स्थानीय उत्पादनले बजार लिदैं

सुर्खेतमा सञ्चालित कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रका लघु तथा घरेलु उत्पादनहरूको प्रचार र बजारीकरणको माध्यम बनेको छ । स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजार नपाएर निराश बनेका उद्यमीहरूलाई मेलाले यतिबेला हर्षित बनाएको छ । आफूले उत्पादन गरेका वस्तुको प्रचार–प्रसार गर्नुका साथै बिक्रीमा समेत मेलाले सघाउ पु¥याएको उनीहरूले बताएका छन् ।

विगत केही वर्षदेखि अल्लोका विभिन्न सामग्रीहरू उत्पादन गर्दै आएकी घोराही दाङकी प्रेमकुमारी पुन एक सातादेखि सुर्खेतमा छिन् । चिनारी महिला साझेदारी अल्लो उद्यम समूहकी अध्यक्ष समेत रहेकी उनी आफूहरूले उत्पादन गरेका सामग्री ल्याएर मेलामा आएकी हुन् । मेलामा स्टल लिएर आफूले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखेकी पुनले सामग्रीहरूको बिक्रीले हर्षित बनाएको बताइन् । ‘हाम्रो बजार भनेकै यस्ता मेला र महोत्सव हुन्’ उनले भनिन्, ‘सुर्खेतमा आएर राम्रो बिक्री भइरहेको छ, हामी खुशी छौं ।’ पुनले अल्लोबाट उत्पादित सामग्रीहरू राखेकी छन् । मेलाले गर्दा आफूहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न सघाउ पुगेको उनले बताइन् । स्थानीय उत्पादनको प्रयोगमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मध्यपश्चिममा विभिन्न वस्तुहरू उत्पादन हुँदै आएका छन् । तर यस्ता वस्तुहरूले बजारको समस्या झेल्दै आएका छन् । स्थनीय उत्पादन प्रचार र बजार नपाएका स्थानीय उत्पादनको प्रचारका साथै बजारीकरणमा मेलाले ठूलो सहयोग पु¥याएको उद्यमीहरूले बताएका छन् । मंसिर २३ गतेदेखि सञ्चालित मेलामा मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा उत्पादित स्थानीय वस्तुहरू प्रदर्शनी र बिक्रीका लागि राखिएको छ । यसले एकातर्फ आफ्ना उत्पादनको प्रचार–प्रसार भएको र अर्कोतर्फ व्यापार पनि भइरहेको व्यवसायीहरूले बताएका छन् ।
जुम्लाबाट आएर मेलामा स्टल राखेका लालबहादुर रावतले आफूले उत्पादन गरेको अर्गानिक वस्तुहरूको प्रचार–प्रसार भएको बताए । उनले फलफूल, दाल, मह लगायतका अर्गानिक वस्तुहरू स्टलमा राखेका छन् । अर्गानिक वस्तुहरूको उपभोगमा ध्यान दिनुपर्ने भन्दै उनले यसैका लागि आफूले अर्गानिक वस्तुहरू नै उत्पादन गर्ने गरेको बताए ।

मेलामा सुर्खेतका साथै जुम्ला, दाङ, दैलेख, हुम्ला, जाजरकोट लगायतका जिल्लामा स्थानीयस्तरमै उत्पादित विभिन्न वस्तुहरू बिक्रीमा राखिएको छ । मेलाबाट भएको बिक्रीले व्यवसायीहरू खुशी छन् । मेलामा यस क्षेत्रमा उत्पादित ढाँकाका कपडा, टोपी, जुत्ताका साथै कृषिजन्य वस्तुहरू राखिएको छ । मेलामा आउने दर्शकहरू पनि स्थानीयस्तरमा उत्पादित वस्तुहरूतर्फ आकर्षित भएका छन् । त्यसैगरी अर्गानिक कृषिजन्य वस्तुहरूको बिक्री वितरण पनि राम्रो रहेको उद्यमीहरूले बताएका छन् ।

मेला आयोजक मूल समितिका संयोजक समेत रहेका सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणकै लागि मेला आयोजना गरिएको बताउँछन् । उनले कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनहरूको प्रचार र बजार विस्तारका साथै पर्यटन प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताए । मेलामा स्वदेशका मात्र नभएर भारत, पाकिस्तान, बंगलादेश लगायतका देशका उत्पादन समेत राखिएको जानकारी दिए । मेला पुस ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मितिः   २ पुष २०७३, शनिबार १२:३०