भेरी पम्पिङ आयोजना

डीपीआर तयार, तिहारलगत्तै टेण्डर

विश्व बैंकले लगानी गर्ने, सात अर्ब ५२ करोडको लागत अनुमान, टेण्डर भएको तीन वर्षभित्र निर्माण सम्पन्न
आयोजनाबारे छलफल गर्न सुर्खेत आइपुगेको विश्व बैंकको टोलीसँग उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधि

भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने योजनाले सार्थकता पाउने भएको छ । बहुप्रतिक्षित भेरी पम्पिङ खानेपानी आयोजनाको निर्माण पूर्वको कामले गति लिएको हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । योसँगै आयोजनाको भौतिक संरचना निर्माणको बाटो खुलेको छ ।

विश्व बैंकको लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम छिट्टै सुरू हुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । ‘प्राविधिक रिपोर्ट तयार भयो,’ उनले भने, ‘उपभोक्ताका तर्फबाट थालिएको पहलको यो ठूलो उपलब्धी हो ।’ बिहीवार खानेपानी तथा ढल व्यवस्था विभाग, सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र विश्व बैंकको विज्ञ टोलीबीच आयोजनाको काम अघि बढाउने विषयमा छलफल भएको उनले जनाए । डीपीआर बनेपछि विश्व बैंकले आयोजनामा लगानी गर्ने सुनिश्चित भएको देवकोटाको भनाइ छ ।

आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार बनाएर सोही अनुरूपका संरचना निर्माण गर्न डीपीआर तयार पारिएको छ । विभागले पनि वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजनासहित अघि बढिएको जनाएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले आयोजना निर्माणका लागि तिहारलगत्तै टेण्डर हुने बताए । ‘डीपीआर बनिसक्यो,’ उनले भने, ‘तिहारपछि निर्माणको प्रक्रियामा जाने तयारी छ ।’ उनका अनुसार सात अर्ब ५२ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजना निर्माण भएपश्चात् वीरेन्द्रनगरमा पाँच सय लिटर प्रतिसेकेन्ड पानी झर्ने छ ।

आयोजना सञ्चालनका लागि संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै टेण्डर गर्नेछन् । छिटो–छरितो योजना सम्पन्न गर्न यस्तो तयारी गरिएको हो । टेण्डर भएको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि पहिलो चरणको टेण्डर कार्तिक महिनाभित्रै गर्ने तयारी थालिएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुुर्खेतका प्रमुख नारायण काफ्लेका अनुसार पहिलो चरणमा रिभर इन्टेक, पानी प्रशोधन केन्द्र, म्यान लाइन, पम्पिङ स्टेशन र अमृतडाँडामा पानी पोखरी बनाइने छ । अमृतडाँडामा तीन वटा ट्याङ्की बन्ने छन् । अमृतडाँडा उपत्यकाको दक्षिण पूर्वी भागमा रहेको अग्लो डाँडा हो । त्यहाँ १२ हजार क्यूफिट लिटरका ट्याङ्की बनाउने योजना विभागको छ । उपत्यकामा पानी ल्याइएपछि पुरानै सिस्टममा जडान गरी पानी सञ्चालन गर्ने तयारी छ ।

भेरी पुुल र झुप्रा खोलाको दोभानभन्दा झन्डै पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउन लागिएको छ । उक्त स्थानबाट अमृतडाँडासम्म पानी ल्याउन करिब दुई अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान विभागले यसअघि नै गरेको छ । प्राविधिकहरूका अनुसार वीरेन्द्रनगर उपत्यकामा पानी ल्याउँदा सात किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्ने हुन्छ । उपत्यकामा पानी वितरण गर्न संरचना निर्माणमा चार अर्ब बढी खर्च हुने आकलन गरिएको छ । यसअघि नै टेण्डर भइसक्ने भनिए पनि आयोजनाको डीपीआर बन्न समय लागेपछि ढिलाइ भएको हो ।

विगत पाँच वर्षयता भेरी पम्पिङ आयोजनाको चर्चा हुँदै आएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा अहिले खानेपानी पर्याप्त छैन । हिउँदको सिजनमा पानीको हाहाकार हुुने गरेको छ । भेरी पम्पिङ आयोजना सम्पन्न भए करिब ३० वर्ष बढी समयसम्म उपत्यकालाई खानेपानी पुुग्ने अनुमान प्राविधिकहरूको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका प्रमुख काफ्लेले यो आयोजना दीर्घकालीन सोचका साथ अघि बढाइएको जनाए ।

वीरेन्द्रनगरमा बढ्दो जनसंख्यासँगै पानीको संकट चुलिँदो छ । उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । संस्थाका अध्यक्ष देवकोटाले झुप्रा बृहत् खानेपानी आयोजना बनाउँदादेखि नै भेरीको पानी नै दीर्घकालीन विकल्पको रूपमा हेरिएको बताए । उपत्यका आसपासका विभिन्न साना स्रोतबाट हाल वीरेन्द्रनगरमा करिब एक सय ६० लिटर प्रतिसेकेण्ड पानी आउँछ । माग भने दुई सय ५७ लिटर प्रतिसेकेण्डभन्दा बढी छ । आपूर्तिभन्दा माग निकै बढी रहेको संस्थाले जनाएको छ । उपत्यकामा हरेक वर्ष आठ सयदेखि एक हजारसम्म घरधुरीले धाराका लागि आवेदन दिने गरेका छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिले १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन् ।

वीरेन्द्रनगर उपत्यकामा हाल करिब १९ हजार धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । उपत्यकामा बढ्दो जनघनत्वसँगै पानीको अभाव बर्सेनि चुलिँदो छ । जसले गर्दा पानी पुुर्‍याउन हम्मेहम्मे भएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । त्यतिबेला ९६ घण्टासम्मको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ । उपत्यकावासीको खानेपानी समस्या दीर्घकालीन समाधान गर्ने एक मात्र विकल्पका रूपमा भेरी पम्पिङ आयोजना मानिएको छ । यो आयोजनालाई लगानीका हिसाबले बहुचर्चित मेलम्ची खानेपानी आयोजना पछिको दोस्रो ठूलो आयोजनाको रूपमा विभागले हेरेको छ । विश्व वैंकको विज्ञ टोलीले वीरेन्द्रनगर नगरपालिका र प्रदेशका प्रतिनिधिसँग यहाँको खानेपानी समस्याबारे जानकारी लिएको छ । उपत्यकामा मात्र नभइ वीरेन्द्रनगरका वडा नं. १४, १५ र १६ मा पनि विश्व बैंकले खानेपानी र सरसफाइका काम अघि बढाउने सन्दर्भमा छलफल थालिएको हो ।

प्रकाशित मितिः   १३ कार्तिक २०७८, शनिबार ०८:५६