हट्दै परम्परागत कुरीति

मर्यादित महिनावारी प्रवद्र्धनमा बढ्दो सक्रियता

मर्यादित महिनावारी प्रवद्र्धनमा बढ्दो सक्रियता

वीरेन्द्रनगर–१४ गढीकी देवीसरा गौतम महिनावारी हुँदा थुप्रै वर्षसम्म चिसो गोठमा बसिन् । महिनावारी भएका बेला पाँच दिनसम्म घरभित्र पस्न नदिने चलन थियो । घरभन्दा पर बनाइएका छाउगोठ (महिनावारी बार्ने स्थान)मा बस्नुपथ्र्यो । बसाइँ त असुरक्षित हुन्थ्यो नै खानपान, आराम र सरसफाइमा पनि उस्तै समस्या । गौतमले केही वर्ष पहिलेसम्म भोग्दै आएको पीडा सम्झदै भनिन्, ‘घरभन्दा टाढा छाउगोठ हुन्थे । महिनावारी हुने वित्तिकै घरभित्रको काम गर्न दिइन्थेन । मेलापात र घर बाहिरकै काम गर्नुपथ्र्यो ।’

उनले महिनावारी हुँदा कैयन् वर्षसम्म दही, दुध खान पाइनन् । यस्तो बेला दही, दुध खाए पाप लाग्छ र गाइभैंसीलाई रोग लाग्छ भन्ने मान्यता थियो । महिनावारी भएकाले फलफूल खाए रूख सुक्छन् भनिन्थ्यो । तर महिनावारीप्रतिको यस्तो बुझाइ पछिल्लो समय परिवर्तन हुँदै गएको छ । समाजको चेतनास्तर बढेसँगै अहिले महिनावारीलाई महिलाको नियमित प्राकृतिक चक्रका रूपमा हेर्न थालिएको हो ।

गौतम केही वर्षयता देखि महिनावारी हुँदा घरभित्रै बस्छिन् । घरभित्रको काममा पनि कुनै रोकतोक हुँदैन । पोषिलो खाना खान्छिन् । आराम गर्छिन् । ‘अहिले समय फेरिएको छ । महिनावारी भएका महिलाहरूको खानपानदेखि बसाइँसम्म सुरक्षित बन्दै गएको छ,’ उनले भनिन् । नगरपालिकाले महिनावारी सरसफाइका बारेमा जानकारी गराउनका साथै प्रत्येक महिना सेनेटरी प्याड उपलब्ध गराउँछ । गौतम महिनाको एक पटक स्वास्थ्य संस्थामा पुग्छिन् । स्वास्थ्य संस्थाले कार्ड दिएको छ । सोही कार्डका आधारमा उनले एउटा प्याकेट सेनेटरी प्याड लिने गरेकी छन् ।

वीरेन्द्रनगर–११ की लक्ष्मी खड्काले पनि देवीसरा गौतम जस्तै अहिले स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड लिने गरेकी छन् । महिनावारीका बेला फोहोर कपडा प्रयोग गर्दै आएकी उनलाई स्वास्थ्य संस्थाले केही समययता सेनिटरी प्याड दिन थालेको हो । ‘महिनावारी हुुँदा काम नलाग्ने कपडा प्रयोग गर्थे । बुझ्दै जाँदा सफा कपडा वा प्याड प्रयोग गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘स्वास्थ्य संस्थाबाट प्याड दिन थाले पछि निकै सहज भएको छ ।’ महिनावारीका बेला सरसफाइको आवश्यकताबारे स्वास्थ्य संस्थाबाट जानकारी पनि लिने गरेको उनले सुनाइन् ।

अघिल्ला पिँढीका महिलाहरू आफूले भोेगेको समस्या छोरी बुहारीलाई नपरोस् भनेर सचेत छन् । महिनावारीका समयमा छाउगोठमा बस्नु पर्दाको पीडा, गह्रौं काम गर्दा स्वास्थ्यमा परेको असरले उनलाई पाठ सिकाएको छ । छोरी–बुहारीलाई त्यस्ता समस्या नहुन भनेर उनीहरूले घरमा सहज वातावरण बनाइदिन थालेका हुन् । गौतम भन्छिन्, ‘मैले जस्तो भोगे छोरीलाई त्यस्तो नहोस् भनेर निकै सचेत हुन्छु । उ महिनावारी हुँदा सरसफाइ, आराम र खानपानमा अनुकुल वातावरण बनाउने गरेकी छु ।’

वीरेन्द्रनगर–८ की रिता ठकुरीले महिनावारी भएका बेला थुप्रै कष्ट बेहोर्नु प¥यो । ‘हाम्रो पालामा कति गाह्रो हुन्थ्यो । अहिले धेरै सहज भएको छ । हामी बारीमा बनाएको छाउगोठमा बस्थ्यौं,’ उनले भनिन्, ‘त्यस्तो बेला सरसफाइ के हो भन्ने थाहा नै थिएन ।’ महिनावारी हुुँदा सरसफाइ र खानपानमा जोड दिनुपर्ने रहेछ भन्ने बल्ल थाहा पाएको उनी बताउँछिन् । अहिले उनले महिनावारी बार्न छोडेकी छन् ।

वीरेन्द्रनगर–१४ स्थित गढी स्वास्थ्य चौकीका अनमी देवीसरा आचार्यले अहिले महिनावारीप्रतिको बुझाइमा धेरै परिवर्तन आएको बताइन् । उनका अनुसार महिनावारी भएका महिलाहरू सेनेटरी प्याड लिन र सरसफाइका विषयमा बुझ्न निर्धक्क भएर स्वास्थ्य संस्थामा आउने गरेका छन् । ‘परिवारका अन्य सदस्यहरूले समेत महिनावारीलाई सामान्य रूपमा हेर्न थालेका छन्,’ उनले भनिन्, ‘विगतका कु–संस्कार छोड्दै गएका छन् ।’ गढीमा पहिले घरघरमा छाउगोठ थिए । अहिले त्यस्तो अवस्था नरहेको उनले बताइन् ।

महिनावारीप्रतिको गलत धारणा परिवर्तन गर्न र स्वच्छ महिनावारी प्रवद्र्धन गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिकाले हरेक स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरणसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन ल्याएको हो । खासगरी महिनावारीको समयमा स्वास्थ्य सुरक्षामा कसरी ध्यान दिने र यसप्रतिको गलत धारणा चिर्न के गर्ने भन्नेबारे यस्तो कार्यक्रम सुरू गरिएको नगर उपप्रमुुख मोहनमाया ढकाल बताउँछिन् । ‘महिलाहरू सेनेटरी प्याड लिने बहानामा पनि कम्तीमा महिनाको एक पटक स्वास्थ्य संस्थामा आउँछन्,’ उनले भनिन्, ‘यसै बेला सरसफाइ र स्वास्थ्यका विषयमा पनि जानकारी दिन सकिन्छ ।’ उपप्रमुख ढकालले अहिले वीरेन्द्रनगरमा छाउगोठमा बस्ने समस्या नरहेको बताइन् । नगरपालिकाले किशोरीहरूलाई पनि विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराउने गरेको छ । यसले गर्दा किशोरीहरू कक्षा कोठामा नियमित हुने गरेका छन् । महिनावारीका बेला स्वास्थ्य र सरसफाइमा समस्या हुँदा किशोरीहरू विद्यालयमा अनियमित हुने गरेका थिए ।

वीरेन्द्रनगर नगरपालिकाले हाल १८ वटा स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरण गर्ने गरेको छ । नगरका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काका अनुसार अहिलेसम्म १७ हजार महिलाले उक्त सेवा लिएका छन् । सरकारी तथा गैरसरकारी निकायले मर्यादित महिनावारीका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्थानीय तहले प्रत्येक स्वास्थ्य संस्था र विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गर्दै आएका हुन् । कतिपय पालिकामा किशोरीहरूलाई घरमै प्याड बनाउने तालिम समेत दिने गरिएको छ ।

सरसफाइको क्षेत्रमा पछिल्लो समय किशोरी तथा महिलाहरूमा चेतना वृद्धि भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सीता आचार्यले पहिलेको तुलनामा धेरै परिवर्तन आएको बताइन् । स्वास्थ्य संस्थाबाट प्याड वितरण गर्न थालेपछि महिलाहरूलाई सहज भएको उनको अनुभव छ । विस्तारै महिनावारी बार्ने चलन पनि हट्दै गएको आचार्यले बताइन् । ‘महिनावारी भएकालाई नछुने अलगै राख्ने गरिन्थ्यो । अहिले अधिकांश महिलाहरू महिनावारी भएका बेला पनि घरभित्रै बसेको पाइन्छ,’ उनले भनिन् । आचार्य मर्यादित महिनावारी अभियानकी अभियान्ता समेत हुन् । उनले सुर्खेतका अधिकांश विद्यालयमा सुरक्षित र स्वच्छ महिनावारी अभियान सञ्चालन गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकी थिइन् । सुर्खेतका केही ठाउँमा भने अझै पनि छाउपडी प्रथा कायमै छ । ती स्थानमा केही समय छाउगोठ भत्काउने जनचेतनामूक कार्यक्रम सञ्चालन गरिए । तर, उक्त अभियानले पछिल्लो समय निरन्तरता पाउन सकेको छैन ।

प्रकाशित मितिः   ३१ भाद्र २०७८, बिहीबार १०:५९