पर्यटनले बेहोरेको क्षति
विश्वभर फैलिएको कोरोना महामारीले सबै क्षेत्र प्रभावित रहे । लामो समय लकडाउन र निषेधाज्ञा सामना गर्नुप¥यो । अहिले पनि संक्रमण नियन्त्रण भइसकेको छैन । जोखिम कायमै छ । दैनिक रूपमा संक्रमित थपिने र मृत्यु बढ्ने क्रम रोकिएको छैन । जसले गर्दा सबैजसो क्षेत्र सञ्चालनमा आइसकेपनि गति लिन भने सकेका छैनन् । कोरोनाले निकै प्रभावित गरेका क्षेत्रमध्येको एक हो, पर्यटन । पछिल्लो दुई वर्षमा पर्यटन व्यवसाय संकटग्रस्त बन्यो । यसको मारमा व्यवसायी मात्रै परेनन् मुलुकको अर्थतन्त्रले नै क्षति बेहोर्नु पर्यो ।
कर्णाली प्रदेशको पर्यटन व्यवसाय पनि नोक्सानग्रस्त नै रह्यो । नेपाल राष्ट्र बैंकको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनले समेत यहाँको पर्यटन व्यवसाय निकै खस्किएको औंल्याएको हो । केही महिना पहिले सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को प्रादेशिक अध्ययन प्रतिवेदनअनुसार यहाँ पर्यटक आगमन ९४ दशमलव ४६ प्रतिशतले घटेको पाइएको छ । प्रदेशमा पर्यटकस्तरीय होटल तथा लजको संख्यामा पनि कमी आएको हो । ६ दशमलव ४३ प्रतिशतले पर्यटन व्यवसाय घटेका छन् । अघिल्लो वर्षको तुलनामा पर्यटन व्यवसाय निकै ओरालो लागेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । महामारीका कारण अधिकांश समय लकडाउन तथा बन्दाबन्दी रहेकोले पर्यटकको आगमनमा कमी आएको जनाइएको छ । यसै पनि कमै चहलपहल हुने कर्णालीका पर्यटकीय स्थानहरू कोरोनाका कारण झनै थला परे । झन्डै दुई वर्षयता पर्यटन व्यवसाय ठप्प प्रायः भयो । सबैभन्दा बढी मारमा होेटल व्यवसाय परे ।
पछिल्लो समय कोरोनाको संक्रमणदर घटेको छ । पर्यटन क्षेत्रले पनि विस्तारै लय समाउँदै छ । कोरोना संक्रमणदरमा कमी आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका हुन् । होटल व्यवसाय र पर्यटकीय क्षेत्रमा मानिसहरूको चहलपहल देखिन थालेको छ । कर्णालीमा बाह्य पर्यटक कमै आउँछन् । आन्तरिक पर्यटकहरू भने घुमफिरका लागि निस्कन थालेका हुन् । कर्णालीमा घुम्न र हेर्न लायक थुप्रै ठाउँहरू छन् । तीमध्ये धेरैजसो स्थानमा कमै संख्यामा मात्र पर्यटक पुग्छन् । त्यसमा पनि बाह्य पर्यटकको संख्या झन् न्यून छ । बाहिरबाट घुम्न आउनेहरूको आकर्षण बन्न नसक्दा प्रदेशको पर्यटन क्षेत्रले अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान गर्न सकेको छैन । अधिकांश पर्यटकीय स्थलहरूमा आधारभूत सेवा–सुविधा नै छैनन् । आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । जसका कारण पनि यो क्षेत्र खुम्चिएको हो ।
अर्कोतर्फ प्रदेशमा रहेका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानसम्म जान यातायातको सहज पहुँच छैन । खान बस्नका लागि व्यवस्थित होटलको अभाव छ । कतिपय पर्यटकीय स्थलको प्रचार–प्रसारसमेत भएको छैन । कर्णालीमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न अभियान थालिए पनि अपेक्षाकृत प्रगति हुन नसकेको हो । रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, पञ्चकोशी, सिञ्जा, त्रिपुरासुन्दरी र काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य अझै बन्न सकेका छैनन् । कर्णालीमा पर्यटनको अथाह सम्भावना रहे पनि पूर्वाधार विकासमा ध्यान नदिँदा ओझेलमा परेको छ ।
प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार ०५:००
सम्पादकीय ।