घन्किनै छाडे पञ्चेबाजा

नयाँ पुस्ता र स्थानीय सरकारले महŒव नबुझ्दा मौलिक बाजा ओझेलमा

कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा बाजा बज्थे । पछिल्ला केही वर्षयता बाजा बजाउन छोडिएको छ । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढेको छ । विशेषगरी कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा अहिले विरलै सुन्न पाइँदैन ।

नयाँ पुस्ता र स्थानीय सरकारले महत्व नबुझ्दा मौलिक बाजा ओझेलमा

पाँच वटा बाजाको समूहलाई पञ्चे बाजा भनिन्छ । नयाँ पुस्तामा बाजाको रूचि हराउँदै गएको छ । परम्परागत बाजा बजाउनेहरू व्यावसायिक बन्न नसक्दा बाजा नै लोप हुने अवस्थामा पुगेका छन् । केही दशकअधिसम्म पञ्चेबाजा भन्नेवित्तिकै बालबालिकादेखि वृद्धवृद्धा सबै हुरूकै हुन्थे । बढ्दो आधुनिकताले पञ्चेबाजा घन्किनै छोडे ।

पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । यी बाजा मनोरञ्जनका लागि मात्र बजाइने नभइ धार्मिक एवम् साँस्कृतिक महŒव पनि छ । नेपाली बाजालाई मौलिक संस्कृतिको धरोहर मानिन्छ । पञ्चेबाजा धार्मिक तथा सामाजिक उत्सव, विवाह, व्रतवन्ध, चाडबाड र जात्रा–मेला सबैतिर बजाइन्थ्यो ।

विगतमा विवाहमा अनिवार्यजस्तै थियो, पञ्चेबाजा । पञ्चेबाजा बज्ने वित्तिकै वल्लोपल्लो, तल्लोमाथिल्लो गाउँका मानिसहरू हेर्न र सुन्न ओइरो लाग्थे । बाजा बजेपछि सबैतिर उल्लास र उमंगको वातावरण हुन्थ्यो । मानिसहरूले पञ्चेबाजाको धुनले दिनभरीको कामको थकान समेत बिर्सन्थे ।

केही वर्षयता भने बाजाहरू कतै सुनिदैनन् । विहेवारी र चाडबाडमा समेत पञ्चेबाजा बजाउन छोडिएको छ । नयाँ पुस्ताले चासो नदिएपछि पञ्चेबाजाको ध्वन सुनिन छाडेको बुढापाकारू बताउँछन् । अहिले अधिकांश गाउँघरमा युवाहरू छैनन् । सबैजसो रोजगारीको लागि ठूला सहर र विदेशतिर छन् । पछिल्ला वर्षहरूमा बिहेको शैली पनि फेरिएको छ । पञ्चेबाजालाई पुरानो सँस्कृतिका रूपमा हेर्न थालिएको छ । दैलेखको ठाटिकाँध गाउँपालिका–२ का भोजने नेपाली पञ्चेबाजाको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् । ‘आधुनिक प्रविधि भित्रिएसँगै गाउँमा पञ्चेबाजा बजाउनै छोडियो,’ उनी भन्छन्,’ अहिले गाउँमा न बाजा भेटिन्छन्, न त बजाउनेहरू नै ।’ पञ्चेबाजा बजाउने समुदायले पछिल्लो समय आधुनिक बाजा बजाउने तथा अन्य पेसा अँगाल्ने गरेका छन् । ठाँटिकाधकै लालचने नेपालीले पुरानो चिनारीका रूपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताए । बाजा बजाएको ज्याला नपाउने समस्याले पनि बाजा बजाउनेहरूले पेसा परिवर्तन गर्दै गएको उनले सुनाए ।

नेपाली समुदायले परम्परागत रूपमा बजाउँदै आएको पञ्चेबाजा व्यावसायिक नबन्दा र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुदाँ लोप हुने अवस्थामा पुगेको हो । नेपाली लोकसंस्कृति झल्किने कर्णाली तथा सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा पनि लोप हुँदै गएको छ । परम्परागत बाजा बजाउनेको पेसालाई संरक्षण गर्न नसकिँदा तथा उचित ज्यालाको व्यवस्था नहुनुले अहिले यी बाजा लोप हुने अवस्थामा छन् । दैनिक आम्दानीको स्रोत बन्न नसक्दा बाजा बजाउने पेसाप्रति युवाहरूको आकर्षण छैन । पञ्चेबाजा निरन्तर आम्दानीको पेसा बन्न नसकेको हो । मौलिक बाजा बजाएर जीविकोपार्जन गर्न नसकिने बाजाकर्मीहरू बताउँछन् । मौलिक तथा पुराना बाजाको संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएका छैनन् । बाजा बजाउने सीप नयाँ पुस्ता हस्तान्तरण गर्ने र बाजाको संरक्षण गर्ने नीति पालिकाहरूसँग छैन ।

प्रकाशित मितिः   २३ आश्विन २०७८, शनिबार ०५:००