खेलकुदमा आशाको सञ्चार
कर्णाली प्रदेशमा खेलकुदका लागि आवश्यक पूर्वाधार छैनन् । पूर्वाधार नहुँदा पर्याप्त प्रतियोगिताहरू पनि सञ्चालन हुँदैनन् । क्षमता र सम्भावना बोकेका खेलाडीहरू हुँदाहुँदै पनि प्रदेश पछि परेको छ । यही अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले पहल थालेको छ । अब कर्णालीमा प्रदेशस्तरीय रंगशाला बनाइने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माणका लागि पहल थालिएको हो । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा १० हजार दर्शक अट्ने अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच रंगशाला बनाउने सम्झौतासमेत भएको छ । यसले प्रदेशको खेलकुद क्षेत्रमा आशाको सञ्चार गरेको छ ।
वीरेन्द्रनगरमा रंगशाला निर्माणका लागि वर्षौ अघिदेखि नै जग्गा छुट्याइएको थियो । गुरुयोजना बनाउँदा नै जग्गा छुट्याइएको भए पनि पूर्वाधार निर्माण हुन सकेको थिएन । निर्माणको चर्चा पटक–पटक चल्ने गरेको थियो, तर चर्चामै सीमित हुँदै आएको थियो । अब भने रंगशाला निर्माण योजनाले पूर्णता पाउने भएको छ । डेढ अर्ब बढी लगानीमा भौतिक संरचनाहरू निर्माण गर्न लागिएको हो । ३० महिनामा काम सक्ने गरी एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । अबको एक साताभित्रै संरचना निर्माणको शिलान्यास हुनेछ । रंगशालाको डिजाइनअनुसार संरचनाहरू भुकम्प प्रतिरोधक बनाइनेछ भने प्याराफिट ग्याल्वनाइज फलामका राखिने भएका छन् । एक हजार पाँच सय दर्शक क्षमता भएको बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला निर्माण हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइने पनि सम्झौतामा उल्लेख छ । यसैगरी, भीआइपी प्याराफिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने छन् । अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुने छन् ।
भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । अधिकांश जिल्लामा सामान्य खेल मैदानहरू पनि निर्माण भएका छैनन् । जसले गर्दा खेलाडीहरूलाई दैनिक अभ्यासका साथै जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा समेत समस्या हुँदै आएको छ । विगतमा पूर्वाधार नभएकै कारण क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्नबाट कर्णाली वञ्चित हुँदै आएको थियो । अब भने उक्त समस्या समाधान हुनेछ । प्रदेश सरकारले पछिल्लो समय प्रदेशस्तरीय रंगशाला र जिल्लाहरूमा पनि खेल क्षेत्रको प्रवद्र्धन गर्न लगानी बढाएको छ । सरकारको यो निर्णयसँगै खेलकुदको विकासमा निकै टेवा पुग्ने अपेक्षा गरिएको छ । तर योजना समयमै कार्यान्वयन गर्नेतर्फ भने ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ०८:४६
सम्पादकीय ।