स्वास्थ्यमा ठूलो उपलब्धि

यस्तो समय पनि थियो– दशकअघि कर्णालीका बासिन्दाले डाक्टर पाउँदैनथे । बिरामीलाई डाक्टर भेट्न मुस्किल हुन्थ्यो । भौगोलिक विकटता र पूर्वाधारको अभावका कारण डाक्टरहरू कर्णाली आउँथेनन् । यहाँ पर्याप्त स्वास्थ्य पूर्वाधार थिएनन् । जनशक्तिको चरम अभाव थियो । बिरामीहरू सामान्य चेकजाँच गर्न नेपालगञ्ज र काठमाडौंजस्ता सहरमा जानुपथ्र्यो । खर्च जुटाउन नसक्नेहरूका लागि त्यो पनि विकल्प थिएन । तर, अहिले दिन फेरिएका छन् । बिरामी परेका बेला चेकजाँच गर्न एक जना डाक्टर नपाउने त्यही कर्णालीको स्वास्थ्य क्षेत्रले कोल्टे फेर्दै गएको छ । जनशक्ति र पूर्वाधारको समस्या विस्तारै हल हुँदैछ । जुम्लाजस्तो विकट ठाउँमा डाक्टरी पढाइ सुरू भएको छ । अब यही विकट भूगोलले डाक्टर उत्पादन गर्नेछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) पढाइ थालेको छ । केहीवर्ष पहिलेसम्म सिटामोलको चक्की नपाउने कर्णालीको लागि यो ठूलो उपलब्धि हो ।

हिजो डाक्टर नपाउने कर्णाली आज विशेषज्ञ चिकित्सक पनि उत्पादन गरिरहेको छ । देशका सुगम ठाउँबाट डाक्टरहरू स्नातकोत्तर गर्न जुम्ला आएका छन् । हो, स्वास्थ्य क्षेत्रको सुधारले कर्णाली अब सुगमजस्तै बनेको छ । उसो त चिकित्सक पढाउँदैमा यहाँको स्वास्थ्य संकट टरिहाल्ने भने होइन । तर, जनशक्ति आफै उत्पादन गरेपछि यस भेकका नागरिकले सहजै गुणस्तरीय स्वास्थ्य सेवा पाउने बलियो आधार पक्कै निर्माण भएको छ । स्वास्थ्य क्षेत्रका कतिपय समस्या अहिले पनि ज्यँुका त्युँ छन्, जो हिजोदेखि थिए । कर्णालीका कैयौं स्वास्थ्य संस्था अझै डाक्टरविहीन छन् । अस्पतालहरूमा भौतिक पूर्वाधार र उपकरणको उस्तै अपुग छ । पछिल्लो समय स्वास्थ्य पूर्वाधारमा केही सुधार विस्तार भएका छन् । यद्यपि, त्यो नै पर्याप्त भने छैन । कर्णाली चिकित्सक उत्पादन गर्ने थलो भएपछि अब भने स्वास्थ्य सेवाको पहुँच बढाउन अवश्यै मद्दत पुग्ने छ ।

तत्कालीन कर्णाली अस्पतालबाट सेवा सुरू गरेको प्रतिष्ठानले क्लिनिकल हुँदै अध्ययन अनुसन्धानमा निकै फड्को मारेको छ । प्रतिष्ठानले स्थापनाको एक दशकपछि डाक्टरी पढाइ सञ्चालन गरेको हो । पहिलो पटक चिकित्सा शिक्षा अध्ययन थाालिएपछि यसलाई निकै महङ्खवका साथ हेरिएको छ । आफैंले एमबीबीस पढाइ सुरू गरेको कर्णालीले अबका दिनमा कम्तीमा स्वास्थ्य जनशक्तिको अभाव झेल्नुपर्ने छैन । आशा गरौं, कर्णालीबासी कसैको पनि उपचार नपाएर ज्यान जाने छैन । विपन्न परिवारका छोराछोरी पनि अब डाक्टर बन्न पाउने छन् । गाउँमै गुणस्तरीय उपचार सेवा उपलब्ध हुनेछन् । रोग बोकेर घरमै थलिनुपर्ने कर्णालीको बाध्यता अन्त्य हुनेछ ।

प्रकाशित मितिः   २२ मंसिर २०७८, बुधबार ०५:०४