विशेष विद्यालयमै सरकारी बेवास्ता

सुर्खेत: बोल्न र सुन्न नसक्ने बालबालिकालाई शिक्षा दिने विद्यालयमा नै राज्यको नजर परेको छैन । कर्णाली प्रदेशकै एकमात्र विशेष विद्यालय हो, सिद्ध बहिरा बाल विद्यालय । वीरेन्द्रनगर–८ मा रहेको यो विद्यालयले सरकारी बेवास्ताका कारण अनेक समस्या झैल्दै आएको छ । बहिरा तथा सुस्त श्रवण विद्यार्थीले पढ्ने ठाउँमा शिक्षक, भौतिक संरचना, शिक्षण सामग्री र अपाङ्गतामैत्री संरचनाको अभाव रहेको हो ।

सुर्खेतकै पुरानोमध्येको सिद्ध बहिरा बाल विद्यालय स्थापना भएको ४१ वर्ष भइसकेको छ । वि.सं. २०३७ सालबाट पठनपाठन थालिए पनि यहाँका भौतिक संरचना र शिक्षालयको व्यवस्थापन अझै सुधारिएको छैन । संघ, प्रदेश र स्थानीय तहका सरकारको उदासीनताले विद्यालयको विकासमा बाधा पुगेको छ ।

यहाँ अहिले नौ जना शिक्षक कार्यरत छन् । माध्यमिक तहसम्मको विद्यालयमा ७० जना विद्यार्थी अध्ययन गर्छन् । विद्यालका निमित्त प्रधानाध्यापक याङलाल कंडेल शिक्षक अपुगको समस्या विगतदेखि नै रहेको बताउँछन् । उनका अनुसार नौ कक्षासम्म सञ्चालन भइरहेकाले विद्यालयमा कम्तीमा १७÷१८ जना शिक्षक हुनुपर्ने हो । आवश्यकताको आधा संख्यामा पनि शिक्षक नभएको उनले बताए । ‘विषयगत शिक्षकको झनै चरम अभाव छ । कार्यरत न्यून जनशक्तिबाट जेनतेन पठनपाठन गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘भौतिक संरचनाको अवस्था उस्तै नाजुक र अपर्याप्त छ ।’ विद्यालयमा नेपाली, अंग्रेजी र सामाजिक विषयका आवश्यक शिक्षक छैनन् । अन्य विषयका शिक्षकले नै यी विषय पनि पढाउने गरेका हुन् । मावि तहका विद्यार्थीले नै विषयगत शिक्षक नपाउँदा उनीहरूको पठनपाठन निकै प्रभावित हुने गरेको हो ।

डोल्पाकी शर्मीला बुढा यसै विद्यालयमा पढ्छिन् । कक्षा ६ मा अध्ययनरत उनले सांकेतिक भाषामा भनिन्, ‘शिक्षक नै नहुँदा सिकाइमा कठिनाइ भएको छ । विषयगत शिक्षक भए पो पढ्न सहज हुन्थ्यो ।’

सिद्ध बहिरा बाल विद्यालयमा कर्णालीका धेरै जिल्लाबाट आएका विद्यार्थीहरू छन् । उनीहरू शिक्षक र शैक्षिक सामग्रीको अभावमा गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । ‘त्यति टाढाबाट पढ्न आउन पाउँदा खुसी लागेको थियो,’ शर्मीला भन्छिन्, ‘अहिले शिक्षक नै नभएपछि निराश भएका छौं ।’ सबैभन्दा अप्ठ्यारो लाग्ने विषयका शिक्षक नै नहुँदा धेरै विद्यार्थी मर्कामा परेको उनको भनाइ छ ।

कक्षा नौमा अध्ययनरत अर्का विद्यार्थी प्रविनकुमार थापा दैलेखबाट पढ्न आएका छन् । प्रविनको समस्या पनि शर्मीलाकै जस्तो छ । जुन विषय उनलाई गाह्रो लाग्छ त्यही पढाउने शिक्षक पाएका छैनन् । अंग्रेजी विषयको शिक्षक नभएकाले पढ्न अप्ठ्यारो भइरहेको उनले बताए ।

यो विद्यालय कर्णाली प्रदेश सरकार मातहत छ । शिक्षा क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयले विद्यालयहरूका लागि एकमुष्ट बजेट विनियोजन गर्छ । मन्त्रालयसँग पहुँच भएका विद्यालयले सहजै बजेट पाउँछन् । सिद्ध बहिरा बाल विद्यालयले भौतिक पूर्वाधारको विकासमा समेत प्रदेश सरकारबाट आवश्यक सहयोग पाउन सकेको छैन । शिक्षक व्यवस्थापनदेखि भौतिक संरचना निर्माणका अनेकन् समस्या छन् । शिक्षक दरबन्दी कोटा नै थोरै छ । थप दरबन्दी सिर्जना गर्न पहलसमेत नभएको कार्यरत शिक्षकहरूको गुनासो छ । ‘हामीले सम्बन्धित निकायमा बारम्बार विद्यालयका समस्या राखेका छौं,’ निमित्त प्रधानाध्यापक कंडेल भन्छन्, ‘अहिलेसम्म सुनुवाई भने कतैबाट भएको छैन । जनशक्ति व्यवस्थापन नगरिदिँदा शैक्षिक गतिविधि प्रभावित हुँदै आएका छन् ।’

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका निमित्त प्रमुख नारायणप्रसाद पौडेलका अनुसार सिद्ध बहिरामा कार्यरत नौ जना शिक्षकमध्ये आठ जना दरबन्दीका हुन् । तीमध्ये प्राविका तीन, निमाविका चार र माविका एक शिक्षक छन् । एक जना शिक्षक भने काजमा कार्यरत छन् । पौडेलले जिल्लास्थित विद्यालयहरूमा रिक्त र अपुग भइरहेका दरबन्दी पूर्तिको माग गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाउने गरिएको जनाए ।

सिद्ध बहिरा बाल विद्यालय मात्र होइन प्रदेशमा अपाङ्गता भएका बालबालिकाका पढ्ने अन्य विद्यालयको अवस्था पनि यस्तै दयनीय छ । अपाङ्गता भएका विद्यार्थीका लागि घर नजिकै विद्यालय छैनन् । विद्यालयको सहज पहुँचमा नहुँदा ठूलो संख्या शिक्षा लिनबाट वञ्चित भइरहेका छन् । कर्णालीमा अपाङ्गता भएका झन्डै ९७ प्रतिशत बालबालिका विद्यालय बाहिरै रहेको तथ्याङ्क केही समय पहिले सार्वजनिक भएको थियो । नेपाल राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अनुसार यहाँ करिब २० हजारभन्दा बढी बालबालिका अपाङ्गता भएका छन् । तीमध्ये तीन प्रतिशतले मात्र आधारभूत तहको शिक्षा लिन पाएका हुन् । कर्णालीमा अपाङ्गता भएकाहरूका लागि अध्यापन गराउन ३९ वटा स्रोत कक्षा छन् । जसमध्ये अहिले ३३ वटा मात्र सञ्चालनमा रहेका छन् । स्रोत केन्द्र र एउटा विशेष विद्यालयमा गरी झन्डै आठ सय बालबालिकाले अध्ययन गरिरहेको राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०७८, शुक्रबार ०५:०९