कविता

छोरीको बिलौना

हे आमा बिन्ती छ तिमीलाई
मलाई यो धरतीमा आउन देउ
तिम्रो त्यो न्यानो काखमा
मलाई रमाउन देउ

आमा मलाई संसार देख्न देउ
आमा मलाई दुनियाँ देख्न देउ
मान्छु म दुनियाँ स्वार्थी छ भनेर
बुझ्छु म दुनियाँ निर्दयी पनि छ
तर तिमी त मेरो जननी हौ
तिमी त मायाकी खानी हौ
सन्तानको लागि रक्षक हौ
तिमी नै मेरो जीवन हौ
तिमी नै मेरो विधाता हौ
आमा मलाई थोरै कष्ट सहेर
तिमीले धर्तीमा आउन देउ
म तिम्रो आँसु पुछौँला
तिमी सँगसँगै दुःख साटौँला
म तिम्रो दुःखमा सहारा बनौँला
जीवनभरी म गुलाम बनौँला
आमा…

मलाई दुख्छ आमा, कलीलो मेरो तनमा घोचेर
कसरी संसार हेरुँ, भक्षक दुनियाँबाट बचेर
कसरी सहेकी हौली नि आमा
मलाई टुक्रा–टुक्रा बनाउँदा
कसरी सहेकी हौली नि आमा
मेरो प्राण तिम्रो गर्भमै जाँदा
आमा मैले कसको के बिगारेँ
आमा मैले के गल्ती गरेँ
आमा मलाई जन्म देउ बरु
बुझ्ने बनाई सजाय देउ बरु
कोखमै मेरो घाटी नरेट
धारीला चिजले छाति नरोप
डक्टर, असल, ज्ञानी म बनुँला
पाइलट बनी संसार घुमौँला
सुपत्री बनी जून झैँ चम्कौँला
आमा मलाई अन्तिम पटक नियालेर हेर
तिम्रै कोखमा जन्म लिन पाउँ हजारौँ फेर
अन्तिम पटक,
यो जन्म सफल भएन आमा
अर्को जन्म सफल हुन पाउँ
अर्को जन्ममा छोरी नभइ प्रिय तिम्रै छोरा हुन पाउँ ।

– खगीसरा बास्तोला (चन्द्रप्रभा)

प्रकाशित मितिः   १८ मंसिर २०७८, शनिबार ०५:०१