छोइनसक्नु बजार भाउ
- चाडमा महँगियो भान्सा, मारमा विपन्न परिवार
- उपभोक्ता अधिकारकर्मी भन्छन्–अनियन्त्रित मूल्यवृद्धि भयो
दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको बढी खपत हुने दसैँ–तिहार चाड नजिकिएपछि बजार अनियन्त्रित बनेको हो । व्यापारीहरूले हरेक सामानको दररेट मात्र बढाएका छैनन् उही सामान पसलैपिच्छे फरक मूल्यमा बेच्न थालेका हुन् । मनोमानी मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।
यतिबेला खाने तेल, दाल, चिनी, गेडागुडी, हरियो केराउलगायका भान्साका सामानको मूल्य आकासियको छ । व्यापारीले अहिले खाने तेलको मूल्यमा भारी वृद्धि गरेका छन् । भान्सामा नभइ नहुने र चाडपर्वमा बढी माग हुने भएकाले तेलको अस्वभाविक मूल्य लिने गरिएको छ । गतवर्ष यही समयमा प्रतिलिटर एक सय ८० पर्ने तोरीको तेल अहिले दुई सय ६० रूपैयाँ पुगेको छ । खाने तेलमा ६० प्रतिशत मूल्य बढाइएको हो । त्यस्तै, प्रतिलिटर एक सय ४० पर्ने भटमासको तेल अहिले बढेर दुई सय ४० पुगेको छ । केही महिना अघि एक सय ८० मा पाइने सनफ्लावर तेल बढेर प्रतिलिटर दुई सय ८० पुगेको छ ।
गत वर्ष यही सिजनमा प्रतिकेजी एक सय ३० पर्ने मासको दाल एक सय ७० देखि ८० रूपैयाँमा बिक्री गर्ने गरिएको छ । मसुरोको दालको मूल्यमा पनि अचाक्ली वृद्धि गरिएको छ । दुई महिनाअघि एक सय २० मा खरिद गरिरहेका उपभोक्ताले अहिले मसुरोको एक केजी दाललाई एक सय ५० रूपैयाँ तिर्नु परिरहेको छ । हरियो केराउको मूल्य पनि बढेको छ । गएको वर्षमा दसैँताका प्रतिकेजी ८० रूपैयाँ पर्ने केराउको मूल्य बढेर एक सय ५० पुगेको हो । हरियो केराउमा प्रतिकेजी ७० रूपैयाँ बढेको छ । त्यसैगरी अरहर दालको मूल्य पनि बढाइएको छ । उक्त दाल प्रतिकेजी एक सय ७५ रूपैयाँमा बिक्री गर्ने गरिएको छ । व्यापारीहरूले यीबाहेकका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढाएको गुनासो उपभोक्ताको छ । पछिल्ला दिनमा केही तरकारीहरूमा ६० प्रतिशतसम्म मूल्य बढेको छ ।
यसअघि पनि कोरोना महामारीको कारण आपूर्ति असहज भएको देखाउँदै तरकारी, फलफूल तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाइएको थियो । पछिल्लो समय चाडवाडको मुखमा भने बजार झनै छोइनसक्नु भएको हो । खाद्य वस्तुुको मूल्य आकासिय पनि अनुगमन तथा नियमन गर्ने निकायको सक्रियता भने कमजोर देखिएको छ । उपभोक्ता अधिकारकर्मी आकाशतारा वयक भन्छन्, ‘अहिले बजार अनियन्त्रित छ । यसैबेला नियामक निकायको उपस्थिति फितलो देखिन्छ ।’ उनले तीनै तहका सरकारको बेवास्ताका कारण व्यवसायीहरूको मनोमानी चलेको बताए ।
संघीयतापछि सबै तहका सरकारले अनुगमन तथा नियमनको अधिकार पाएपनि बजार झन् अव्यवस्थित बनेको वयक बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका प्रदेश संयोजक समेत रहेका उनले बजारमा भइरहेको बेइमानीलाई नियन्त्रण गर्न स्थानीय तहहरू बढी सक्रिय रहनुपर्ने जनाए । अहिले ऐन÷कानुन बनाएरै बजार अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । तर, कर्णालीका ७९ स्थानीय तहमध्ये वीरेन्द्रनगरले मात्र उक्त ऐन बनाएको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि बजार अनुगमनमा भने सक्रियता बढाउन सकेको छैन ।
चाडपर्व नजिक अस्वभाविक रूपमा भइरहेको मूल्यवृद्धिले विपन्न परिवार थप समस्यामा परेका छन् । वीरेन्द्रनगर– ६ की नन्दा बडुुवालले खाद्य वस्तुमा भएको मूल्य वृद्धिले आफूहरू मारमा परेको जनाइन् । चाडपर्वको मौका छोपेर व्यापारीले प्रत्येक सामानमा बढी मूल्य असुल्ने गरेको समेत उनको गुनासो छ । ‘हामीजस्ता विपन्न परिवारलाई बजारको मूल्यले ढाड सेकेको छ,’ उनले भनिन्, ‘यस्तो बेला सरकारी निकायले बजारमा निगरानी बढाउनुपर्ने हो ।’ बडुवालले केही दिन पहिले मात्र प्रतिकेजी तीन सयमा पाइने चियापत्तिको अहिले पाँच सय रूपैयाँ तिर्नपरिरहेको सुनाइन् ।
गत वर्षको तुुलनामा यो पटक धेरैजसो दैनिक उपभोग्य सामानको मूल्य दोब्बरले बढेको उपभोक्ताले बताएका छन् । वीरेन्द्रनगर–३ तातापानीकी देवी भटराई खाद्यान्नमा भइरहेको मनपरी मूल्यवृद्धिले सर्वसाधारणको जीवन कष्टकर बनेको बताउँछिन् । चाडपर्वमा खाद्य वस्तुको माग बढ्ने भएकाले व्यापारीहरूले मूल्य बढाउने गरेको उनको भनाइ छ । उपभोक्ताले भनेझै बजारमा मनोमानी भएको कुरा व्यवसायीहरू भने स्वीकार्दैनन् । उनीहरू भन्छन्, ‘मूल्य बढेको छ । तर, व्यापारी आफैँले कृतिम रूपमा बढाएका होइनन् ।’ खाद्यान्न व्यवसाय वासुदेव शर्माले अहिले अधिकांश खाद्य सामग्रीमा ६० प्रतिशतसम्म मूल्य बढेको बताए । मूूल्य यहाँका स्थानीय व्यापारीले नबढाई उत्पादन गर्ने ठाउँबाटै बढेर आएको उनको दाबी छ । सामान्यतया व्यवसायीले खरिद गरेको खाद्य सामग्रीमा २० प्रतिशतसम्म मुनाफा लिएर बिक्री गर्न पाउँछन् । बजारमा मूल्यवृद्धि मात्र नभइ अन्य बेथितिहरू पनि उस्तै छन् । माग बढी भएका बेला कतिपय व्यापारीहरूले कृतिम अभाव र कालोबजार समेत गर्दै आएका छन् ।
प्रकाशित मितिः १३ आश्विन २०७८, बुधबार ११:००
साझा बिसौनी ।