महाधिवेशनको सन्देश
नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति, महामन्त्री र कोषाध्यक्षको छनौट भइसकेको छ भने केन्द्रीय सदस्यहरूको मतगणना कार्य जारी छ । प्रमुख तीन पदमा भएको निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई लिएर नेपाली राजनीतिक वृतमा अहिले विभिन्न खालका विश्लेषण हुने गरेको छ । नेताहरूले वर्षौ लगाएर बनाएको र अनेकौं जोडघटाउ गरेर मिलाएको समूहगत गठबन्धनको चक्रब्यूह कार्यकर्ताले मतदानबाटै भताभुङ्ग बनाइदिए । कार्यकर्ताको यस्तो निर्णयले केही नेता कार्यकर्ताको वर्तमान र भविष्यमा असर गरे पनि सम्भवतः नेपाली कांग्रेसको भने भलो नै हुनेछ । कम्तीमा नेताहरूका लागि कार्यकर्ताले राम्रो पाठ सिकाएका छन्, गुट नबनाउ । कांग्रेसको यो महाधिवेशनले दिएको प्रमुख सन्देश यही नै हो । परिणमामलाई हेर्दा महाधिवेशन प्रतिनिधिहरूले गुट हेरेर भन्दा पनि व्यक्ति हरेर मतदान गरेको देखिन्छ । सभापति पदमा शेरबहादुर देउवाले संस्थापन पक्षका उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्दा महामन्त्री र कोषाध्यक्षमा भने संस्थापन पक्षका उम्मेदवार विजयी भए । महामन्त्रीमा संस्थापन पक्षका उम्मेदवार सशांक कोइराला विजयी हुँदा कोषाध्यक्षमा पनि सोही प्यालनकी सीतादेवी यादव विजयी भइन् । कृष्णप्रसाद सिटौला प्यानलका भने तीनै जना उम्मेदवार पराजित हुन पुगेका छन् । यद्यपि यसअघि नै बलियो उम्मेदवारको रूपमा संस्थापन र देउवा पक्षलाई नै लिइएको थियो । सिटौला प्यानल महाधिवेशनको मुखमा आएर मात्रै बनेको हो ।
सभापतिमा शेरबहादुर देउवाले पाएको मतको आधाभन्दा केही बढीमात्र उनको समूहका महामन्त्रीका उम्मेदवारले पाए । कोषाध्यक्ष पदमा पनि रामचन्द्र पौडेल समूहकै उम्मेदवार विजयी भइन् । कृष्णप्रसाद सिटौला समूहका उम्मेदवारले पाएका मतमा पनि यस्तै अन्तर देखियो । अर्थात्, गुटबन्दी गर्ने नेताहरूलाई कार्यकर्ताले भने गुटबन्दी अन्त्य गरी पार्टी सञ्चालन गर्ने सन्देश मतदानमार्फत् दिएका छन् । यसो त जीवन्त लोकतान्त्रिक दलमा समूहको अभ्यास अनौठो होइन । यस्ता समूह वैचारिक आधारमा निर्माण भएमा स्वस्थ प्रतिस्पर्धा हुन्छ र दललाई ऊर्जा प्राप्त हुन्छ । कांग्रेसमा भने संस्थापन र देउवा समूहको निर्माण वैचारिक आधारमा भएको थिएन । वैयक्तिक स्वार्थका कारण दलभित्र गुट उपगुट बनेका थिए । चुनावको मुखमा व्यक्तिहरूको महŒवाकांक्षाका कारण नयाँ गुट बनेको थियो । संस्थापनका हस्ती देउवा समूहमा पुगेका थिए भने संस्थापनमा पनि अर्को समूहबाट नेता आएका थिए । नेतृत्व चयनका लागि निर्वाचनको माध्यम सही भए पनि चुनावमा गरिएको गुटबन्दी स्वीकार्य नभएको सन्देश पार्टीको सर्वोच्च निकाय महाधिवेशनका लागि देशभरबाट निर्वाचित प्रतिनिधिले दिएका छन् । अघिल्लो केन्द्रीय कार्यसमिति गुटबन्दीकै कारण पूर्णता पाउन र राम्ररी क्रियाशील
हुनसकेन । निर्वाचनपछि पनि भागवण्डाका लागि गुटबन्दी कायमै राखिएकाले पार्टी एक हुनसकेन । भागवण्डामै अलमलिइरह्यो ।
अघिल्लो पटकको त्यस अभ्यासलाई यसपटक कार्यकर्ताले अस्वीकार गरे । यसबाट नवनिर्वाचित सभापति र महामन्त्रीले विशेष पाठ सिक्नु जरूरी देखिन्छ । निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेर पार्टीलाई एकताबद्ध गराउन दुवै समूहका नेताहरूले आवश्यक भए त्याग गर्न पनि तत्पर हुनुपर्छ । सभापतिका पराजित उम्मेदवार रामचन्द्र पौडेलले नवनिर्वाचित सभापतिलाई सबै प्रकारको सहयोग दिने आश्वासन पनि सार्वजनिक रूपमै दिइसकेका छन् । उनको आश्वासन व्यवहारमा पनि चरितार्थ हुनुपर्छ । तर सभापति देउवाले त्यसका लागि उपयुक्त वातावरण पहिले निर्माण गर्नुपर्छ । पार्टीमा गुटबन्दी हैन एकता स्वीकार्य र वाञ्छनीय भएको निर्वाचन परिणामले दिएको सन्देश सबैले आत्मसात् गरेमात्र नेपाली कांग्रेस सुदृढ हुनेछ । यसतर्फ नेताहरूले पक्कै ध्यान दिनेछन् ।
साझा बिसौनी संवाददाता ।