अलपत्र योजना

कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने योजना बनायो । स्वच्छ, स्वस्थ समृद्ध नगर बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रममा योजना समावेश गरियो । बजेट विनियोजन पनि भयो । प्रदेश राजधानीलाई नमुना सहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार काम भने हुन सकेन । बनाइएका योजना कार्यान्वयन हुन सकेनन् । अलपत्र परेका छन् ।

दुई वर्षअघि वीरेन्द्रनगरलाई वातावरणमैत्री सहर बनाउने घोषणा गरिएको थियो । सरकारको नीति तथा कार्यक्रममा भनिएको थियो, ‘प्रदेश राजधानी सहरलाई धुलो धुवाँमुक्त गरी वातावरणमैत्री बनाइने छ ।’ यतिमात्र होइन इन्धन खपत न्यूनीकरणका लागि अन्य योजना पनि सार्वजनिक गरिएका थिए । सुलभ र सहज विद्युतीय सार्वजनिक यातायात सञ्चालन गर्ने र सुब्बाकुना–बाङ्गेसिमल साइकल मार्ग निर्माण (साइकलमैत्री सडक) को अवधारणा ल्याइयो । सोही वर्षको नीतिमा सरकारले वीरेन्द्रनगरका सडक अपाङ्गतामैत्री बनाउने योजना समेत अघि सारेको थियो । तर, कर्णाली सरकारको उक्त योजनाले दुई वर्षसम्म गति लिएको छैन । सरकारको नीति अनुरूप वातावरणमैत्री कुनै पनि योजना अघि नबढाइएको हो । वातावरण अनुकूल बनाउन सरकारले घोषणा गरेका योजनालाई लक्ष्यअनुसार अघि बढाउन सरकार आफै असफल भएको छ । योजनाअन्तर्गत केही समय कार्यालय आवत–जावत गर्न मुख्यमन्त्री कार्यालयकै कर्मचारीले साइकलको प्रयोग गरेका थिए । तर, अभियानले निरन्तरता पाउन सकेन । सुलभ रूपमा पाइने, इन्धन खर्च नहुने र वातावरणमा समेत असर नपर्ने भएकाले साइकल चढ्ने अभियान सुरू गरिएको हो । त्यसैअनुसार वि.स. २०७६ साउनमा मुख्यमन्त्री कार्यालयले साढे चार लाख खर्चिएर १० वटा साइकल खरिद ग¥यो । ती साइकल मुख्यमन्त्री कार्यालयका कर्मचारीको प्रयोगका लागि थिए । वातावरणमैत्री सहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न कर्मचारीले थालेको अभियान केही दिनमै रोकियो । साइकल प्रयोग गर्न छोडियो । प्रदेश सरकारले साइकलमैत्री सहर निर्माणको महत्वाकांक्षी कार्यक्रम अहिलेसम्म सुरुआत गर्न सकिरहेको छैन । दीर्घकालीन सोचविना बनाइएका पुराना संरचना अस्तव्यस्त भएकाले पनि वातावरण सुहाउँदो सहरको योजना कार्यान्वयनमा समस्या भएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा साइकल मार्ग निर्माण शीर्षकमा बजेट विनियोजित गरिएको थियो । कार्यक्रम कार्यान्वयन नभएपछि रकम फ्रिज भएको छ ।

बढ्दो जनसंख्या र व्यवस्थित गुरुयोजनाको अभावमा पछिल्ला वर्षहरूमा वीरेन्द्रनगर अस्तव्यस्त बनेको छ । केही वर्ष पहिलेसम्म सुन्दरनगरको पहिचान बनाएको नगरपालिका सरोकारवालको उदासीनताका कारण कुरूप बन्दै गएको हो । वीरेन्द्रनगर उपत्यकाको दक्षिणी भाग, जहाँको जमिन अन्न उब्जनीका लागि उर्बर मानिन्थ्यो । त्यहाँ अहिले अधिकांश जमिन प्लटिङ गरिएका छन् । खेतीयोग्य जमिन घना बस्ती बन्दै गएको छ । सडक लगायतका भौतिक संरचना जथाभाबी निर्माण गरिँदा नगरलाई वातावरणमैत्री बनाउने योजनामा अवरोध पुगेको हो । वीरेन्द्रनगरलाई सुन्दरनगरीकै रूपमा फर्काउन प्रदेश र स्थानीय तहले नीति–कार्यक्रम ल्याएपनि कार्यान्वयनमा चुनौती थपिदै गएको छ । यद्यपि दीर्घकालिन योजना बनाएर कार्यान्वयन गरे वातावरणमैत्री नगर बनाउने योजना असम्भव भने छैन ।

प्रकाशित मितिः   १० कार्तिक २०७८, बुधबार ०५:००