चार कक्षामा पढ्दा विवाहको टुङ्गो

कानुन व्यवसायी कृष्णबहादुर हमाल र उनकी जीवनसाथी सावित्री हमाल
पिता दानबहादुर हमाल र माता धर्मकुमारी हमालको कोखबाट २०१४ सालमा दैलेखको मालिका गाविसमा जन्मिएका कृष्णबहादुर हमाल पेसाले कानुन व्यवसायी (वकिल) हुन् । २०४२ सालदेखि कानुन व्यवसायमा संलग्न उनले हालसम्म थुप्रै मुद्दाहरू हेरेका छन्, कहिले पक्ष भएर त कहिले विपक्ष भएर । धेरैजसो मुद्दाहरू उनले जितेका पनि छन् त कुनैमा हारेका छन् । तर, हमालले श्रीमती सावित्री हमालको मन भने सधैं जित्न सफल भएका छन्, कहिल्यै हारेका छैनन् । कानुनी मामिलामा निकै अगाडि रहेका हमाल जुनसुकै मुद्दा पनि सहज रूपमा सुल्झाए जस्तै श्रीमतीको मन पनि सहज रूपमा नै जितिरहेका छन् । 
सानो तिनो कुरामा नरिसाउने हमाल जसरी वकिलको जिम्मेवारीमा सफल छन्, उत्तिकै सफल छन् एक श्रीमान्को जिम्मेवारीमा पनि । सावित्रीको नजरमा उनी एक असल श्रीमान्को रूपमा रहेका छन् । ‘श्रीमान् श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन् ।’ जसरी रथ चल्नलाई दुई वटै पाङ्ग्राको आवश्यकता पर्दछ त्यसरी नै जीवन बिताउन जीवनसाथीको आवश्यकता पनि पर्दछ । श्रीमान् र श्रीमती भनेका यस्ता साथी हुन्, जुन सबैभन्दा गहिरो नाता र सम्बन्ध रहेको हुन्छ । हमालले पनि सावित्रीको मनमा आफूलाई यस्तै एउटा असल जीवनसाथीको रूपमा स्थापित गराउन सफल भए ।
हमालको बाल्यकाल गोठालो गएर, साथीसङ्गीसँग खेल्दै र पढ्दै बित्यो । उनी बाल्यकालमा साथीहरूसँग घुलमिल हुने र खेल्ने स्वभावका थिए । कक्षा ५ सम्म दैलेखकै प्राविमा पढेका थिए भने कक्षा ६ देखि दैलेख बजारको त्रिभुवन उच्च माविमा पढे । त्यहींबाट कक्षा १० को परीक्षा दिएर एसएलसी दिन जन उच्च मावि वीरेन्द्रनगरमा आएका थिए । उनी सानैदेखि शिक्षक पेसा खुबै मन पराउँथे । तर, उनले सोच जस्तो उनको जीवन हुन सकेन । उनी एसएलसी पास भएपछि के पढ्ने के गर्ने भन्ने अन्यौलमा थिए । एसएलसी दिएपछि अस्थायी शिक्षक भएर अध्यापन गराइ रहेका पनि थिए । त्यतिकैमा दलबहादुर बिसीले उनलाई कानुनी विषय पढ्ने सल्लाह दिए ।
हमाललाई कानुनी विषय पढेपछि के बनिन्छ र किन पढ्नुपर्छ भन्ने थाहा थिएन । उनले त्यतिबेला नयाँ आएको विषय पढ्दा राम्रो हुन्छ भनेपछि पढेका थिए । उनले भने, ‘एसएलसी पास भएपछि के विषय पढ्ने भन्ने अन्यौलमा थिएँ, अरुको सुझावका नजानेरै कानुन विषय लिएर पढें ।’ कानुन विषय पढ्ने इच्छा नहुँदा नहुँदै पनि उनले कानुन विषय लिएर पढें । शिक्षक पेसा छोडेर कानुनी विषय लिएर आइएल पास गरे । तर, उनको रुचिको पेसा भनेको शिक्षक थियो । उनले भने, ‘मेरो रुचिको पेसा भनेको शिक्षक थियो वकिल बन्न पुगें ।’ आइएल गरिसके पछि उनी फेरि तीन वर्ष जति शिक्षण पेसामा नै लागे । घरपरिवार सबैको सल्लाहमा उनी फेरि बीएल पढ्न काठमाडौं गए । बीएल पढ्दै गर्दा उनले सुब्बामा नाम निकालेर जागिर पनि गरे । उनले थपे, ‘मैले काठमाडौंमा पढ्दै गर्दा सुब्बामा जागिर गर्थें ।’ २०४२ सालमा सरकारी जागिर छोडेर उनी सुर्खेतमा कानुनी सहायता केन्द्र खोलेर बसे । हालसम्म उनी कानुनी सहायता केन्द्रमा नै सबै पीडित व्यक्तिहरूलाई कानुनी सहायता दिँदै आइरहेका छन् । मान्छे सरकारी जागिरको लागि तछाड–मछाड गरेका हुन्छन् तर, हमाल भने सरकारी जागिर छाडेर कानुनी पेसालाई आफ्नो धर्म नै सम्झेर लागि परेका छन् ।
हमाल कक्षा चारमा पढ्दै थिए, त्यतिबेला नै उनी कसैको नजरमा ज्वाइँ बनी सकेका थिए । उनी अरु कसैको ज्वाइँ नभएर कुलबहादुर शाहीको ज्वाइँ भएका थिए । छोरी नदिएरै हमाललाई शाहीले ज्वाइँ बनाएका थिए । उनले भने, ‘म कक्षा चारमा पढ्दै गर्दा मेरो बुबा र ससुराले  मेरो विवाहको कुरा छिनिसक्नु भएको थियो ।’ उनको विवाहको कुरा त छिनिएको थियो तर, को सँग भन्ने थाहा थिएन । उनको पढाइ निरन्तर अगाडि बढिरहेको थियो । कक्षा १० को परीक्षा दिएर बसेका हमालको विवाहको कुरा चलेको केटी अरु कोही नभएर सावित्री हमाल थिइन् । उनीहरू विवाह भन्दा अगाडि उनीहरू एकअर्काेलाई देखेका थिएनन् । हमालले त सावित्रीलाई टाढैबाट देखेका थिए । तर, सावित्रीले भने हमाललाई देखेकी थिइनन् । उनीहरूको २०३१ साल असोजमा मागी विवाह भयो । विवाहपछि नै उनीहरूको बोलचाल भएको थियो ।
विवाहपछिका दिनमा सावित्रीलाई कर्मघर विरानो र पराइ जस्तै लाग्ने गथ्र्यो । माइतीमा सबैको मायाममतामा बसेको मान्छे एक्कासी पराइ घरमा विवाह गरेर आउँदा उनलाई सबै शून्य र विरानो नै लागेको थियो । हुन त हरेक छोरीहरू माइतीमा होइन कर्मघरमा जानैपर्ने बाध्यता छ । आफ्नालाई विरानो बनाउँदै विरानोलाई आफ्नो बनाउनु सावित्रीको लागि यो एउटा महŒवपूर्ण परीक्षा नै थियो । जुन परीक्षामा उनी पास पनि भइन् । उनले भनिन्, ‘मलाई बज्यै सासुले निकै माया गर्नुहुन्थ्यो ।’ घरमा पनि उनले सबैको मन जितेर सबैको माया ममता 
पाइन् ।
पिता कुलबहादुर शाही र माता देवकुमारी शाहीको कोखबाट २०१४ सालमा दैलेखमा नै जन्मिएकी सावित्रीको बाल्यकाल गोठालो, घाँसदाउरा र मेलापातमा नै बित्यो । उनले भनिन्, ‘उतिबेला छोरीलाई पढाउनु हुँदैन भन्ने चलन थियो, मैले पनि पढ्न पाइनपछि मात्र अलि–अलि पढ्न सिके ।’ उनी बाल्यकालमा अलि खरो स्वभावकी थिइन् । चकचक गर्ने, साथीहरूसँग कहिले काहीं झगडा पनि गर्ने र रिसालु स्वभाव उनको थियो ।
विवाहपछिका दिनमा यो जोडी सधैं सँगै बस्न पाएनन् । उनीहरू विगतलाई सम्झदै भन्छन्, ‘हामी विवाहपछि सँगै बस्न पाएनौं ।’ हमाल विवाहपछि पढ्न काठमाडौं गए सावित्री घरधन्दा सम्माल्न लागिन् । विवाह भएको धेरै समयपछि बल्ल उनीहरू साथमा बस्न थाले । सँगै बस्दा उनीहरूको कहिले काहीं सामान्य रूपमा झगडा हुने गथ्र्यो । तर, उनीहरूले त्यो झगडालाई कहिल्यै ठूलो बनाएनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि कहिले काहीं सामान्य झगडा हुन स्वभाविकै हो ।’
हमाल सावित्रीलाई घरको काममा सक्दो सहयोग गर्ने गर्छन् । एक छोरा र एक धर्म छोरीको साथमा रहेका यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेर गर्छन् । हमाललाई सावित्रीको सधैं काम गरिरहने बानी मनपर्ने गर्छ । कहिले काहीं अलि बढी नै रिसाउने बानी भने खराब लाग्ने गर्छ । त्यस्तै सावित्रीलाई हमालको आफूलाई हर काममा सहयोग गर्ने बानी मनपर्ने गर्छ भने केही कुरा बारम्बार भन्दा पनि ढिलोसम्म सोचिरहने बानी अलि मन पर्दैन ।
उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि एकअर्काेको भावना बुझ्न जरुरी छ । पहिला एकअर्काेको बानी व्यहोरा राम्रोसँग बुझ्ने, एकले अर्काेको आवश्यकता बुझ्न सके दाम्पत्य जीवन सुखमय बनाउन सकिने उनीहरूको भनाइ छ । एकअर्काेले जिम्मेवारी बोध गर्नसकेमा दाम्पत्य जीवनलाई दिगोपना दिन सकिन्छ । यो जोडीका अनुसार जीवनसाथी भनेको एउटा संयोग हो । एकले अर्काेको भावना, दुःख बिसाउने चौतारी हो ।
प्रस्तुतीः गीता थापा
प्रकाशित मितिः   २९ फाल्गुन २०७२, शनिबार ११:१५