको भेद्भाव कम गर्न र समान अधिकारका लागि संयुक्त रूपमा आवाज उठाउन थाले । सन् १९४५ भन्दा अघि विश्व साम्रज्यवाद र युद्धको भुमरीमा जडकिएकोले यस्तो अवस्थामा कुनै पनि विकास र जागरणको काम थाल्नु सहज थिएनता पनि नारी स्वतन्त्रता र समानताका लागि फ्रान्स, इटली, केन्या, ब्राजिल, अमेरिका, चीन, रसिया जस्ता समृद्ध र शिक्षाको क्षेत्रमा अगाडि रहेका मुलुकका केही प्रवुद्ध र जागरुक महिलाहरूको महिला विकास आन्दोलनमा महŒवपूर्ण ऐतिहासिक भूमिका रहेको पाइन्छ । सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तीपछि सम्पूर्ण विश्वमा शान्ति कायम गर्ने उद्देश्यले विश्वकै छाता सङ्गठनका रूपमा संयुक्त राष्ट्रसंघको स्थापना भयो र यही छाता सङ्गठनको पहलमा विश्वभरी वैमनस्यताको अन्त्य भइ शान्ति स्थापना हुनुका साथै विकास र जागरणका आयाम र सिद्धान्तहरू प्रतिपादन हुन थाले । यसै अनुरूप आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विकासले विस्तारै गति लिन थाल्यो । सामाजिक विकास अन्तर्गत महिला स्वतन्त्रता, समानता तथा समता र लैंगिक विभेद विरुद्धका अवधारणाले स्थान पाउँदै गए । विभिन्न समयमा महिला विकास र जागरण सम्बन्धी गरिएका प्रयासहरूको कदर गर्दै सन् १९४५ मा संयुक्त राष्ट्रसंघले महिला र पुरुषबीच भेद्भाव नभइ समानता कायम हुनुपर्ने तर्कमा जोड् िदिँदै यस विषयलाई वडापत्रमा समावेश ग¥यो । यसै निर्णयलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले महिला भेद्भाव विरुद्ध नीति नियम र ऐन कानुनहरू निर्माण गरे ।
नेपालमा महिला आन्दोलनको चर्चा गर्दा इतिहासलाई सम्झनुपर्ने हुन्छ । विभिन्न कु–संस्कार र व्यतिथिका कारण नेपाली महिला आन्दोलनको सुरुवात भएको हो । हिन्दु धर्म अनुसार पौणिक समयदेखि नै महिलालाई देवीको रूपमा पुज्दै आएको पाइन्छ । काली, लक्ष्मी, सरस्वती, क्रमशः शक्ति, सम्पत्ति र ज्ञानको प्रतिकको रूपमा लिने गरिन्छ । भने शक्ति, सावित्री र पार्वतीलाई देवीको प्रतिकका रूपमा लिने गरिन्छ । महिलालाई देवीको प्रतिक मान्ने यही समाजले उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको कारण नेपाली महिला आन्दोलनको जन्म भएको हो । नेपाली महिला विरुद्ध हुने विभिन्न खाले भेद्भाव र शोषणका विरुद्ध महिलाहरू एकजुट बन्दै गइरहेका बेला नेपाली महिलाको आन्दोलनको चर्चा चलिरहेका बेला नेपाली आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन विश्व नारी आन्दोलनले पनि सहयोग गरेको देखिन्छ ।
नेपालमा महिलाहरूमाथि हुने सामाजिक विभेदको अन्त्य गर्न पहिलो प्रयास स्वरूप वि.सं. १९७७ मा सामाजिक मान्यता प्राप्त सतीप्रथालाई गैरकानुनी घोषणा गरियो । यस्ता आन्दोलनहरूमा योगमाया, मंगलादेवी, साधना प्रधान, साहाना प्रधान, तारादेवीजस्ता प्रवुद्ध महिलाहरूको विशेष भूमिका रहेको पाइन्छ । संयुक्त राष्ट्रसंघकै पहलमा सन् १९४६ मा महिला सम्बन्धी आयोग ‘कमिसन अन स्टाटस अफ विमेन’ गठन गरियो र यसले महिला विकास सम्बन्धी काम गर्न सुरु ग¥यो ।
यसका साथै सन् १९७० को दशकमा ‘विकासमा महिला’, ‘विकास र महिला’ ‘लैंगिकता र विकास’ र १९८० को दशकमा ‘महिला सशक्तीकरण’ जस्ता अवधारणाहरूका प्रतिपादन गरिए । यस प्रयासपछि क्रमशः महिलाका हक–हित र अधिकारसँग सम्बन्धित विभिन्न विषयहरू–महिला स्वतन्त्रता तथा समानता, देहव्यापार तथा महिला वेचविखन, महिलाको भोट दिने अधिकार, गर्भपतन सम्बन्धी अधिकार, सम्पत्तिको अधिकार, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकार सम्बन्धी बहस हुन थाले र विस्तारै अधिकार संरक्षण तथा प्रदान गरिँदै गए । महिला विकास तथा जागरण र सशक्तीकरणलाई अझ सबल र प्रभावकारी बनाउनका लागि सन् १९७५ मा मेक्सिकोमा पहिलोपटक बृहत विश्व महिला सम्मेलनको आयोजना गरियो जसमा थुप्रै उपयोगी घोषणापत्रहरू सार्वजनिक गरिए । हालसम्म सन् १९९५ मा चीनको बेइजिङमा चौथो तथा अन्तिम पटक गरी चारवटा बृहत महिला सम्मेलन सम्पन्न भइसकेका छन् । केही दशक अगाडिको तुलनामा आज विश्वव्यापी रूपमा महिला जागरणले ठूलै फड्को मारिसकेको छ । यसका साथै महिला विकास तथा जागरण र सशक्तीकरणलाई अझ सशक्त बनाउन समय समयमा प्रकाशित भएका विभिन्न पुस्तक तथा लेख–रचनाहरूको विशेष भूमिका रहेको छ । यस्ता कृतिहरूले महिला स्वतन्त्रता, समानता, समता, अधिकार, शक्ति र यसका चुनौती आदिबारे जनसमक्ष प्रष्ट्याउने र जागरण ल्याउने काम गरे जसमा वोसरप मोर्गन, अमृतवसु लगायतका विद्वानहरूको उल्लेख्य भूमिका रहेको पाइन्छ । यिनै प्रयासका फलस्वरूप आजसम्म आइपुग्दा विश्वमै महिला विकास र जागरणका सन्दर्भमा ठूलै उपलब्धि हासिल भएको छ ।
यो सत्य हो कि विश्वभरका सबै मुलुकहरूमा महिला विकास र जागरण समान रूपले र
उही गतिमा अघि बढ्न सकेका छैनन् र विकासशील मुलुकहरूमा अझै पनि महिला विकास र जागरणको अवस्था वामेसराइकै अवस्थामा सीमित छ । तर गति कम र सुस्त भए पनि यो प्रक्रिया निरन्तर चलिरहेकाले सन्तोष मान्ने ठाउँ भने रहेको छ ।
नेपाल आर्थिक रूपले विपन्न र अल्पविकाशीत मुलुक भए पनि सामाजिक, धार्मिक र सांस्कृतिक आधारमा हेर्दा अन्य छिमेकी मुलुकहरूका तुलनामा नेपालका महिलाको अवस्था केही सुदृढ नै देखिन्छ । तसर्थ नेपालमा महिला विकास तथा जागरणका कार्यहरू गर्न र गराउन उति चुनौतीपूर्ण नभए पनि मुख्य रूपमा आर्थिक र सामाजिक चुनौती जटिल रूपमा हाम्रा सामु रहेको पाइन्छ । नेपालमा महिला विकास र जागरण सम्बन्धी आन्दोलनको इतिहास त्यति लामो नभए पनि सामाजिक र आर्थिक चुनौतीलाई हाँक दिंदै समय–समयमा केही प्रयासहरू हुँदै आइरहेका छन् । हाल नेपालमा महिलाहरूको उपस्थिति तथा सहभागीताको तथ्याङ्कहरूलाई हेर्दा शाक्षार्ता ४३ प्रतिशत, राजनीतिमा १७ प्रतिशत, प्रसाशनिक सेवामा १० प्रतिशत, सञ्चारक्षेत्रमा १३ प्रतिशत, शिक्षणमा २६ प्रतिशत, वैदेशिक रोजगारीमा ११ प्रतिशत, घरमुली महिला १५ प्रतिशत, इन्जिनियरिङ्गमा ९ प्रतिशत, चिकित्सकमा २८ प्रतिशत, र यसका साथै देशबाहिर अध्ययन गर्न जाने महिलाहरूको संख्या पनि उल्लेख्य रहेको पाइन्छ ।
साझा बिसौनी संवाददाता ।