चोरिएका मूर्ति खोज्न पुजारीकेन्द्रित अनुसन्धान

जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको मूर्तिबारे दुइ साता बितिसक्दा पनि पत्तो लाग्न सकेको छैन । चोरी भएकामध्ये मूल मूर्ति १२ धार्नीको दत्तात्रयको भएको र त्यसको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको बताइन्छ । मूर्ति चोरीको घटनाबारे अध्ययन गर्न अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोको टोली नै जुम्ला पुगेको थियो । टोलीका सदस्य जुम्ला नै रहे पनि प्रहरीले घटनाबारे ठोस निष्कर्ष निकालिसकेको छैन । स्रोतका अनुसार मन्दिर व्यवस्थापन टोली र पुजारीहरूको वरिपरि नै अनुसन्धान केन्द्रित छ ।

पुरातत्त्व विभागले मूर्ति चोरीलगत्तै इन्टरपोल र सबै भन्सार कार्यालयमा यसबारे जानकारी गराइसकेको छ । विभागका महानिर्देशक भेषनारायण दाहाल मूर्ति चोरीको घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको र कुनै निष्कर्ष नआइसकेको बताउँछन् । स्थानीयले चोरीको घटनाबारे केन्द्रबाटै अनुसन्धान गर्नुपर्ने माग राखेपछि अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्मा र ब्युरोको टोली जुम्ला पुगेको थियो । एआईजी शर्मा फर्के पनि ब्युरो टोली अझै अनुसन्धानकै क्रममा जुम्लामै छ । शर्माले अनुसन्धान जारी रहेको र चोरीको मूर्ति पुर्‍याइएको सम्भावित छिमेकी जिल्लामा अपरेसन चलाइरहेको बताए । ‘विभिन्न स्थानमा पेट्रोलिङ टोली खटाइरहेका छौं,’ उनले भने । केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी नवराज सिलवाल अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न नसकिने भएकाले चोरिएका मूर्ति फेला पार्न सकिनेमा आशावादी छन् । ‘केही सुराक र जानकारीले हामीलाई मूर्ति भेटिने सम्भावना नजिक पुर्‍याएको छ,’ उनले भने ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी माधवप्रसाद नेपालले मध्यपश्चिमका पहाडी जिल्लामा अपरेसन चलिरहेको बताए । नेपालका अनुसार प्रहरीले जाजरकोटका कैयन् ठाउँमा खोजी कार्य बढाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका सात, ब्युरोका दुई र जिल्लास्थित प्रहरी कार्यालयले अनुसन्धानलाई जारी राखेका छन् । मूर्ति खोजीकै क्रममा शनिबार मात्रै बर्दियाको देउडाकला जंगलमा प्रहरी र शंकास्पद अवस्थामा हिँडेका दुईबीच मुठभेड भयो । प्रहरीले जाँच गर्न खोज्दा भएको घम्साघम्सीले प्रहरीले हवाई फायर नै गरेर दुईलाई नियन्त्रणमा लिएको छ । डीआईजी नेपालका अनुसार ती दुईबाट एक थान मूर्तिसमेत बरामद भएको छ । बरामद भएको मूर्ति ११ मंसिरमा जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएको मूर्ति हुन सक्ने वा पक्राउ परेकाबाट त्यसबारे जानकारी मिल्न सक्ने सम्भावना देखिन्छ ।

यसअघि उपल्लो डोल्पाको शे गुम्बाबाट चोरिएका मूर्तिहरू पनि फेला पार्न सकिएको थिएन । ०६८ असोज १४ गते हुम्ला बरगाउँको तारकाखोर गुम्बामा भएको मूर्ति चोरीको घटनामा भने केन्द्रीय अनुसन्धान ब्युरोले एक वर्षपछि अर्थात् २०६९ जेठ सातमा नरेन्द्र लामासहित १२ जनालाई पक्राउ गरेको थियो ।

मंसिरमा ११ गते मुर्ति चोरी भएका थिए ।

प्रकाशित मितिः   २६ मंसिर २०७३, आईतवार १३:३४