स्याहार्ने बेलामै सोत्तर

कर्णालीमा ३० प्रतिशतभन्दा बढी धानबाली नष्ट, किसानलाई भोकमरीको चिन्ता

असारमा मानो रोपेका किसान यतिबेला मुरी भित्र्याउने तरखरमा थिए । कतिपय ठाउँमा धान काटेर खेतमै राखिएको र कतै काट्ने तयारी गरिँदै थियो । तर, यसपालि किसानलाई मौसमले साथ दिएन । खेतभरी पहेँलपुर भएर पाकेको धान बटुल्ने बेला विपत्ति आयो । वर्षाले धानबाली सखाप बनायो ।

किसानले काटेर सुकाउन राखिएको धान नष्ट भयो । काट्न बाँकी धान पनि खेतमै नोक्सान भएको छ । केही दिनदेखिको अविरल वर्षाले धानबालीमा ठूलो क्षति पुगेको हो । कतिपय ठाउँमा काटेको धान खेतमै डुबेको छ भने कतै बाढी पसेर बाली नै बगाएको छ । मनसुन सकिएपछि फेरि फर्केको वर्षाले धानबाली नोक्सान हुँदा किसान मारमा परेका हुन् ।

वीरेन्द्रनगर–१० का देवदत्त आचार्यले १० कट्टा जमिनमा धान लगाएका थिए । उनले असोज २९ र ३० गते १४ जना खेताला लगाएर धान कटाए । धान खेतमै एकनासले मिलाएर सुकाउन राखिएको थियो । आइतवार साँझ एक्कासी वर्षा भयो । खेतमा राखेको धान सबै डुब्यो । त्यसयता पनि झरी परिरहेको छ । उनले धान राखेको ठाउँमा दुई फिटसम्म पानी छ । ‘क्षतिको के कुरा गर्नु सबै सखाप भयो,’ आचार्यले भने, ‘एक–दुई दिनमै थन्क्याउने तयारी थियो ।’

धान पानीले सखाप पारिदिए पछि वर्षभरि के खाने भन्ने चिन्ताले सताएको उनले बताए । यसपटक धान उत्पादन बढ्ने अपेक्षा आचार्यको थियो । समयमै रोपाइँ भएको र बाली पनि निकै सप्रिएकाले ४० मुुरीसम्म धान फल्ने आकलन उनले गरेका थिए । तर, उनको आशा अन्तिममा निराशामा परिणत भयो । धान घरमा ओसार्ने समयमा बालीमा पुगेको क्षतिले बिउ नै नजोगिने चिन्ता उनलाई छ । ‘अधिकांश धान बटुल्न नमिल्ने गरी डुबेको छ,’ आचार्यले भने, ‘नालाको पानी समेत पसेपछि खेत जलमग्न छन् ।’ धान स्याहारेर राख्ने आस समेत मरेको उनी बताउँछन् ।

कार्तिकमा परेको झरीले धानबालीमा यतिसम्म नोक्सान गर्ला भन्ने किसानहरूले सोचेका थिएनन् । निरन्तर परिरहेको वर्षाले विपद् ल्याएपछि आचार्यजस्तै थुप्रै किसान मर्कामा परेका छन् । आफ्नै खेतबारीमा उत्पादित धानले वर्षभरी गुजरा चलाउने उनीहरू समस्यामा परेका हुन् । परिवारलाई चाहिने बाहेकको धान बेचेर अन्य खर्च समेत टार्नेलाई यो वर्ष भने भोकमरी पर्ने चिन्ता छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र उत्पादन घट्ने भएकाले पनि किसानहरू थप चिन्तित बनेका हुन् । धानबाली पूर्णरूपमा क्षति भएको भन्दै सम्बन्धित निकायले राहतको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

जुुम्लाको तातोपानी गाउँपालिका–४ नियाँपानीमा एक सय रोपनी खेतमा लगाएको कालो मार्सीधानको फाँट बाढीले बगाएको छ । अन्य स्थानमा मार्सी धान फल्ने फाँट पानीले भरिएका छन् । काटेका धान पनि खेतमै कुहिन थालेका छन् । पाकेर भित्र्याउने बेलाको बाली बाढीले बगाएको हो । वर्षाले मार्सी धान फल्ने फाँट बाढीमा परिणत भएका हुन् । भेरिखोला, हिमा र तिला नदीको बाढीले मार्सी फल्ने खेत बगर बनेका छन् । वर्षभरी खान पुुग्ने धानसहित खेत नै बगाएपछि त्यहाँका किसान पीडामा छन् । नियाँपानीका धनबहादुुर सार्कीले बाली सबै नोक्सान भएको बताए । ‘नदी किनारको खेतमा धान राम्रै उत्पादन हुुन्थ्यो,’ उनले भने, ‘यसपालि सबै बाढीले लग्यो ।’ अर्का स्थानीय जक्ति सार्कीले धान बालीमा नसोचेको क्षति भएको जनाए । उनी भन्छन्, ‘दर्जनौँ कृषकको धानसहित खेतबारी नै बगायो ।’

उत्पादन घट्ने

पाकेको बालीमा भएको नोक्सानीले यो वर्ष धान उत्पादन घट्ने भएको छ । कर्णालीमा ३० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण आइनसकेपनि विगतका वर्षहरूको तुलनामा उत्पादनमा निकै कमी आउने कृषि विकास निर्देशनालयको आकलन छ । प्रदेशका १० वटै जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको निर्देशनालयले जनाएको छ ।

वर्षाले बालीमा क्षति पुगेपछि कृषि विज्ञहरूले थप नोक्सानी हुनबाट बचाउन सकिने बताएका छन् । निर्देशनालयका निमित्त प्रमुख एवम् वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुुर रोकायले धान ढलेको खेतमा पानी जम्न नदिन निकासको व्यवस्था गर्न सकिने सुझाए । धानका बालालाई जोगाउन सके पनि धेरै हानि बेहोर्न नपर्ने उनी बताउँछन् । ‘मौसममा सुधार भइ घाम लागे फेरि सुकाएर धान झार्न सकिन्छ,’ उनले भने । खेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा निकास बनाउने र चिस्यान कम गर्न सके क्षति न्यूनीकरण गर्न सकिने रोकायको भनाइ छ । विज्ञहरूका अनुसार काटेको धान भिज्दा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने समस्या हुन्छ । खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतकै छेउमा ठूलो खाडल बनाएर पानी तर्काउन सकिने निर्देशनालयका बागवानी विकास अधिकृत तेजबहादुुर खनाल बताउँछन् । ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्ने उनले बताए ।

कर्णालीका अधिकांश जिल्लाका किसानले कार्तिकमा पानी नपर्ने पुरानो अनुभवका कारण यतिबेला खेतमा धान काटेर सुकाएका थिए । यसैबेला परेको वर्षाले धान खेतमै डुबेको हो । निर्देशनालयका अनुसार कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, सल्यान र कालीकोटका विभिन्न स्थानमा धानबालीमा बढी क्षति पुगेकोे छ । पछिल्ला वर्षहरूमा उत्पादनमा केही सुधार भए पनि प्रदेशका ६ जिल्ला अझै खाद्यान्नमा परनिर्भर छन् । सुर्खेत, दैलेख, सल्यान र रुकुम–पश्चिममा मात्र आवश्यक खाद्यान्न उत्पादन हुन्छ । जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा न्यून खाद्यान्न उत्पादन हुने गरेको छ । यी जिल्लाले खाद्य संस्थानकै चामलमा भर पर्नुपर्ने बाध्यता छ । त्यहाँ बर्सेनि खाद्य संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक झन्डै २३ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने सरकारी तथ्याङ्क छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार ०५:००