उदाहरणीय सांसद

सांसद जनताका प्रतिनिधि हुन् । निर्वाचनमार्फत नागरिकको मतद्वारा विजयी भएर संसद्मा प्रतिनिधित्व गर्ने उनीहरूको काँधमा केही जिम्मेवारी छन् । उनीहरू सधैँ नागरिकप्रति उत्तरदायी हुनु अनिवार्य हुन्छ । यसका साथै आवश्यक नीति निर्माणको भूमिका निर्वाह गर्नु सांसदहरूको मुख्य जिम्मेवारी हो । सांसदहरूको मुख्य काम नीति निर्माण गर्ने र नागरिकको जनजीविकाका सवालमा सरकारलाई जिम्मेवार बनाउनु हो । संसद्को गतिविधिमा संलग्न हुने, जनमुखि नीति निर्माणमा ध्यान दिने र संसद्मार्फत सरकारलाई नागरिकका समस्या समाधानमा सजग र सचेत गराउने जिम्मेवारी बोकेका सबै सांसद भने आफ्नो भूमिकामा खरो उत्रन सकेका हुँदैनन् । धेरैजसो सांसदहरू आफ्नो जिम्मेवारीबाट बिमुख भएको पाइन्छ । संसद् चलेका बेला केही सक्रियजस्ता देखिने उनीहरू अन्य समयमा गुमनाम रहन्छन् । संघीय हुन् वा प्रदेशका सांसदहरू सरकार फेरबदल र आफ्नो क्षेत्रका योजनामा बजेट पार्नमा मात्र सक्रिय देखिन्छन् । तर केही यस्ता सदस्य पनि हुन्छन् जो निरन्तर सक्रिय रहन्छन् । आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहन्छन् ।

कर्णाली प्रदेशसभाका एक सदस्य नरेश भण्डारी अन्यभन्दा अलग परिचय बनाएका सांसद हुन् । जुम्लाबाट निर्वाचित भण्डारीको सक्रियता संसद् बैठक नभएका बेला पनि उत्तिकै छ । प्रदेशको समग्र विकासमा आवश्यक पर्ने नीति र कार्ययोजना बनाइरहन रूचाउने सांसद भण्डारी नै हुन्, जसले संघीयतापछि पहिलो पटक कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक प्रवेश गराएका थिए । सात वटै प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता भएको सम्भवतः यो नै पहिलो हो । भण्डारीले गएको असोजमा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ तयार पारेर प्रदेशसभा सचिवालयमा दर्ता गरे । जुन बेला संसद् बन्द थियो । अन्य सांसदहरू संघीय राजधानीतिर बिदा मनाइरहेका थिए । त्यसपछि भण्डारी फेरि अर्को विधेयक निर्माणमा जुटे । र, झन्डै दुई महिनापछि पुस पहिलो साता ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ ल्याए । उक्त विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गराए ।

आफ्नो भूमिकाप्रति निकै सक्रिय रहिरहने उनै भण्डारी नेतृत्वको सांसद, विज्ञ र अगुवा किसानहरूको टोलिले पछिल्लो पटक ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न सरकारलाई मागसहितको सुझाव दिएको छ । भण्डारी आफू त सक्रिय छन् नै उनीजस्तै अन्य सांसदका लागि उदाहरण पनि हुन् । एक सांसदको भूमिका संसद् चलेको बेला वा सरकारको मन्त्री बन्दा मात्रै सक्रिय हुने होइन, अन्य समयमा पनि रचनात्मक र महŒवपूर्ण काम गर्न सकिन्छ भन्ने दृष्टा भण्डारीले पेस गरेका छन् ।

प्रकाशित मितिः   २ माघ २०७८, आईतवार ०५:०१