स्वास्थ्य क्षेत्रमा फड्को

अब डाक्टर पढ्न जुम्लातिर

सुर्खेत: केही वर्ष अघिसम्म कर्णालीका नागरिकलाई डाक्टर भेट्नै मुस्किल पथ्र्यो । यहाँका अधिकांश स्वास्थ्य संस्थामा पर्याप्त औषधि र स्वास्थ्यकर्मी हुन्थेनन् । बिरामीहरू सामान्य चेकजाँचका लागि नेपालगञ्ज र काठमाडौं जस्ता सहरमा पुग्नुपथ्र्यो । खर्च जुटाउन नसक्नेहरूका लागि त्यो विकल्प पनि थिएन । उनीहरू रोग बोकेर घरमै थलिन बाध्य हुन्थे ।

पछिल्लो समय कर्णालीको स्वास्थ्य क्षेत्रले कोल्टे फेर्दै गएको छ । स्वास्थ्य पूर्वाधारको विकाससँगै कर्णाली अब विशेषज्ञ चिकित्सक उत्पादन गर्ने थलो भएको हो ।

चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा कर्णालीमै सुरू गरिएको छ । डाक्टर अभाव झेलिरहेको कर्णालीले आगामी दिनमा भने मुलुकभरका स्वास्थ्य संस्थामा चिकित्सक जनशक्ति पठाउने छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको एक दशकपछि डाक्टरी पढाउन थालेको हो । चिकित्सा शिक्षा आयोगले गत जेठ २९ गते प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सीट अध्यापन गराउने स्वीकृति दिएको थियो । सोहीअनुसार कर्णालीले आफै डाक्टर उत्पादन गर्न सुरू गरिसकेको छ ।

‘स्वास्थ्य क्षेत्रको सुधारले कर्णाली अब सुगमजस्तै बनेको छ,’ कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री दल रावल भन्छन्, ‘कुनै बेला सिटामोलको चक्की नपाउने हाम्रा लागि स्वास्थ्य क्षेत्रमा यो ठूलो फड्को हो ।’ विकासका पूर्वाधारका हिसाबले दुर्गम जुम्लामा पहिलो पटक चिकित्सा शिक्षा अध्ययन थाालिएपछि यसलाई निकै महŒवका साथ हेरिएको छ । कर्णालीका दूरदराजका बस्तीमा डाक्टर र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले वि.सं. २०६८ मा प्रतिष्ठान स्थापना भएको थियो । त्यसयता कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच समेत विस्तार हुँदै गएको छ ।

जनशक्ति र पूर्वाधारको व्यवस्थापन भरपर्दो भएकाले प्रदेशमा कोरोना महामारी नियन्त्रणमा पनि प्रतिष्ठाले ठूलो मद्दत गर्दै आएको छ । कोरोना संंक्रमण तीव्र भएका बेला प्रदेश राजधानी सुर्खेतबाट समेत बिरामीहरू उपचारका लागि जुम्ला पुगेका थिए । कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानले सञ्चालन गरेको अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको हो । प्रतिष्ठानले अन्य रोगको महामारी भएका बेला पनि प्रदेशभरका अस्पतालमा विभिन्न समयमा स्वास्थ्यकर्मीको व्यवस्था गर्दै आएको छ । चिकित्सा विषयको उच्च तह अध्यापनका लागि यहाँ तीन सय शैड्ढयाको अस्पतालसमेत सञ्चालनमा ल्याइएको छ । हाल प्रतिष्ठानले सञ्चालन गरेको अस्पतालमा १० शैड्ढयाको सघन उपचारकक्ष (आईसीयू) र चार शैड्ढयाको शल्यक्रिया कक्ष छ ।

आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सीटमध्ये १५ जना भर्ना भइसकेका छन् । उनीहरूले अध्यापन गराउने जनशक्ति, प्रयोगशाला तथा उपकरण राम्रो भएकाले एमबीबीएस अध्ययन गर्न आफूहरू जुम्ला आएको बताएका छन् । प्रतिष्ठानका अनुसार आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ जनाले पूर्ण छात्रवृत्ति र पाँच जनाले शुल्क तिरेर अध्ययन गर्ने छन् । चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ्ग पनि अध्यापन सुरू भएको छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै बीएनएस मिडवाइफ्री र बीपीएच पनि अध्यापन सुरू भइसकेको छ । एमबीबीएस पढाइ थालिएपछि कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन् । एमबीबीएस र एमडी कार्यक्रम सञ्चालन भएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा थप सुधार हुने अपेक्षा उनीहरूको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनको तयारी समेत भइरहेको जनाए । ‘प्रतिष्ठानले कर्णालीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवासँगै शिक्षामा पनि जोड दिँदै आएको छ,’ उनले भने । जुम्लामा डाक्टरी पढाइ हुने भएपछि कर्णालीको स्वास्थ्य सुधारका लागि नयाँ युगको सुरुवात भएको बताइएको छ । कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अब कर्णालीवासीको सपना पूरा हुने निश्चित भएको जनाए ।

खासगरी कोरोना महामारीपछि कर्णालीको स्वास्थ्य पूर्वाधारमा उल्लेखनीय विकास भएको छ । कोरोना महामारी सुरू हुनुअघि प्रदेशका सुर्खेत र जुम्लामा मात्र सघन उपचार कक्ष थिए । प्रदेश अस्पतालमै समेत पर्याप्त आईसीयू र भेन्टिलेटर सेवा उपलब्ध थिएनन् । हाल विभिन्न जिल्ला अस्पतालहरूमा समेत यी सेवा विस्तार गरिएका छन् । स्वास्थ्य संस्थाहरूमा जनशक्ति र उपकरणको व्यवस्थापनमा सुधार–विस्तार गरिएको हो । हरेक जिल्ला अस्पतालहरूलाई कम्तीमा ५० शैड्ढयाका बनाउने गरी आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापनका काम भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   २१ मंसिर २०७८, मंगलवार ०५:०५