भित्रिने बढे निगरानी छैन

कर्णाली प्रदेशमा अहिले पनि कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दर उच्च छ । बुधवार मात्र प्रदेशभर एक सय २७ को परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । न्यून संख्यामा गरिएको परीक्षणमा पनि ठूलो संख्या संक्रमित भेटिने गरेका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा दैनिक सरदर २० प्रतिशत हाराहारी संक्रमण दर कायमै छ । चाडपर्व नजिकिएसँगै भिडभाड बढ्ने र त्यसले थप संक्रमण फैलाउने जोखिम देखिएको छ । पछिल्ला दिनमा देशभित्रकै विभिन्न सहर र भारतबाट कर्णाली आउनेको संख्या बढ्दो छ । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम ह्वातै बढेको हो । उनीहरू विना सावधानी सिधै गाउ“ गएका छन् । यसले गर्दा संक्रमणको खतरा झनै बढेको छ ।

दसैँ–तिहारको मुखमा चाड मनाउन फर्कनेको चाप भए पनि सीमा नाकाहरूमा सतर्कता अपनाइएको छैन । त्यहाँ स्वास्थ्य सहायता कक्ष राखिएका छैनन् । गत वर्ष संक्रमण तीव्र बनेका बेला प्रदेश सरकारले नाकाबाट आवतजावत गर्नेको स्वास्थ्य परीक्षण गर्ने गरेको थियो । ती स्वास्थ्य सहायता कक्षहरू अहिले हटाइएका हुन् । पछिल्लो समय यात्रुहरूको सामान्य चेकजाँच समेत नहुँदा निर्वाध रूपमा आउजाउ भइरहेको छ । संक्रमण व्यापक भएका सहरहरूबाट धमाधम आइरहेका नागरिक विना निगरानी कर्णाली भित्रिएका छन् । प्रदेशका मुख्य प्रवेशद्वारहरूमै बेवास्ता गर्दा चाडका समयमा संक्रमण भयावह बन्ने देखिएको छ । सरकारी संयन्त्र र नागरिक दुवैबाट लापरबाही भइरहेकाले थप जोखिमको अवस्था निम्तिन सक्ने चिकित्सकहरूले औंल्याएका छन् ।

स्वास्थ्य सुरक्षामा ध्यान नदिनु तथा भिडभाड हुने स्थानका साथै सीमा नाकामा निगरानी नहुनुले कोरोना संक्रमणको दर उच्च हुनसक्ने आकलन गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्का बताउँछन् । गत वर्ष संक्रमण नियन्त्रण गर्न कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा निगरानी गरिएको थियो । यात्रुको ज्वरो नाप्नुका साथै कोभिडसँग मिल्दोजुल्दो लक्षण भए एन्टिजेन तथा पीसीआर परीक्षण गरिन्थ्यो । प्रदेशका प्रवेशद्वार सुर्खेतको सीमाना बबई तथा पञ्चपुरीको जामु, सल्यानको कपुरकोटलगायतका स्थानमा हेल्थ डेस्क राखिएका थिए ।

स्वास्थ्य सतर्कता नअपनाए पुनः संक्रमण तीव्र रूपमा फैलिन सक्ने स्वास्थ्यकर्मीहरूले बताइरहेका बेला प्रदेश सरकारले भने सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत राखेको छैन । सरकारको फितलो व्यवस्थापन तथा नागरिकहरूमा स्वास्थ्य सुरक्षामा हेलचक्य्राइँ बढेपछि संक्रमण फेरि तीव्र हुनसक्ने देखिएको हो । तेस्रो लहरको संक्रमण नियन्त्रणका लागि योजना बनाएर पूर्वतयारी थालिएको बताइरहेको प्रदेश सरकारले सीमा नाकामा आवश्यक सतर्कता अपनाएको छैन । यसपटक नाकामा यात्रुहरूको स्वास्थ्य परीक्षण नगरेपनि सुरक्षाका मापदण्ड अपनाउन भनिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता सीता नेपाली बताउँछिन् । ‘संक्रमण नियन्त्रणका लागि विभिन्न माध्यमबाट सचेतनामूलक सूचना प्रसारण गरिएकै छ,’ उनले भनिन्, ‘सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर जोखिमजन्य गतिविधिको निगरानी र न्यूनीकरणमा काम गरिने छ ।’

भारतसँगको खुल्ला सीमानाका कारण कर्णालीमा संक्रमणको जोखिम बढी छ । यहाँका हजारौं नागरिक मजदुरी गर्न भारतका विभिन्न सहरमा पुग्छन् । उनीहरू मुख्य चाडपर्व मनाउन घर फर्कने गर्छन् । कर्णालीका युवाहरूको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो । प्रहरी तथ्याङ्कअनुसार यतिबेला भारतबाट फर्किएकाहरू बबई नाका भएर मात्र दैनिक एक सयको हाराहारीमा आइरहेका छन् । अन्य खुल्ला नाकाहरूबाट आउनेको संख्या पनि त्यस्तै छ । दसैँ नजिकिएकाले यो संख्या दिन प्रतिदिन बढ्ने प्रहरीको भनाइ छ ।

अहिले बढी भिडभाड हुने व्यापार व्यवसाय, उद्योगधन्दा तथा कार्यालयहरू समेत खुल्ला छन् । सार्वजनिक स्थलहरूमा नागरिकहरूको उत्तिकै भिड छ । संक्रमण दर उच्च रहेकै बेला स्वास्थ्य सुरक्षाप्रति बेवास्ता गरिएको हो ।

प्रकाशित मितिः   २१ आश्विन २०७८, बिहीबार ०५:००