वीरेन्द्रनगरमा अर्को अक्सिजन प्लान्ट तयार
सुर्खेत – वीरेन्द्रनगरमा मेडिकल अक्सिजन उत्पादनका लागि प्लान्ट निर्माण गरिएको छ । ठूलो क्षमताको प्लान्ट बनेसँगै अब अक्सिजनको अभाव नहुने बताइएको छ । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पताल परिसरमा अक्सिजन उत्पादनका लागि प्लान्ट जडान गरिएको हो । उक्त प्लान्टबाट परीक्षण उत्पादनसमेत गरी सकिएको छ । प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । झन्डै डेढ करोडको लगानीमा प्लान्ट जडान गरिएको हो । दोस्रो चरणको कोरोना महामारीमा अक्सिजन अभाव हुने आकलन गरेर नगरपालिकाले चौधरी ग्रुुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो ।
हाल प्लान्ट बनिसकेको र उत्पादनका लागि तयारी अवस्थामा रहेको नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूूपेन्द्रदेव गिरीले बताए । उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका एक सय ५० वटा सिलिन्डर भर्न सकिने छ । उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशभरकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुुग्ने अपेक्षा गरिएको छ । अस्पतालहरूमा अक्सिजनको आवश्यकता पर्नासाथ प्लान्ट सञ्चालनमा ल्याइने जनाइएको छ ।
‘अब जुनसुकै बेला अक्सिजन भर्न सकिन्छ । अक्सिजन अभावको समस्या रहँदैन,’ गिरीले भने, ‘यहाँबाट अन्य जिल्लामा पठाउन पनि सहज हुनेछ ।’ वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन गर्न लागिएकाले यसले कोरोना संक्रमणका गम्भीर बिरामीदेखि श्वास–प्रश्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनाइएको छ । कर्णालीमा गत वर्ष मेडिकल अक्सिजनको हाहाकार भएको थियो । अस्पतालहरूमा अक्सिजन नहुँदा कतिपयले उपचारसमेत नपाएर ज्यान गुमाएका थिए । त्यही अवस्था फेरि नदोहोरियोस् भनेर धेरै परिमाणमा अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट जडान गरिए पनि प्रदेशका कतिपय जिल्ला अस्पतालहरूले भने आफ्नै प्लान्ट अझै सञ्चालनमा ल्याएका छैनन् । प्रदेश र संघीय सरकारको सहयोगमा प्लान्ट जडानको प्रक्रिया अघि बढाइ पनि कर्णालीका पाँच जिल्लामा अक्सिजन प्लान्ट निर्माणको काम हुन नसकेको हो । रूकुम–पश्चिम, सल्यान, मुगु, डोल्पा र हुम्लामा अक्सिजन प्लान्ट जडान नभएका हुन् । कालीकोट, दैलेख र जाजरकोटमा प्लान्ट जडान भइ सञ्चालनमा आएको जनाइएको छ । कर्णाली सरकारले प्रदेशका १० मध्ये गत आर्थिक वर्षमा आठ जिल्लामा अक्सिजन मिनी प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाख रूपैयाँका दरले बजेट विनियोजन गरेको थियो । बजेट दिएको एक वर्ष बितिसक्दा पनि अधिकांश ठाउँमा प्लान्ट जडान नगरिएका हुन् ।
प्रकाशित मितिः २८ पुष २०७८, बुधबार ०५:०५
भीमबहादुर परियार ।