तालागाउँमा पुगे स्वास्थ्यकर्मी
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
दुई जनाको ज्यान गरी सुर्खेतमा फैलिएको संक्रमणका कारण थला परेका बिरामीहरूको उपचार सुरु भएको छ । जिल्लाको लगाम गाविसमा रहेको तालागाउँमा संक्रमण फैलिएको दुई सातापछि बिहीवार दिउँसो मात्र स्वास्थ्यकर्मी त्यहाँ पुगेर उपचार सुरु गरेका हुन् । बिहीवार पहिलो दिन संक्रमणका कारण थला परेका एक सय ३२ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरेर औषधि समेत वितरण गरिएको छ ।
अछाम र डोटीसँग सीमाना जोडिएको सो स्थानमा संक्रमणका कारण गाउँनै थलापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली खटाएको थियो । संक्रमित क्षेत्र विकट भएको र ढिला गरी जानकारी बाहिर आएपछि बुधवार मात्र त्यसतर्फ स्वास्थ्यकर्मी र औषधि पठाइएको थियो । स्वास्थ्यकर्मीको टोलीले बिहीवार दिनभर स्थानीय विद्यालयमा शिविर स्थापना गरेर बिरामीहरूको उपचार सुरु गरेको हो । यस्तै उनीहरूलाई आवश्यक औषधि समेत वितरण गरिएको उपचारमा संलग्न लगाम स्वास्थ्य चौकीका इन्चार्ज मोहन रानाले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरोका कारण सिङ्गो गाउँका प्रायः सबै जना बिरामी भएर थला परेका छन् ।
गाउँका सबैजसो बिरामी भएपछि उपचारका लागि स्थानीय विद्यालयमा स्थापना गरिएको शिविरसम्म बिरामीलाई पु¥याउन समेत कठिनाइ उत्पन्न भएको छ । अधिकांश बिरामीलाई छिमेकी गाउँबाट गएका मानिसहरूले बिहीवार बोकेर स्वास्थ्यकर्मीले स्थापना गरेको शिविरमा पु¥याएका थिए । अधिकांश बिरामीहरू अझै शिविरसम्म पुग्न नसकेको स्थानीय बासिन्दाले बताए । स्थानीय देवसरा साँवदले भनिन्, ‘गाउँका कोही घर खाली छैनन्, सबै घरमा बिरामी छन् । अब उनीहरूलाई कसरी डाक्टर भएको ठाउँसम्म लैजाने, डाक्टर पनि सबैको घरमा त के आउलान् र ?’ साथै उनले गाउँमा आएका स्वास्थ्यकर्मीहरूले आफूहरूलाई केवल सिटामोल मात्र दिएको गुनासो गरिन् । सिटामोलले मात्र बिरामी निको नहुने भन्दै उनले विशेषज्ञ डाक्टर र थप औषधि पठाउन माग गरिन् । उनका अनुसार स्वास्थ्यकर्मीले सिटामोल मात्र वितरण गरेका छन् । सिटामोलको भर परेकै कारण गाउँका दुई जनाले ज्यान गुमाएको भन्दै उनले भरपर्दो उपचारको व्यवस्था हुनुपर्ने बताइन् ।
गाउँमा फैलिएको संक्रमणका कारण शुक्रवार मात्र स्थानीय मानसिं साँवद र खड्कबहादुर साँवदको ज्यान गएको थियो । अहिले पनि गाउँमा डेढ सय भन्दा बढी बिरामी छन् । स्थानीय शिक्षक देवबहादुर साँवदका अनुसार केही बिरामीको अवस्था गम्भीर छ । तर, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले भने अबको तीन दिनभित्रमा संक्रमण नियन्त्रणमा आउने दाबी गरेका छन् । प्रभावित क्षेत्र विकट भएका कारण केही बिरामीहरू शिविरसम्म आउन नसकेको भन्दै स्वास्थ्यचौकीका इन्चार्ज रानाले रोग नियन्त्रण नहुँदासम्म आफूहरू गाउँमै बस्ने
बताए । साथै उनले दूषित पानीका कारण संक्रमण फैलिएको र गाउँनै थला परेको बताउँदै भने, ‘गाउँलेले पिउने पानी खराब पाइयो, अधिकांशले कर्णाली नदीको पानी खाने र नुहाउने रहेछन् । मौसममा आएको परिवर्तनसँगै त्यसले समस्या ल्यायो ।’ बिरामीहरू मध्ये ७० प्रतिशत बालबालिका र अधिकांश महिला भएको उनको भनाइ छ । उनका अनुसार बिरामीहरूमा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्ता लक्षणहरू देखिएका छन् ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले संक्रमित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधि पुगिसकेको जनाएको छ । कार्यालयका प्रमुख बसन्त अधिकारीले बिरामीहरूको उपचार सुरु भइसकेको भन्दै आफूहरू संक्रमण नियन्त्रणका लागि प्रयासरत रहेको जानकारी दिए । भाइरल ज्वरोको समस्या देखिएको भन्दै उनले आवश्यकता अनुसार थप औषधि र स्वास्थ्यकर्मी पठाइने बताए । मौसम परिवर्तनका कारण भाइरल ज्वरोको प्रकोप बढेको भन्दै उनले त्यसलाई तत्काल नियन्त्रणमा ल्याउने समेत दाबी गरे । संक्रमणका कारण बिरामी भएकाहरूको उपचारका लागि कुनै कसर बाँकी नराख्ने समेत उनको भनाइ छ ।
‘सरसफाइमा ध्यान दिऔं’
बसन्त अधिकारी (जिल्ला स्वास्थ्य कार्यालय प्रमुख) |
गर्मीयाम सुरु हुँदैछ । गर्मीयामको सुरु भएसँगै विभिन्न रोगको संक्रमण देखा पनि पर्न थालेका छन् । विशेष गरी भाइरल ज्वरोको प्रभाव देखिन थालेको छ । यो मौसममा बढी संक्रमण हुनसक्ने रोग भाइरल ज्वरो हो । मौसम परिवर्तनसँगै ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकी लाग्ने जस्ता लक्षणहरू भाइरल ज्वरोको लक्षणहरू हुन् ।
मौसम परिवर्तन अनुसार आफूलाई बचाइ राख्नको लागि खानेपानीमा विशेष ध्यान दिन जरुरी छ । यदि भाइरलको लक्षण देखिएमा बिरामीलाई तुरुन्त स्वास्थ्य चौकी लगिहाल्नुपर्छ । साथै घरेलु प्राथमिक उपचार पनि गर्न सकिन्छ । बिरामीलाई उपचारमा खानेपानी उमालेर खान दिने, हाँच्छ्यू गर्दा मुख छोपेर गर्ने, यो रोग हावाका माध्यमबाट सर्ने भएकाले हात सकभर नमिलाउने, मिलाउनै परेमा साबुनपानीले राम्रोसँग हात धुने
गर्नुपर्दछ ।
भाइरल हावाका माध्यमबाट सर्ने भएकाले संक्रमित व्यक्तिदेखि टाढा रहने तथा बिरामीको हेरचाह गरिसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ । हामी आफैले मौसम परिवर्तनसँगै स्वास्थ्यमा ध्यान दियौं भने भाइरल रोगबाट बच्न सकिन्छ । भाइरल ज्वरो जहाँसुकै र जोसुकै उमेर समूहका व्यक्तिलाई पनि हुने भएकाले यसबाट बच्नको लागि सधैं खाना र पानीमा ध्यान दिनु पर्दछ । साथै गर्मीयामसँगै विभिन्न रोग तथा संक्रमण देखिने हुँदा सधैं स्वास्थ्यमा ध्यान दिन जरुरी छ । झाडापखाला, एलर्जी जस्ता विभिन्न रोगहरू देखापर्ने हुँदा यसबाट बच्न सधैं मुखमा माक्स लगाउने र खानेपानीमा ध्यान दिनुपर्दछ । मौसम अनुसार खानामा पनि ध्यान दिन जरुरी छ । (कुराकानीमा आधारित)
साझा बिसौनी संवाददाता ।