मतदाता बनाउन राजनीतिक दलनै निष्क्रिय

सुर्खेत: निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन विशेष अभियान चलायो । आयोगले सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली संकलन अभियान सञ्चालन ग¥यो । हिमाली जिल्लामा १० र पहाड तथा तराइमा १५ दिनसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्य भयो । तर, नामावलीमा समेटिनु पर्ने उम्मेर समूहका धेरै नागरिकहरू भने यसपटक पनि छुटे । स्थानीय तहमै नामावली संकलन गरिए पनि सरोकारवालाले चासो नदिँदा मतदाता बन्नबाट थुप्रै नागरिकहरू वञ्चित भएका हुन् । राजनीतिक दल र सरोकारवाला निकायको बेवास्ताका कारण अभियान प्रभावकारी हुन नसकेको भन्दै नागरिकस्तरबाट आलोचनासमेत भइरहेको छ ।

निर्वाचनका बेला भोट चाहिने नेताहरूले नै मतदाता शिक्षा र मतदाता नामावली संकलनमा वास्ता नगर्ने गरेका हुन् । पार्टीहरूले अभियानलाई साथ दिन घरदैलो गर्नेदेखि सचेतनाका गतिविधि गरेको दाबी गरेपनि व्यवहारतः कुनै पनि राजनीतिक दलले मतदाता नामावली संकलनमा चासो दिएको पाइँदैन । ‘दलरूले नयाँ मतदाताको भोट नै नचाहिने झै गरेर अभियानका बेला पनि कुनै भूमिका नखेलेको दैलेखको दुुल्लू नगरपालिका १० का निरक खड्काले बताए । उनी भन्छन्, ‘मेरै गाउँमा थुप्रै युवाहरू मतदाता नामावलीमा सूचीकृत भएका छैनन् । यस पटकको अभियानमा पनि उनीहरू छुटेको खड्काले बताए । गाउँमा यस्ता अभियान सञ्चालन भएको समेत जानकारी नहुँदा समेटिनुपर्नेहरू नै वञ्चित भएको उनको भनाइ छ ।

चुुनावताका व्यक्ति–व्यक्तिलाई रिजाउन टोल–टोलसम्म पुग्ने नेताहरू मतदाता नामावली संकलन गर्दा भने जानकारी दिनसमेत गाउँमा देखिएनन् । यसबारे राजनीतिक दलहरूले कुनै अभियान पनि सञ्चालन गरेका छैनन् । आफ्ना मतदातालाई भोट हाल्न योग्य बनाउने बेला चुप लागेर बस्ने र चुुनावमा मात्र दौडधुप गर्ने परिपाटी कायमै रहेको कतिपयको टिप्पणी छ । निर्वाचन आयोगको विशेष अभियान अन्तर्गत सुर्खेतमा आइतवारसम्म मतदाता नामावली संकलनको अवधि थियो । अन्तिम दिनमा जानकारी पाएका नागरिकहरूको जिल्ला प्रशासन र प्रदेश निर्वाचन कार्यालयमा मतदाता परिचय–पत्र बनाउनेको भिड थेगिनसक्नुको थियो । पालिकाका वडाहरूमा यससम्बन्धी अभियान नचलाउँदा पनि नागरिकले थाहा नपाएपछि यी निकायमा नामावली बनाउन आएका हुन् । नयाँ मतदाताहरूका लागि आवश्यक प्रचार–प्रसार नहुँदा स्थानीय तहमा नाम दर्ता गर्न नसकिएको नागरिकहरूको गुनासो छ । वीरेन्द्रनगर–९ का कपिलनाथ योगीले आफ्नो वडाका कैयौँ युवाहरू मतदाता बन्नबाट छुटेको बताए । ‘यस्ता अभियानबारे राजनीतिक पार्टीहरूले सचेतनाका कार्यक्रम गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘कहिले अभियान सुरू हुन्छ र सकिन्छ भन्ने जानकारी पाउनसमेत मुस्किल छ ।’ उनले धेरैजसो युुवाहरू पढाइ र रोजगारीको शिलशिलामा जिल्ला बाहिर हुँदा पनि मतदाता बन्नबाट वञ्चित हुँदै आएको बताए । ‘नागरिक आफै पनि सचेत हुनुुपर्ने हो,’ योगीले भने, ‘न त स्थानीय सरकार र राजनीतिक दलहरू नै यस्ता सवालमा गम्भीर बन्ने गरेको पाइन्छ ।’ मतदाता शिक्षा जस्तो विषयमा राजनीतिक दलको भूमिका कमजोर देखिएको उनले बताए । ‘भोटको महŒव नेताहरूले बुझ्न नसक्नु दुःखद् पक्ष हो,’ योगीले भने ।

अभियान चलाएको दलहरूको दाबी

राजनीतिक दलहरूले मतदाता नामावली संकलन र विभिन्न समयमा मतदाता शिक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम गरिदै आएको दाबी गरेका छन् । नेकपा (एमाले) सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही नयाँ मतदातालाई नामावलीमा सूचीकृत हुन पार्टीले प्रचार–प्रसारका कार्यक्रम गरेको जिकिर गर्छन् । ‘वडादेखि पालिकास्तरका कार्यकर्तालाई यसबारे सूचनाको लागि परिचालन गरिएको छ,’ उनले भने, ‘तर, त्यो पर्याप्त नभएको भने हुनसक्छ ।’

त्यस्तै, नेपाली कांग्रेस दैलेखकी नेतृ बासना थापाले आफ्नो पार्टीले मतदाता नामावली संकलनका लागि छुुटै अभियान भने नचलाएको बताइन् । अभियानका लागि सरकारी निकायबाटै आवश्यक सूचना प्रवाहमा कमजोरी देखिएको थापा बताउँछिन् । ‘पालिका तहमा पनि सोचेजस्तो प्रचार भएको पाइएन,’ उनले भनिन्, ‘त्यसले गर्दा पनि अभियान प्रभावकारी देखिएन ।’ निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन सहयोग तथा सहजीकरणका लागि राजनीतिक दललगायत सबैमा अपिल गर्दै आएको छ । तर, राजनीतिक दलहरू भने नागरिकप्रति उत्तरदायी बन्ने गरेका छैनन् ।

नेकपा माओवादी केन्द्रका नेता कृष्ण जिसीले आफ्नो पार्टीले नागरिकमा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेको जनाए । पार्टीका सबैजसो कमिटीहरूले यसलाई अभियानका रूपमा अघि बढाएर मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना दिइरहेको उनको दाबी छ । ‘विभिन्न कमिटीमार्फत जन भेटघाट कार्यक्रम भइरहेका छन्,’ उनले भने, ‘नागरिकमा मताधिकारको बारेमा जनचेतना फैलाइएको छ ।’ स्थानीय तहमा नामावली संकलनको काम सकिएकाले छुट भएकाले सम्बन्धित निर्वाचन कार्यालय र प्रशासन कार्यालयमार्फत नाम दर्ता गराउन सकिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   १९ पुष २०७८, सोमबार १०:१०