कर्णालीमा कांग्रेस अधिवेशन

मुख्य पदमा महिलालाई उपेक्षा

हुम्लाको खार्पुनाथ गाउँ कार्यसमितिमा निर्वाचित कांग्रेस नेतृत्व

नेपाली कांग्रेस यतिबेला पार्टीका विभिन्न तहका कार्यसमितिहरूको नेतृत्व छनोटमा होमिएको छ । १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएका जिल्लामा शनिवारदेखि गाउँ/नगर अधिवेशन भइरहेका छन् । कर्णालीका आठ जिल्लाका पालिकाहरूमा अधिवेशन चलिरहेका हुन् । ती जिल्लाका गाउँ/नगरमा अहिले नेतृत्व चुन्ने काम धमाधम भइरहेको छ । शनिवार र आइतवार अधिवेशन सम्पन्न भएका ठाउँमा केहीमा सहमति भएको छ भने अधिकांशमा मतदानमार्फत कार्यसमिति चुनिएको हो । कतिपयमा अझै कार्यसमिति चयन हुन सकेका छैनन् । सहमतिको प्रयास भइरहेका कारण नेतृत्व छनोटमा समय लागेको नेताहरूले बताएका छन् ।

आइतवार साँझसम्मको नतिजा हेर्दा गाउँ÷नगरको नेतृत्वमा प्रदेशभर महिलाको संख्या नगन्य छ । स्थानीय कमिटीका मूल नेतृत्वमा मात्र होइन पदाधिकारीमा समेत महिलाको सहभागिता न्यून देखिएको हो । वडा अधिवेशनबाट समेत थोरै महिलाहरू नेतृत्वमा आएका छन् । कांग्रेसको यसपटकको अधिवेशनमा नेतृत्व लिन युवाहरूको आकर्षण देखिएपनि महिला उपस्थिति निकै कमजोर देखिएको हो । विधानको बाध्यकारी व्यवस्थाबाहेकका पदमा महिलालाई नेतृत्व तहमा ल्याइएको छैन ।

दैलेखका ११ स्थानीय तहमध्ये आइतवारसम्म कांग्रेसले सात वटा पालिकामा नेतृत्व छानेको छ । चार वटामा अधिवेशन सुरू भए पनि कार्यसमिति चयन हुन बाँकी नै छ । अधिवेशन सकिएका सात वटै गाउँ/नगरमा एक जना महिला पनि नेतृत्वमा पुगेनन् । बाँकी पालिकामा पनि सभापतिका लागि महिलाहरूले दाबी गरेका छैनन् । यसले गर्दा दैलेखका पालिकाको मूल नेतृत्वमा महिला सहभागिता नहुने निश्चित छ । जिल्लामा कांग्रेसले वडा तहमा दुई जनालाई मात्र सभापतिको जिम्मेवारी दिएको छ । दुुल्लू नगरपालिका–३ मा १९ वर्षीय स्वस्तिका महत वडा सभापतिमा चुनिएकी छन् भने नौमुुले गाउँपालिका–८ मा मनसरा थापा वडा सभापति बनेकी हुन् ।

त्यस्तै, कालीकोटमा रहेका नौ वटा स्थानीय तह सबैमा कार्यसमिति सर्वसम्मत् भइसकेका छन् । त्यहाँ पनि गाउँ/नगरको मुख्य नेतृत्वमा महिला आएका छैनन् । जिल्लाका ८२ वटा वडामा कांग्रेसले एक वडामा मात्र महिलालाई सभापति बनाएको हो । अन्य वडा तथा पालिका तहमा महिलालाई कार्यकारी पदमा ल्याइएको छैन ।

१० वटा स्थानीय तह रहेको सल्यानमा गाउँ/नगर अधिवेशन सकिएको छ । जिल्लामा कांग्रेसले आठ वटा पालिकामा सर्वसम्मत् कार्यसमिति बनाएको हो । दुई वटामा भने निर्वाचनमार्फत नेतृत्व छनोट गरिएको छ । जसमध्ये एउटा पालिकाको नेतृत्वमा महिला सहभागिता सुनिश्चित भएको छ । निर्वाचनमार्फत छत्रेश्वरी गाउँपालिका सभापतिमा सीता केसी निर्वाचित भएकी छन् । गाउँपालिका उपाध्यक्ष समेत रहेकी केसीले पुरुष उम्मेदवारलाई पराजित गरेर सभापतिमा निर्वाचित भएकी हुन् ।

कर्णालीका अपवादबाहेक सबैजसो पालिकामा पुरुष नै नेतृत्वका लागि अघि सरेका छन् । महिलाले नेतृत्वमा जान दाबी नै नगरेका हुन् । कार्यकारी जिम्मेवारी लिने रूचि देखाएपनि महिलाहरूलाई नेतृत्वमा जाने वातावरण अझै तयार हुन नसकेको दैलेखकी कांग्रेस नेतृ बासना थापा बताउँछिन् । उनका अनुसार गाउँ/नगरको नेतृत्वमा मात्र होइन हरेक कार्यसमितिमा संख्यात्मक रूपमा पनि महिलाको सहभागिता निकै कम छ । बाध्यकारी भएका पदमा मात्र महिलालाई जिम्मेवारी दिने गरिएको छ । पार्टी विद्यानको व्यवस्थाअनुसार पदाधिकारीमा महिलाको सूनिश्चितता गरिएको छैन । जसले गर्दा कार्यकारी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर देखिएको हो । कांग्रेस विद्यानमा हरेक कार्यसमितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था मात्र छ । प्रायः महिलालाई हरेक समितिमा सदस्यमा मात्र समेट्ने प्रवृत्ति यो पटक पनि देखिएको नेतृ थापाले बताइन् । ‘महिला नेतृत्व लिन तयार छन्,’ उनले भनिन्, ‘पुरुषहरू हाबी भएका कारण खुम्चिएर बस्नुपर्ने बाध्यता छ ।’ आरक्षणमार्फत केही पद सुरक्षित भए पनि नेतृत्वका लागि पर्याप्त नहुने उनको भनाइ छ ।

त्यसैगरी, हिमाली जिल्ला हुम्लामा पनि नेतृत्व तहमा महिला सहभागिता देखिएको छैन । सात पालिका रहेको हुम्लामा कांग्रेसले महिलालाई कार्यकारी पदमा ल्याएको छैन । हुुम्लाको नाम्खा, सिमकोट, खार्पुुनाथ र ताजाकोट गाउँपालिकामा पुरुषको नेतृत्वमा सर्वसहमति कार्यसमिति चयन भएका छन् भने बाँकी ठाउँमा सहमतिको प्रयास जारी रहेको जिल्लास्थित नेताहरूले बताएका छन् । अन्य पालिकामा पनि महिलाले नेतृत्वका लागि दाबी नगरेको बुझिएको छ ।

जाजरकोटका सबै स्थानीय तहमा पुरुष नेतृत्वमा गएका छन् । उक्त जिल्लाका पालिकाहरूमा महिलालाई कांग्रेसले कार्यकारी भूमिकामा नलिएको हो । सात पालिकामध्ये चार वटामा सर्वसम्मत भएको छ भने तीन ठाउँमा चुनावमार्फत नेतृत्व छानिएको छ । परिणाम आउन बाँकी र अधिवेशन सुरू नभएका जिल्लाका स्थानीय तहमा पनि महिला मूल नेतृत्वमा आउने सम्भावना झिनो छ । किन कि नेतृत्व लिन दाबी गरिरहेका महिलाको संख्या न्यून छ ।

जुम्लाले चार वटा स्थानीय तहले सभापतिको टुङ्गो लगाएका छन् । जिल्लाको हिमा, सिंजा, कनकासुन्दरी र गुठिचौर गाउँपालिकामा कांग्रेसले कार्यसमिति चयन गरेको हो । चारवटा स्थानीय तहमा सर्वसहमति गरेर नेतृत्व छानेको कांग्रेसले ती पालिकामा महिलालाई नेतृत्व दिएको छैन ।

त्यस्तै, रुकुम–पश्चिममा पुरूषहरू मात्र कार्यकारी नेतृत्वमा आएका छन् । कांग्रेसले रुकुम–पश्चिमका स्थानीय तहमा महिलालाई मूल नेतृत्वमा चयन गरेको छैन । केही पालिकामा मात्र न्यून संख्यामा महिलाहरू पदाधिकारीमा आएका छन् भने अन्यमा कार्यसमिति सदस्य मात्र राखिएको छ ।

युवाको वर्चस्व

कर्णालीका अधिकांश जिल्लाका वडा तथा गाउँ÷नगरमा युवापुस्ता नेतृत्वमा आएका छन् । अघिल्ला अधिवेशनहरूको तुलनामा कांग्रेसमा यसपटक युवाहरूको आकर्षण बढेको हो । स्थानीय तहका विभिन्न कार्यसमितिमा तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरू चुनिएका हुन् । सहमतिमा होस् वा निर्वाचनमा भिडेर गाउँ÷नगरका समितिमा युवापुस्ताको वर्चस्व देखिन्छ । पुराना पुस्तालाई ‘कन्भिन्स’ गर्दै नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप गरिरहेका हुन् । कांग्रेसको शीर्ष नेतृत्वमा अहिले पनि ७५ वर्ष नाघेका नेताहरू छन् । त्यही उमेर समूहका नेताहरूले नै पार्टीको मूल नेतृत्व दाबी गरिरहेका बेला तल्लो तहका कार्यसमितिमा भने युवाहरूको लस्कर लागेको हो ।

सुर्खेत र डोल्पाको सदस्यता टुङ्गियो

प्रदेशका सुर्खेत र डोल्पामा हालसम्म वडा अधिवेशन नै हुन सकेको छैन । ती जिल्लामा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशनमा ढिलाइ भएको हो । दुवै जिल्लाको शनिवार साँझ मात्र सदस्यको नामावली टुंग्याइएको छ । सुर्खेतमा ११ हजार दुई सय २१ जनाको क्रियाशील सदस्य आएको छ । आइतवारसम्म वडा अधिवेशनको मिति भने तोकिएको छैन । कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीले अधिवेशन केन्द्रले नै तोक्ने भएकाले मिति तय भइनसकेको बताए । ‘दसैँ बिदा अघि नै वडा र गाउँ÷नगरका अधिवेशन सक्ने गरी कार्यतालिका सार्वजनिक हुन्छ होला,’ उनले भने । त्यस्तै, डोल्पाको क्रियाशील सदस्य विवाद पनि मिलेको छ । केन्द्रले उक्त जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । त्यहाँ पनि दसैँअघि नै पालिकास्तरको अधिवेशन हुने बताइएको छ ।

प्रकाशित मितिः   ११ आश्विन २०७८, सोमबार ०५:००