“अवसर पाए महिला कमजोर छैनन्”

जमुना पौडेल प्रमुख, महिला तथा बालबालिका कार्यालय, सुर्खेत
सुर्खेतमा महिलाहरूले हाल भोगिरहेका मुख्य समस्याहरू के हुन् ?
सुर्खेतमा महिलाहरूले हाल भोगिरहेको मुख्य समस्या भनेको घरेलु हिंसा नै हो । पछिल्लो समय महिलाहरू आफन्तबाटै असुरक्षित बनेका छन् । पारिवारिक हिंसाका कारण महिलाहरूको मनोबल समेत कमजोर बनेको छ । अर्कोतर्फ बालविवाहका कारण पनि महिलाहरूले समस्या र पीडाहरू भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । जब बालविवाह हुन्छ, तब त्यहाँ घरेलु हिंसाको सुरुवात हुन्छ । बालविवाहले केटाकेटीको शिक्षामा अवरोध हुन्छ । शिक्षाको अभाव र कमीले महिलाहरूको आत्मबलमा कमी आउँछ । उनीहरू आत्मनिर्भर बन्न सक्दैनन् । जसको परिणाम महिलाहरू अर्काको दबाबमा बस्नुपर्ने र हिंसा सहनुपर्ने अवस्थामा पुग्छन् । बालविवाह गरेकै कारण महिलाहरू रोजगारीको अवसरबाट वञ्चित हुँदा आर्थिक रूपमा समेत परनिर्भर हन्छन् । यसकारण महिलाहरूले पछिल्लो समय जिल्लामा भोगेको मुख्य समस्या र सवाल भनेको बालविवाहले निम्ताएको घरेलुहिंसा नै हो ।  
जिल्लामा महिलामाथि हुने हिंसाको अवस्था कस्तो छ नि ?
पछिल्लो समय सुर्खेतमा महिलामाथि हुने हिंसाको स्वरूप फेरिएको छ । नयाँ–नयाँ रूपले महिलाहरूमाथि हिंसा हुने गरेको छ । तथ्याङ्कलाई केलाउने हो भने पनि विगतको तुलनामा हिंसाका घटनाहरू पनि बढेको देखिन्छ । विगतमा महिलाहरूले आफूमाथि भएको हिंसालाई लुकाएर सहन्थे । तर, हिजोआज चेतनामा भएको वृद्धिका कारण पीडाहरू खोल्न थालेका छन् । न्यायका लागि आवाज उठाउन थालेका छन् । वास्तवमा यो सकारात्मक पक्ष हो । अर्कोतर्फ पछिल्लो समय अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदको मुद्दाहरू आएको तथ्याङ्क पनि सार्वजनिक भएको छ । सम्बन्धविच्छेदको मुद्दा धेरै हुनुले पनि महिलामाथि जिल्लामा भइरहेको हिंसाको अवस्थालाई देखाएको छ ।  
महिलामाथि हिंसा हुनुको मुख्य कारण के होला ? 
महिलामाथि हिंसा हुनुको मुख्य कारण त हाम्रो सोच हो । हाम्रो सोच र दृष्टिकोण नै हिंसाको मुख्य कारण हो । जबसम्म समाजमा पुरातनवादी (महिलालाई दोसे दर्जाको ठान्ने) सोचमा परिवर्तन आउँदैन, तबसम्म परिवर्तन पनि सम्भव हुँदैन । अहिले पनि समाजमा महिलालाई पुरुषहरूले शासन गर्नुपर्छ भन्ने मानसिकता कायमै छ । छोरा र छोरीलाई गर्ने व्यवहारमा समेत एकरूपता छैन । जसको कारण महिलाहरू आज हेपिएका छन्, प्रगति गर्न सकेका छैनन, सम्पत्तिबाट समेत वञ्चित बनाइएका छन् । महिलाले केही पनि गर्न सक्दैनन् भन्ने सोच हाबी छ । यो सोचमा परिवर्तन आउन नसक्दा नै महिलाहरू विभिन्न पीडाहरू सहन बाध्य छन् ।
अब महिलालाई नेतृत्वमा पु¥याउन के गर्नुपर्ला त ?  
महिलालाई नेतृत्वमा स्थापित गराउनका लागि कानुनहरू बनेका छन् । ३३ प्रतिशत सहभागिताको कुरा पनि विस्तारै कार्यान्वयनको अवस्थामा छ । तर, अब त्यतिले मात्र काम गर्दैन । कानुन र नीति तथा नियमहरू त बने, तर हाम्रो सोचमा कुनै परिवर्तन आएन । अहिले पनि महिलालाई हेर्ने समाज र राज्यको दृष्टिकोण नै सकारात्मक हुन सकेको छैन । राजनीतिक दलहरूमा समेत महिलाहरूको ३३ प्रतिशत सहभागिता भएको छैन । त्यसकारण अब महिलालाई हरेक क्षेत्र वा संरचनामा समान सहभागिता र नेतृत्वमा स्थापित गराउनका लागि समाजमा जरो गाडेर रहेको पतृसत्तात्मक सोचलाई परिवर्तन गर्न जरुरी छ । महिलालाई काम गर्न सक्दैनन्, कुनै सरकारी वा गैरसरकारी कार्यालयमा महिलालाई हाकिम बनाउनु हुँदैन नेतृत्व लिन सक्दैनन् भन्ने सोचमा परिवर्तन आउन जरुरी छ । आज संसारमा भएका हरेक परिवर्तन र क्रान्तिमा महिलाहरूको साहस र सहभागिता रहेको छ । यस्तो अवस्थामा महिलाहरूलाई कमजोर ठान्नु हुँदैन । महिलाले पनि अवसर पाए र जिम्मेवारी पाए भने पुरुषले भन्दा राम्रो काम गरेर देखाउन सक्छन् । यसका लागि सबै संघ–संस्था, राजनीतिक दल, सरकारी, गैरसरकारी संघ–संस्था, सञ्चार माध्यम एकजुट भएर लागौं । हरेक संरचनामा महिलाको सहभागिता समान बनाउन सकिन्छ । 
महिलाहिंसा रोक्न तपाईहरूले के गरिरहनु भएको छ ? 
महिलाहिंसा न्यूनीकरणका लागि हाम्रो कार्यालयले वर्षभरी नै चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । गाउँमै पुगेर हामी यसको न्यूनीकरणका लागि प्रयासरत छौं । महिला र पुरुष दबैलाई हिंसाको कारण र समाधानको उपायको बारेमा जानकारी दिने अभियान जारी नै छ । स्थानीयस्तरमा महिला समूहहरू गठन भएका छन् । जसले महिलाको जीवनस्तर उकास्न उनीहरूको सशक्तीकरणका लागि काम गरिरहेका छन् । मुख्य कुरा महिलाहरू आत्मनिर्भर हुन जरुरी छ । त्यसका लागि हामी लागिरहेका छौं । अहिले कार्यालयले महिलालाई नेतृत्वदायी र सशक्तीकरण गराउनका लागि काम गरिरहेको छ । 
वर्षको एक दिन मनाइने नारी दिवसले मात्र अधिकार सम्पन्न होलान् ?
हुँदैनन् । त्यसका लागि निरन्तरको प्रयास आवश्यक छ । यो नारी दिवस मनाएको वर्षको एक दिन सबैको सामु देखिने औपचारिक कार्यक्रम हो । तर, हामीले निरन्तर रूपमा महिलालाई आत्मनिर्भर र सशक्तीकरणका लागि काम गरिरहेका छौं । अन्य विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले समेत महिला अधिकारको क्षेत्रमा काम गरिरहेका छन् । यो एक्लो प्रयासले मात्र सम्भव पनि छैन । सबैको सामूहिक प्रयास र साहस आवश्यक छ । यसका लागि हामीले निरन्तर अभियान सञ्चालन गर्न आवश्यक छ । अहिलेको नारी दिवसमा हामीले नारी दिवसको दिन मात्र नभइ एक महिना अगाडिदेखि नै गाउँगाउँस्तरमा गई विभिन्न समूह बनाइ कार्यक्रमहरू गरिरहेका छौं । हालैसालै मात्र हामीले ३७ वटा कार्यक्रम सम्पन्न गरीसकेका छौं । हाम्रो लागि एक वर्षभरी नै दिवस हुन्छ । 
तपाईंहरू त सहरमुखी हुनुभयो भन्ने आरोप पनि छ नि ?
यो आरोप सरासर झुट हो । किनभने महिला कार्यालय भनेको जिल्लाका सम्पूर्ण महिलाहरूको संस्था हो । हामी सहरमा मात्र होइन गाउँगाउँस्तरमा पनि पुगेर काम गरिरहेका हुन्छौं । यो आरोप भनेको आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने अझ अर्को शब्दमा खुट्टा तान्ने प्रवृत्ति हो ।  हामीले गाउँ–गाउँमा गएर पनि कार्यक्रम गरिरहेका छौं । कार्यालयमा पनि पहिलेको तुलनामा महिला दिदीबहिनीहरू समस्या लिएर धेरै आउनुहुन्छ । हामीले उहाँहरूलाई कानुनी सल्लाह दिने र सम्बन्धित कार्यालयमा पठाइदिने गरेका छौं । 
हिंसापीडित महिलालाई न्याय दिलाउन के गर्नुपर्ला ? 
हिंसापीडित महिलालाई न्याय दिलाउनको लागि अहिलेसम्म बनेको नियम र कानुनलाई सही रूपमा कार्यान्वयन गर्न जरुरी छ । समाजले पनि हिंसालाई लुकाउने भन्दा पनि पीडकलाई कानुनी दायरामा ल्याउनका लागि आँट गर्न आवश्यक छ । यस्तै राज्यले समानुपातिक रूपमा महिला लक्षित थप कार्यक्रमहरू ल्याउनुपर्छ । अब महिला र पुरुष एक रथका दुई पाङ्ग्रा बन्नु पर्दछ । महिलाहिंसा अन्त्य गर्न पहिला बालविवाहलाई अन्त्य गर्न जरुरी छ । सुर्खेतमा बालविवाह निकै चुनौतीको रूपमा रहेको छ । यसलाई रोक्नसकेमा कुनै पनि महिला हिंसाको शिकार बन्नुपर्ने अवस्था आउने छैन । अपराधलाई आर्थिकसँग लेनदेन गर्ने संस्कृतिको समेत अब अन्त्य हुन जरुरी छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ? 
अन्त्यमा, महिलामाथि हुने सबै प्रकारका हिंसा अपराध हुन् । अपराधले कसैको हित गर्दैन । सुर्खेतलाई महिलामैत्री र सुरक्षित जिल्लाको रूपमा स्थापित गर्नका लागि सबैको सामूहिक प्रयास आवश्यक 
छ । यो महिला कार्यालय वा कुनै व्यक्तिको एक्लो प्रयासले मात्र महिलाहरू सुरक्षित र आत्मनिर्भर हुन सक्दैनन् । त्यसका लागि सबैको हातेमालो आवश्यक छ । यो अन्तर्राष्ट्रिय नारी दिवस, महिलाले विजय पाएको दिनको अवसरमा म सबैलाई महिलामैत्री समाज निर्माणका लागि जुट्न अनुरोध गर्दछु । महिलामाथि हुने हिंसा अन्त्य गर्नका लागि हाम्रो कार्यालयले पैरवी गर्ने मात्र भएकाले कार्यान्वयन गर्ने अन्य कार्यालयहरूले पनि सहकार्य गर्दै अगाडि बढ्नुहुन अनुरोध गर्न चाहन्छु । 
प्रस्तुतिः गीता थापा
प्रकाशित मितिः   २५ फाल्गुन २०७२, मंगलवार ०८:१५