अस्तव्यस्त राजधानी

आगनमै छन् दुई सरकार, नागरिकलाई पाइलैपिच्छे सास्ती

आगनमै छन् दुई सरकार, नागरिकलाई पाइलैपिच्छे सास्ती

वीरेन्द्रनगर बजार क्षेत्र अव्यवस्थित बन्दै गएको छ । सडकमा खाल्डाखुल्डी, फुटपाथ अतिक्रमण तथा अन्य जीर्ण संरचनाका कारण कर्णालीको प्रदेश राजधानी कुरूप बनेको हो । अव्यवस्थित सडक र त्यसको छेउमा रहेका पोलमा विद्युतका तारहरू लथालिङ्ग छन् । फुटपाथ अतिक्रमणको समस्या उस्तै छ । राजधानी व्यवस्थित नहुँदा नागरिकहरूले सास्ती खेप्दै आएका हुन् ।

केही वर्ष पहिलेसम्म ‘सुन्दर नगरी’ भनेर चिनिने वीरेन्द्रनगर बढ्दो जनघनत्वसँगै अस्तव्यस्त बनेको छ । नगरपालिकाले बढ्दो सहरीकरणलाई लक्षित गरेर व्यवस्थित नगर बनाउने ठोस योजना ल्याउन सकेको छैन । सडक च्यापेर गरिने व्यवसायलाई समेत पालिकाले व्यवस्थापन गर्न नसकेको हो । हरेक वर्ष फुटपाथ हटाउने योजना अनुसार केही दिन बजारमा देखिने नगरपालिकाले त्यसलाई निरन्तरता दिएको पाइँदैन । जसले गर्दा फुटपाथ अतिक्रमण तीव्र रूपमा भइरहेको छ । नगर व्यवस्थित गर्ने जिम्मेवार निकाय नगरपालिका हो । नियामक निकायको बेवास्ताका कारण वीरेन्द्रनगर बजार क्षेत्र अस्तव्यस्तसँगै असुरक्षित बनेको वीरेन्द्रनगरबासीको गुनासो छ ।

अतिक्रमण रोक्न नसक्नु तथा जीर्ण संरचनाको मर्मत तथा व्यवस्थापन नहुँदा नगरको सौन्दर्य नै बिग्रिदै गएको छ । मुख्य बजारमा बिजुलीका पोलहरूमा राखिएका तार लथालिङ्ग छन् । नगरका सडकका नाला, ढल निकास र ट्राफिक व्यवस्थापन पनि व्यवस्थित छैन । यसले एकातिर नगरक्षेत्र कुरूप देखिन्छ भने अर्कोतिर सडकमा यात्रा गर्नेहरू असुरक्षित बनेका छन् । वीरेन्द्रनगर–६ का गमेन्द्र पाण्डे राजधानीका सडक र अन्य पूर्वाधारको विकासमा नगरपालिकासँगै प्रदेश सरकारले पनि उत्तिकै चासो दिनुपर्ने बताउँछन् । यहाँका भौतिक संरचना व्यवस्थित नहुँनु तथा निर्माण थालिएका पूर्वाधारले प्राथमिकता नपाउनु दुखद् भएको उनले बताए ।

केही समययता मंगलगढी, घण्टाघरजस्ता मुख्य चोकका सडकमा व्यापार थाप्नेहरू बढ्दै गएका छन् । नगरपालिकाले भने उनीहरूको उचित व्यवस्थापन गर्न सकेको छैन । मुख्य सडकका चोक नै अव्यवस्थित बन्दा पनि पालिकाले चासो नदिएको हो । यता वीरेन्द्रनगर नगरपालिका वरिष्ठ प्रशासन सहायक यामलाल गिरी फुटपाथ हटाउने कामलाई तीव्रता दिएको दाबी गर्छन् । उनले भने, ‘कोरोना महामारीले घरखर्च चलाउन मुस्किल परेकाहरूलाई सहज होस भनेर त्यति कडाइ गरिएको थिएन,’ उनले भने, ‘अहिले फुटपाथ हटाउने कर्मचारीहरू खटिइरहेको अवस्था छ ।’ उनका अनुसार नगरले सडक छेउमा व्यापार गर्नेहरूलाई त्यहाँबाट हटाउन दैनिक चार जना कर्मचारी परिचालन गर्ने गरेको छ । गिरीले तिहारसम्म वीरेन्द्रनगरको फुटपाथ खाली गरिसक्ने गरी योजना बनाइएको बताए । नगरले फुटपाथमा व्यवसाय गर्नेहरूलाई छुट्टै जग्गा उपलब्ध गराएर सार्नेबारे छलफल चलिरहेको पनि गिरीले जनाए । ‘त्यसका लागि नगरपालिकाको आफ्नै जग्गा नभएकाले र जग्गाको खोजीमा छौँ,’ उनले भने, ‘उपयुक्त ठाउँ पाइएको छैन ।’

नगरक्षेत्रमा केही महिना पहिले स्तरोन्नती गरिएका नयाँ सडकहरूमा पनि खाल्डाखुल्डी पर्न थालेका छन् । गुणस्तरीय काम नहुँदा ती सडकहरू छिटै बिग्रिएका हुन् । वीरेन्द्रनगरको प्रवेशद्वार सुुब्बाकुुनादेखि धुलियाबिट मंगलगढी, लाटीकोइली र काँक्रेविहार जाने मुख्य सडकहरू व्यवस्थित छैनन् । वीरेन्द्रनगर उपत्यकाभित्रका सबैजसो सडक पछिल्लो समय निकै व्यस्त रहन्छन् । यी सडकमा सवारी साधनको अत्यधिक चाप छ । यस्ता जीर्ण सडकले दुर्घटनाको जोखिम उच्च छ । भित्रि सडकको अवस्था झनै नाजुक छ । निर्माण थालिएका केही सडकहरू लामो समयदेखि अलपत्र छन् ।

वीरेन्द्रनगरको मंगलगढी चोकबाट लाटीकोइली हुँदै ऐतिहासिक पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडक स्तरोन्नतीको कामले गति लिन सकेको छैन । नगर र प्रदेश सरकारको लगानीमा निर्माण थालिएको सडक समयमै नबन्दा स्थानीयहरू मर्कामा परेका छन् । हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने सडक सास्तीले प्रदेश राजधानीबासी आजित छन् । ‘पानी परेका बेला सडकमा पैदल हिँड्न गाह्रो पर्छ’, वीरेन्द्रनगर वडा–९ का मनोज पुनले भने, ‘लामो समयदेखि निर्माण थालिएका सडक पनि बनेका छैनन् ।’

प्रकाशित मितिः   १० आश्विन २०७८, आईतवार ०५:००