जोखिम घटाउन नागरिक भूमिका

पछिल्लो एक सातामा कर्णाली प्रदेशभर करिब तीन सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परे । सीमित संख्यामा गरिएको परीक्षणमा पनि ३० प्रतिशत बढी संक्रमित फेला परेका हुन् । यो तथ्याङ्कले कोरोना संक्रमणको अवस्था जटिल नै रहेको देखाउँछ । परीक्षण गरिएको संख्याका आधारमा संक्रमणदर धेरै नै देखिएको हो । संक्रमण दर हरेक दिन एकै छैन । दरमा उतार–चढाप देखिन्छ । त्यसो त परीक्षण दर पनि घटबढ भइरहन्छ । तर समग्रमा कर्णाली प्रदेश अझै पनि कोरोना संक्रमणका दृष्टिले जोखिमै छ । नियन्त्रणउन्मुख भइसकेको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा करिब पाँच सयको हाराहारीमा सक्रिय संक्रमित छन् ।

एकातर्फ संक्रमण दर घटेको छैन, बरु परीक्षणको दायरा घटाइएको छ । एक साताको अवधिमा कोरोना परीक्षण गर्नेको संख्या करिब एक हजार हाराहारी छ । यसै समयमा संक्रमण दर भने बढेको देखिन्छ । केही समययता लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको छ । परीक्षण सर्वसूलभ बन्न सकेको छैन । अहिले कर्णाली प्रदेश अस्पताल, जन स्वास्थ्य सेवा कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाका साथै प्रदेशका अन्य केही स्थानहरूमा पनि कोरोना परीक्षण हुँदै आएको छ । यद्यपि चाहेको बेला परीक्षण गर्न अझै पनि सहज नभएको सेवाग्राहीको गुनासो छ । वीरेन्द्रनगर नगरपालिकाले हरेक साताको तीन दिन कोरोना परीक्षण गर्छ । नगरपालिकाले सोमवार, बुधवार र शुक्रवार कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै आएको हो । त्यस्तै, जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले आइतवार, मंगलवार र बिहीवार स्वाब संकलन गर्ने गरेको छ । कोरोना परीक्षण गर्नेहरूको दर कम भए पनि संक्रमणको जोखिम भने अझै उच्च रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । थोरै संख्यामा गरिएको परीक्षणमा पनि ठूलो संख्या संक्रमित भेटिनुले जोखिमको अवस्था अहिले पनि जटिल रहेको उनीहरूको भनाइ छ । कर्णालीमा कोरोनाबाट बढी नै प्रभावित भएको जिल्ला सुर्खेत हो । यहाँको संक्रमण र मृत्युदर दुवै अन्य जिल्लाको तुलनामा बढी छ । सुर्खेतको पनि वीरेन्द्रनगरमा संक्रमणको जोखिम धेरै छ । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा संक्रमणदर २५ प्रतिशत हाराहारी छ ।

लामो समयदेखि चलेको लकडाउन र निषेधाज्ञा खुकुलो बनाउँदै अहिले जीवनयापन सहज बनाइएको छ । सबैजसो क्षेत्र खुला भइसकेका छन् । जसका कारण मानिसहरूको भिडभाड बढेको छ । भिडभाडले कोरोना संक्रमणको जोखिम पनि बढाएको छ । आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालनामा ध्यान दिइएको छैन । यो नै जोखिमको मूल कारण हो । संक्रमणको जोखिम बढाउने या घटाउने आम नागरिकको भूमिका निर्भर छ । सबैले सतर्कता अपनाएको खण्डमा संक्रमण नियन्त्रण हुँदै जानेछ । तर हेलचक्य्राइँले जोखिम थप बढाउनेछ । अहिले जताततै लापरबाही र हेलचक्य्राइँ देखिएको छ । यसमा लगाम जरुरी छ । जसले कोरोनाको जोखिम नियन्त्रणमा मद्दत गर्नेछ ।

प्रकाशित मितिः   २९ भाद्र २०७८, मंगलवार ०५:००