एमयूमा विज्ञान र प्रविधि शिक्षा

कर्णाली प्रदेश विज्ञान तथा प्रविधि अध्ययन र अनुसन्धानका लागि ठूलो सम्भावना बोकेको भूमि भनेर चर्चा चल्ने गर्दछ । असंख्य सम्भावनाका बाबजुद पनि कर्णाली पछाडि पर्नुको कारण खोतल्ने हो भने विज्ञान र प्रविधि क्षेत्रमा उपलब्ध जनशक्तिको अपर्याप्त छ । विज्ञान र प्रविधिको जनशक्ति समाज विकासको सूचक मान्न सकिन्छ किनभने उनीहरूमा नवपर्वतन गर्न सक्ने सामथ्र्य हुन्छ । स्तरीय जनशक्ति उत्पादनमा शैक्षिक निकायहरूको महŒवपूर्ण हात रहन्छ । शैक्षिक निकायहरूमा विज्ञान सम्वद्ध विषयहरूमा अध्यापन गर्ने शिक्षकहरूको गुणस्तरले विद्यार्थीको भविष्य निर्धारण हुने हो । कर्णालीमा विज्ञान शिक्षाको जग नै कमजोर रहेको पाइएको छ । स्कुल तहमै विज्ञान विषयहरूमा कमजोर भएको विद्यार्थीले विज्ञान तथा प्रविधि विषयका उच्च शिक्षा कार्यक्रममा भर्ना हुने आधार नै गुमाउन पुग्छन् । स्कुलमा राम्रो अंक प्राप्त नगरेका विद्यार्थीले विज्ञान तथा प्रविधि क्षेत्रमा करियर विकास गर्ने सपनासमेत देख्न नपाउने अवस्था छ ।

हाल कर्णाली प्रदेशभर जम्मा ३१ वटा स्कुलहरूले विज्ञान कार्यक्रमहरू सञ्चालन गरेका छन् । यी स्कुलहरूबाट उत्पादन हुने १० जोड २ का विद्यार्थीहरू करिब ६ सयदेखि सात सयको संख्यामा रहेको अनुमानित आँकडा छ । देशका अन्य सहरबाट १० जोड २ मा विज्ञान तथा प्रविधि अध्ययन गर्नेहरू सालाखाला एक सयदेखि तीन सय मात्रै राख्यो भने पनि अधिकमा एक हजारजना विद्यार्थीहरू नै कर्णाली प्रदेशका विज्ञान प्रविधिका आधारभूत जनशक्ति हुन् । यिनै विद्यार्थी नै कर्णाली प्रदेशका लागि डाक्टर, इन्जिनियर, वैज्ञानिक, कृषि तथा वन विज्ञ, वनस्पतीशास्त्री, प्राणीशास्त्री आदि क्षेत्रमा भविष्यका जनशक्ति बन्ने हकदार हुन् ।

प्रविणता तह उत्तीर्ण गरी विज्ञान तथा प्रविधि क्षेत्रमा उच्च शिक्षा अध्ययनलाई निरन्तता दिन सबै विद्यार्थी सक्दैनन् वा चाँहदैनन् । विज्ञान प्रविधिका कुनै पनि स्नातक कार्यक्रमहरूमा भर्ना हुनका लागि विद्यार्थीले ११ र १२ कक्षाका सबै विषयहरूमा कम्तीमा ‘सी’ ग्रेड प्राप्त गर्न आवश्यक पर्दछ । यो भनेको प्रविणता प्रमाणपत्र तह (जसलाई आइएस्सी भनिन्छ) मा कम्तिमा द्वितीय श्रेणी प्राप्त गरेको भन्ने हो । ‘ए’ लेवल पास गर्ने र सीटिइभिटी कार्यक्रममा समेत विद्यार्थीहरूले ‘सी’ ग्रेड वा द्वितीय श्रेणी प्राप्त गर्न जरुरी छ । विद्यार्थीहरू कुनै एक विषयमा मात्रसमेत ‘डि’ ग्रेड प्राप्त गर्दा उनीहरूले स्नातक भर्नाका लागि अयोग्य भएको देखिन्छ । यसर्थ ११ र १२ अध्ययन गर्ने–गराउने विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनले विद्यार्थीको स्तरीय ग्रेडका लागि सतर्कता अपनाउन आवश्यक छ ।

विज्ञान तथा प्रविधि क्षेत्रमा उच्च शिक्षाका लागि कर्णालीमा जनशक्ति जोगाउनै कठिन भएको छ । यसका केही कारणहरू सतहमा देखिएका छन् । पहिलो कारण प्रतिस्पर्धामै विद्यार्थी पछाडि पर्नु जसले मेरिट लिष्टबाटै विद्यार्थी बाहिरिन्छन् । विशेषगरी मेडिकल, इन्जिनियरिङ्ग र कृषि तथा वन विज्ञानजस्ता विषयमा विद्यार्थीहरू प्रवेश परीक्षामै पास हुन नसक्दा रोकिने गरेका छन् । दोस्रो– विज्ञान प्रविधिमा उच्च शिक्षाका लागि विद्यार्थीहरूले चार–चार वर्षसम्म धैर्य राख्नुपर्दछ । तर अक्सर विद्यार्थीहरू भविष्यप्रतिको दुविधा वा भयका कारण उच्च शिक्षामा केन्द्रित हुन नसकेको देखिन्छ ।

तेस्रो कारण विज्ञान प्रविधि क्षेत्र कतिपय विषयहरूमा देशको लोकसेवा आयोगले तोकेरै उचित कोटा निर्धारण नगरिदिनु । लोकसेवाका अवसरहरू र विश्वविद्यालयका कार्यक्रमहरूमा एकरूपता नआउँदा धेरै विद्यार्थीहरू तथा अभिभावकहरू भ्रमित हुने गरेको पाइन्छ । विश्वविद्यालय नेतृत्व र लोकसेवाका नेतृत्वहरूले एकपटक घनिभूत छलफल गरी विज्ञान प्रविधिका जनशक्तिको क्षमताको पूर्ण उपयोग गर्न आवश्यक छ । चौथो कारण विज्ञान र प्रविधिमा पर्याप्त वैज्ञानिक गतिविधिहरूको अभाव, विश्वविद्यालयका प्रयोगशाला स्तर तथा अध्ययन संस्कृति आदि ।

विज्ञान तथा प्रविधि क्षेत्रमा कर्णालीलाई हरेक क्षमताको जनशक्ति आवश्यक छ । विद्यालय स्तरदेखि नै विज्ञान सिकाउने जनशक्ति गुणस्तरीय भएन भने कर्णालीका बालबालिकाले विज्ञान प्रविधिका आधारभूत सूचना प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था हुन्छ । यसकारण कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले यी कुरामा ध्यान दिन जरुरी छ । गतिलो र क्षमतावान विज्ञान शिक्षक विद्यालयस्तरमा व्यवस्था गर्न सक्ने हो भने विद्यार्थीको वैज्ञानिक जग मजबुत बन्छ । यसका लागि ११–१२ कक्षामा विज्ञान पढेका विद्यार्थीहरूलाई कम्तीमा बीएस्सी पढ्नका लागि अभिप्रेरित गर्न आवश्यक छ ।

हाल मध्यपश्चिम विश्वविद्यालय स्नातक तहमा विभिन्न विषय र कार्यक्रमहरूमा नयाँ भर्नाका लागि आवेदन माग गरिरहेको छ । विज्ञान तथा प्रविधि संकायको एकमात्र क्याम्पस हो विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस । हाल उक्त क्याम्पसका लागि बीएस्सी भौतिकशास्त्र समूह र जीवशास्त्र समूह तथा बीएस्सी सिएसआइटी विषयमा भर्ना खुलेको छ । उक्त क्याम्पसले भौतिकशास्त्र र जीवशास्त्र समूहमा ५० विद्यार्र्थी भर्ना गर्ने कोटा निर्धारण गरेको छ भने सिएसआइटीमा ३६ कोटा विद्यार्थी लिइनेछ ।

विश्वविद्यालय स्थापना वर्ष वि.सं. २०६७ सालदेखि नै विज्ञान कार्यक्रम सञ्चालन भइरहेको यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट कर्णाली प्रदेशमा विज्ञान प्रविधि शिक्षा प्रवद्र्धन गर्नका लागि निरन्तर सहयोग प्राप्त गर्दै आएको छ । वैज्ञानिक उपकरणहरू निरन्तर खरिद भइ आएकाले अब विद्यार्थी र प्राध्यापक सबैले लाभान्वित हुने अवस्था बनेको छ । उपकरणहरूको व्यवस्थापन गर्न यथेष्ट प्रयोगशाला भवनको मागसमेत क्याम्पसले विश्वविद्यालयसँग गर्दै आएको क्याम्पस प्रमुख मोहनराज भट्ट बताउँछन् । विज्ञान तथा प्रविधि संकायका डिन सहप्राध्यापक डा. सुदिप ठकुरी अब विज्ञान तथा प्रविधि क्याम्पसले अनुसन्धानमार्फत् जनजीविकामा असर पार्ने खालका अनुसन्धान गर्न सक्ने क्षमता भएका वैज्ञानिक उत्पादन गर्ने दिशामा अगाडि बढ्ने योजना रहेको बताउँछन् ।

गत वर्षदेखि नै एमएस्सी भौतिकशास्त्र सञ्चालन गरेको र अब कर्णाली प्रदेशको आवश्यकतालाई सम्बोधन गर्न सक्ने एकीकृत प्रविधि तथा नवपर्वतन विज्ञानमा स्नातकोत्तर तह खोल्ने तयारी गर्ने कार्यक्रम विज्ञान संकायले गरेको बताइन्छ । यसका साथै कोहलपुर र बर्दिया क्षेत्रमा रहेका आफ्ना आंगिक क्याम्पसहरूमा समेत विज्ञान तथा प्रविधिका कार्यक्रमहरू सञ्चालनमा ल्याउने योजना बारेमा समेत संकायमा छलफल हुने गर्दछ । विज्ञान संकायले कर्णाली प्रदेशको डाटासेन्टरका रूपमा काम गर्न सक्ने क्षमता राख्दछ । हाल संकायमा नेचरल प्रडक्ट, वायोडाइभर्सीटी तथा वातावरण परिवर्तन आदि क्षेत्रमा अनुसन्धान गर्ने पूर्वाधार र जनशक्ति दुवैको विकास हुँदै गएको छ ।

करिब तीन सय विद्यार्थीहरू अध्ययन गरिरहेको यस विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस कर्णाली प्रदेशमा विज्ञान तथा प्रविधि अध्ययन, अध्यापन तथा प्रवद्र्धनमा मेरुदण्द सावित हुँदै गएको छ । यहाँका विद्यार्थीहरू काठमाडौं लगायतका अन्य सहरमा अन्य विश्वविद्यालयका कार्यक्रममा स्नातकोत्तर अध्ययन गरी नेपाल टपसमेत गरेका उदाहरण छन् । यसर्थ कर्णालीका अभिभावक, तथा विद्यार्थीहरूले विज्ञान तथा प्रविधि क्याम्पसमा उच्च शिक्षाका लागि ‘एमयू’मा भर्ना हुन हिचकिचाउनु पर्ने अवस्था छैन । विश्वविद्यालयले यसै वर्षदेखि बीएस्सी कृषि तथा वन विज्ञान र पब्लिक हेल्थ विषयमा स्नातक अध्ययनका लागि आवेदन मागेको छ । यी कार्यक्रमहरूबाट सिटीइभिटीबाट तीन वर्षे कार्यक्रम उत्तीर्ण विद्यार्थीहरूले समेत लाभान्वित हुने अवसर खुलेको छ । कर्णाली प्रदेश सिटीइभिटीका तीन वर्षे कार्यक्रममा धनी छ, करिब एक सय १२ वटा स्कुलहरूमा यी कार्यक्रमहरू चलाइएका छन् । वास्तवमा १० जोड २ मा विज्ञान विषय पढ्ने भन्दा बढी संख्यामा सिटीइभिटीका विद्यार्थीहरू रहेको तथ्याङ्क छ ।

निचोडमा कुरा के हो भने कर्णाली प्रदेशको विज्ञान तथा प्रविधिमा जनशक्तिको अभाव छ । यसको जड कारण भनेको कर्णाली क्षेत्रमा कुनै विज्ञान प्रविधि क्याम्पस लामो समयसम्म थिएनन् । छिमेकको सुदूरपश्चिम प्रदेशमा शिद्धनाथ विज्ञान क्याम्पस वि.सं. २०३२ सालदेखि स्थापना भएर विज्ञान प्रविधि क्षेत्रमा निरन्तर योगदान ग¥यो । जसको प्रभावमा अहिले पनि शिद्धनाथ विज्ञान क्याम्पसमा उत्पादित वैज्ञानिक जनशक्ति देशव्यापी देख्न पाइन्छ । कर्णालीमै समेत विज्ञान शिक्षकहरूको अभिलेख हे¥यो भने सुदूरपश्चिमबाट राम्रै योगदान देखिन्छ । विज्ञान शिक्षणका लागि सुर्खेतमा पब्लिक साइन्स क्याम्पस वि.सं. २०५२ सालमा खुलेको हो जुन पछि गएर मध्यपश्चिम विश्वविद्यालयको विज्ञान प्रविधि कार्यक्रमको आधार क्याम्पसको रूपमा विकसित भएको हो । तुलनात्मक हिसाबले विज्ञान शिक्षणमा कर्णाली सुदूरपश्चिमभन्दा दुई दशक र काठमाडांै, पोखरा, विराटनगर जस्ता सहरका तुलनामा लगभग पाँच दशक पछि परेको हो । देशका अन्य सहरहरूमा विज्ञान प्रविधि शिक्षाको इतिहास करिब ६० वर्ष भइसकेको छ ।

तसर्थ यस क्षेत्रका अभिभावक, विद्यार्थी तथा सरोकारवाला सम्पूर्ण कर्णालीबासीले आफ्ना छोराछोरीलाई विज्ञान प्रविधि क्षेत्रको गतिलो जनशक्ति बनाउन एकपटक ऐतिहासिक पहल गर्न आवश्यक छ । विगतमा विज्ञान प्रविधि शिक्षामा देखिएको शून्यतालाई चिर्न कर्णालीका हरेक पालिकाले कम्तिमा आफ्ना क्षेत्रका योग्य विद्यार्थीलाई प्रेरणा प्रदान गर्नका लागि आ–आफ्नो वार्षिक बजेटमा उच्च शिक्षा छात्रवृति दिने प्रावधानको व्यवस्था गर्न आवश्यक छ । उदाहरणकै लागि विज्ञान तथा प्रविधि संकायमा चार वर्ष स्नातक तह भौतिक वा जीवशास्त्र समूहमा करिब एकलाख दश हजार रूपैयाँ लाग्ने गर्दछ भने बीएस्सी सिएसआइटीमा करिब तीन लाख तीस हजार लाग्ने गर्दछ । एमयूको कृषि तथा इन्जिनियरिङ्ग विषयहरूमा समेत करिब तीनदेखि चार लाख रकममा स्नातक अध्ययन गर्न सकिने अवस्था छ ।

हरेक पालिकाले आफ्ना क्षेत्रका जेहेन्दार युवाहरूको उच्च शिक्षामा न्यूनतम् सरकारी विश्वविद्यालयमा लाग्ने छात्रवृतिको व्यवस्था गर्न कठिन छैन । तर यो कार्यक्रमबाट समाजमा ठूलो शैक्षिक सन्देशको प्रवाह हुनेछ र स्थानीय युवाहरूमा उत्साह भर्ने छ भन्ने हाम्रो विश्वास रहेको छ । हालसालै जुम्लामा सुरु भएको मेडिकल अध्यापनले जसरी देशव्यापी सन्देश प्रवाह गरेको छ । त्यसरी नै विज्ञान प्रविधिको आधारभूत जनशक्ति उत्पादनमा कर्णाली अर्को संदेशको प्रवाह गर्न सक्दछ । एमयूले प्रदान गरेको विज्ञान तथा प्रविधितर्फको उच्च शिक्षा अध्ययनको अवसर कुशलतापूर्वक उपयोग गर्न सम्पूर्ण कर्णालीबासी अभिभावक तथा विद्यार्थीहरूले ध्यान दिन आवश्यक देखिएको छ । विज्ञान तथा प्रविधिमा उच्च शिक्षामा गरिएको आजको लगानी समृद्ध कर्णाली निर्माणमा कोशेढुङ्गा साबित हुने भएको छ ।

(लेखक मध्यपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका उपप्राध्यापक हुन् ।)

प्रकाशित मितिः   ११ पुष २०७८, आईतवार ११:१२