हेलचक्य्राइँले बढाएको जोखिम

कोरोना भाइरस (कोभिड–१९)को महामारीले आक्रान्त बनाएको लामै समय भयो । अहिले पनि संक्रमणको जोखिम कायमै छ । नियन्त्रण हुन सकेको छैन । कर्णाली प्रदेशका सबैजसो जिल्लामा दैनिक नयाँ संक्रमित फेला परिरहेका छन् । प्रदेशमा संक्रमण दर सरदर २५ देखि ३० प्रतिशत हाराहारीमा छ । यो तथ्याङ्कले जोखिमयुक्त अवस्था देखाउँछ । अर्थात सतर्क रहनुपर्ने समय हो, यो । एकातर्फ कोरोनाको उच्च जोखिम छ, तर अर्कोतर्फ भने कोरोना संक्रमण बढाउन सघाउने गतिविधि पनि भइरहेका छन्् । हेलचक्य्राइँ बढ्दो छ । पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडिएको छ । दसैँ–तिहार जस्ता ठूला चाड नजिकिएसँगै मानिसहरूको भिडभाड बढ्न थालेको छ । सार्वजनिक स्थलहरूमा सुरक्षा सावधानी नभएकाले संक्रमण फैलिने खतरा बढी छ । पछिल्लो समय प्रदेशभित्रिने सीमा नाकाहरूमा कडाइ गर्न छोडिएको छ । विगतमाजस्तो अहिले नाकाहरूमा जाँच नहुने गरेको हो । चाडबाडको समय भएकाले भारतलगायत देशका विभिन्न सहरहरूबाट कर्णाली आउनेको संख्या दिनहुँ बढ्दो छ । विना सावधानी आवतजावत भइरहकाले यतिबेला संक्रमण बढ्न सक्ने चिकित्सकहरूको आकलन छ । उनीहरूका अनुसार कर्णालीमा संक्रमणको तेस्रो लहरको खतरा उच्च छ ।

स्वास्थ्य सतर्कतामा लापरबाही मात्र भएको छैन कोरोना परीक्षण गर्नेहरूको संख्यामा समेत कमी आएको छ । तर, परीक्षण गरिएकामध्ये ठूलो संख्यामा संक्रमण फेला पर्ने गरेको छ । स्वास्थ्य संस्थाहरूले पनि परीक्षणको दायरा घटाएका छन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको हो । चिकित्सकहरूका अनुसार कर्णालीमा कोरोना संक्रमणको जोखिम अहिले पनि उस्तै छ । टरिसकेको छैन । पछिल्ला केही सातायता संक्रमणका कारण सिकिस्त हुने बिरामीको संख्या भने घटेको छ । अस्पताल भर्ना हुने बिरामी न्यून छन् । यद्यपि संक्रमणको जोखिम भने उच्च छ । गएको वैशाख–जेठमा कर्णालीमा कोराना संक्रमण दर निकै माथि पुगेको थियो । संक्रमितको चाप अत्यधिक हुँदा अस्पतालहरूमा बेड नपाइने अवस्था थियो । त्यसबेला प्रदेशमा संक्रमण दर ९० प्रतिशतसम्म पुगेको हो । स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावमा अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका थिएनन् । त्यसयता विस्तारै ओरालो झरेको संक्रमण तीज पर्वका बेला फेरि उकालो लाग्यो । चाडपर्वमा भिडभाड बढेका कारण संक्रमण पुनः बढेको हो । तीजपछि कर्णालीमा संक्रमण दर स्थिर छ ।

भयावह अवस्था नभएपनि जोखिम रहिरहेकाले हरेक व्यक्तिले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूका अनुसार अहिले थोरै संख्यामा परीक्षण हुँदा संक्रमितको संख्या कम देखिएको हो । जोखिम नै नभए जसरी लापरबाही गर्दा संक्रमण झन बढ्ने देखिन्छ । जसले गर्दा फेरि जटिल अवस्था आउन सक्छ । त्यसैले सतर्कता अपरिहार्य छ । सावधानी जरुरी छ । संक्रमणलाई मद्दत पुग्ने गतिविधि नियन्त्रण गरेमा मात्र कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ ।

प्रकाशित मितिः   १५ आश्विन २०७८, शुक्रबार ०५:००