कर्मयोगी ‘जोगी’

lax

शरीरमा पहेंलो गेरुवस्त्र धारण । लामा जुँगा–दाह्री र कपालको उस्तै लामो लट्टा । काँधमा गम्छा र एउटा झोला भिरेर खाली खुट्टा हिँड्ने लक्षीराम विक झट्ट हेर्दा सन्यासी बाबाजस्ता देखिन्छन् । तर उनी सांसारिक जीवनबाट विरक्त भइ घरवार त्यागेका वैरागी भने होइनन् । न त काम गर्नको दुःखले जोगी बनेका हुन् । उनी हुन्, कर्मयोगी ‘जोगी’ जो मागेर होइन आफ्नै मेहेनतले जीविकोपार्जन गरिरहेका छन् ।
सुर्खेतको भेरीगंगा–११ छिन्चु निवासी ४१ वर्षीय लक्षीराम विकलाई झट्ट देख्ने जोकसैलाई पनि पत्याउन मुस्किल पर्छ, उनी बसका चालक हुन् भनेर । तर उनले सुर्खेतदेखि काठमाडौं रात्री बस चलाउन थालेको करिब तीन वर्ष भइसकेको छ ।

उनकै जस्तो भेषका अन्य जोगीहरू मन्दिरमा भेटिन्छन् । कोही भिक्षा मागिरहेका हुन्छन् । तर लक्षीराम उनीहरूभन्दा भिन्दै छन् र उनी आफै कर्म गरेर जीविकोपार्जन गर्दछन् ।

लक्षीरामले गाडी चलाउन थालेको २०४८ सालदेखि हो । घरको आर्थिक अggवस्था कमजोर भएका उनी १३ वर्षको उमेरमै रोजगारीका लागि भारत गए । पाँच कक्षा पढ्दै गर्दा घरको कमजोर आर्थिक अवस्थाकै कारण उनले पढाइ छोडेर कमाइ गर्न भारत जानुप¥यो । वि.सं. २०४५ सालमा भारत गएका उनी २०६४ सम्म उतै बसे । उनको भारत बसाइँ अत्यन्तै संघर्षपूर्ण रह्यो । कमाईका लागि भाँडा माझे । कुल्ली र चौकीदारको काम गरे । जे–जे सकिन्थ्यो त्यही–त्यही गरे ।

करिब तीन वर्ष अनेक काम गरेपछि २०४८ सालमा उनले गाडी चलाउन थाले । त्यतिबेला उनी १५ वर्षको थिए । एउटा साहुले ड्राइभर बनाउँछु भनेर गाडी सिकायो । पछि त्यहींको लाइसेन्स बनाए । २०६४ सम्म भारतमै गाडी चलाए । भुटान र श्रीलंका समेत पुगेको उनी बताउँछन् ।

एकपटक भारतको विहारमा उनले चलाएको गाडी दुर्घटनामा परेर उनको खुट्टामा गम्भीर चोट लाग्यो । ईश्वरप्रति गहिरो आस्था राख्ने उनी आफ्नो कुनै गल्तीको सजाए ठान्छन्, उक्त दुर्घटनालाई । तर त्यसपछि भने हालसम्म कुनै पनि दुर्घटना नभएको उनले बताए । लामो समयदेखि चालक भइ काम गरिरहेका उनी कुसल चालकको रूपमा परिचित छन् । कुसल चालकको रूपमा उनी पुरस्कृत तथा सम्मानित समेत भइसकेका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले कुसल चालकको रूपमा उनलाई सम्मान गरिसकेका छन् ।

भगवानले भने अनुसार नै जोगीको चोला धारण गरेको उनी बताउँछन् । उनी सधैं जोगीकै भेषमा हुन्छन् । चाहे गाडी चलाउँदा होस् वा अन्यत्र हिँड्दा । सांसारिक मोह सबै त्यागेको उनी बताउँछन् । सांसारिक मोह त्यागे पनि काम भने उनले त्यागेका छैनन् । काम नै उनको सबैभन्दा ठूलो सम्पत्ति हो । भन्छन्, ‘कसैसँग मागेर खानु नपरोस्, सास चलुन्जेल काम गर्छु ।’ सूर्यलाई भगवान र धर्तीलाई माता मान्ने उनी हरेक काम गर्नुपूर्व यी दुईको नाममा प्रार्थना गर्दछन् ।

जोगी हुँदैमा भीक्षा मागेर खानुपर्छ भन्ने मान्यता उनमा छैन । बरु काम नगरी मागेर खानेहरू उनलाई ढोंगी लाग्छन् । आफूप्रति भगवानको असिम कृपा भएकै कारण दुर्घटनाबाट बाँचेको र आजसम्म पनि काम गरेर खान सकेको उनको भनाइ छ ।

उनको जोगी रूप देखेर धेरैले गिज्याउँछन् । आफूले गेरुवस्त्र धारणा गरेर जोगीको भेष गरेकै कारण भारतमा केही समय काम पाउन मुस्किल परेको उनले सुनाए । भारतमा मात्र होइन नेपालमा पनि सुरुमा उनलाई काम पाउनै मुस्किल प¥यो । ‘मसँग गाडी चलाउने सीप छ, विभिन्न यातायात समितिमा पुगेर काम दिन अनुरोध गरें तर यस्तो जोगीले के चलाउला र भन्दै दिएनन्’ उनी भन्छन्, ‘तर काँक्रेविहार यातायात र यसका सचिव रमेश सापकोटाले मलाई विश्वास गरेर काम दिनुभयो ।’ गाडी चलाउन दिनुस् भन्दा कतिपयले ‘जा मन्दिरमा गएर मागेर खा’ समेत भने । उनी काँक्रेविहार यातायातको ना ४ ख ७३४७ नम्बरको बस सुर्खेत–काठमाडौं रुटमा चलाउँछन् ।

उनको अनौठो बानीले यात्रुहरू नै छक्क पर्छन् । सुर्खेतदेखि काठमाडौं पुग्न करिब १६ घण्टा लाग्छ । तर यति लामो यात्रा लक्षीराम पानीकै भरमा मात्र पूरा गरिदिन्छन् । उनी शाकाहारी हुन् । हत्या र हिंसाका घोर विरोधी । ‘अरुलाई मारेर खाने हामी कसरी पशुभन्दा फरक र सर्वश्रेष्ठ मानिस हुन सक्छौं ?’ उनको प्रश्न गर्छन् । कतिसम्म भने उनी आफ्नो पैतालाले किरा समेत नमरोस् भनी कामना गर्छन् । त्यसैले उनी खाली खुट्टै हिंड्छन् । ‘झुक्किएर किरा पैतालामुनी परिहालेछ भने पनि उसको मरण नहोस्’ उनी भन्छन्, ‘जुत्ता र चप्पल लगाउँदा त्सको कडापनले किरा मर्नसक्छ ।’

लक्षीरामले घरपरिवारप्रतिको कर्तव्य भुलेका छैनन तर घरमा भने बस्दैनन् । सुर्खेतमा हुँदा गणेशचौकमा रहेको मन्दिरमा बस्छन् भने काठमाडौं पुगेका बेला कि त गाडीमै सुत्छन कि पशुपति पुग्छन् । यद्यपी गाडी चलाएरै भएको आम्दानीले घरखर्च र छोराछोरीको पढाई खर्च उनैले धानेका छन् ।

कर्मअनुसार फल पाइने बताउने लक्षीराम कुसल चालक मात्र होइन काम गर्नको दुःखले जोगी बनेकाहरूका लागि प्रेरणात्मक उदाहरण पनि हुन् । उनी भन्छन्, ‘म जोगि हुँ तर मागि खाने जोगी होइन, काम गरेर खान्छु ।’

प्रकाशित मितिः   १ पुष २०७३, शुक्रबार १२:३२