मेरो जीवनका उकाली–ओराली

देवप्रसाद भट्टराई र उनकी श्रीमती जमुनादेवी भट्टराई

म वि.सं. १९९१ वैशाख १ गते तत्कालीन लेखफर्सा गाउँ पञ्चायतमा जन्मिएँ । उक्त ठाउँ हाल लेकवेशी नगरपालिका भएको छ । बुवा मुक्तिराम र आमा शिवकुमारी भट्टराईका ६ भाइमध्ये म राईलो छोरा हुँ ।

गाउँमा विद्यालय थिएनन् । पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन । घरव्यवहार चलाउनु नै आम जीवन थियो । बाल्यकाल साथीभाइहरूसँग खेलेरै बिताएँ ।

त्यो समयमा प्रायः बालविवाह नै हुन्थ्यो । मेरो पनि १४ वर्षको उमेरमै विवाह भयो, १२ वर्षकी मानकुमारीसँग । परिवारले मागी विवाह गरिदिएका थिए ।

दैलेखबाट पूर्णमान घले लेखफर्सा आएर बस्ती बसालेका थिए, उक्त बस्तिको नाम महेन्द्रगन्ज राखिएको थियो । उनै घलेले मलाई पढाइको ढोका खोलिदिए ।

दैलेखमा उनको घर नजिकै मन्दिर थियो । ‘मेरै घरमा बसेर पुजारीसँग पढ्छन्, पठाइ दिनुप¥यो’ भनी उनले बुवासँग आग्रह गरे । बुवाले पनि घलेसँगै मलाई दैलेख पठाउनु भयो ।

केही समय उनकै घरमा बसेँ । अलग्गै खाना पकाएर खान्थेँ । केही दिनपछि घलेले भान्सा पनि मिल्ने र अध्ययन पनि गराउने सल्लाहसहित तरताङस्थित ऋषिराम पण्डितको घरमा लिएर राखिदिए । त्यही घरमा पण्डितसँग अध्ययन गर्न थालेँ ।

११ वर्षको कोर्ष मैले एक वर्षमा सकेँ । बेदको ४० अध्याय कण्ठ गरेको थिएँ । पुस्तक नहेरी ऋषिराम पण्डितलाई सुनाएँ । त्यसपछि उनले दैलेख सदरमुकाममा रहेको भाषा पाठशालामा लगेर तीन कक्षामा भर्ना गरिदिए ।

त्यहाँ पढाइ सकेर २०१२ सालमा म बनारस गएँ । धर्मशास्त्र र व्याकरण नीतिशास्त्र अध्ययन गर्न संस्कृत विश्वविद्यालयमा भर्ना भएँ । त्यहाँबाट साहित्यमा आचार्य गरेँ ।

२०२० सालमा राजा महेन्द्रले नेपालमा त्रिभुवन विश्वविद्यालय स्वीकृत गरी नेपालमै एमए अध्ययनको व्यवस्था मिलाएका थिए । त्यसैले बनारसबाट फर्किएर किर्तिपुर आएँ ।

अंग्रेजीमा एमए गर्न मन लागेन । त्यही समयमा लोकसेवा आयोगले विभिन्न सरकारी विभागहरूको लागि अधिकृत तहमा आवेदन खोल्यो । त्यसका लागि दर्शन शास्त्र अध्ययन गरेको हुनुपथ्र्यो । मैले पनि आवेदन दिएँ ।

लोकसेवा आयोगका अध्यक्ष चारकबहादुर शाह थिए । उनले पनि संस्कृत विश्वविद्यालय बनारसबाट अध्ययन पूरा गरेका रहेछन् । अन्तरवार्तामा दर्शन शास्त्रका धेरै प्रश्न गरेपछि शाहलाई भनेँ, ‘मैले साहित्यमा आचार्य गरेको छु । मेरो प्रमाण–पत्र अनुसार सोधेको भए जवाफ दिने थिएँ ।’ प्रतिउत्तरमा शाहले ‘मलाई नै हराउनु भयो’ भने ।

आवेदन दिएका एक सय जनामध्ये एक जना न्यायाधीशका लागि छनौट भए अरु श्री ५ सरकारका विभिन्न विभागमा नियुक्त गरिए । म पञ्चायत प्रचारप्रसार अधिकृत भएर नेपालगन्ज आएँ । त्यो विभाग पनि केही समयपछि पञ्चायत विकास प्रशिक्षणमा गाभिएर अधिकृत बनेपछि चितवनमा तालिम गरी सुर्खेत, दैलेख र मुगुमा केही वर्ष जागिर खाएँ ।

मुगुमा जागिर गरिरहेको समयमा तत्कालीन राजा वीरेन्द्र राराताल अवलोकन गर्न आएका थिए । जनप्रतिनिधि र कर्मचारीलाई दर्शन भेट दिए । उक्त भेटमा राजासँग ‘सरकारको नामबाट सुर्खेत उपत्यकालाई वीरेन्द्रनगर नगर पञ्चायत नामकरण गरिएको छ । एकपटक नजर गरिबक्सेला’ भनि बिन्ती चढाएको थिएँ । वीरेन्द्रले नेपाललाई चार विकास क्षेत्र घोषणा गरी विभाजन गर्दा सुर्खेत उपत्यकालाई सुदुरपश्चिम अञ्चलको राजधानी तोकेका थिए ।

२०१९ सालमा विभिन्न सप्ताह पुजापाठ गरि कमाएको धनले सुर्खेत उपत्यकामा खेत र पाखो जग्गा किनेँ ।

२०२५ सालमा फालिकोटबाट बसाई सरेर वीरेन्द्रनगरको इत्राममा आएँ । दैलेखको खरीगैराका जिम्मुवाल मोती मल्लले मलाई वीरेन्द्रनगर आउन आग्रह गरेका थिए । सोही वर्ष मेरो दोस्रो विवाह भयो, जमुना देवीसँग ।

जागिर छँदा शुद्ध नोकरी गरियो । इमान्दारितापूर्वक काम गरेँ । पञ्चायतको पछिल्लो कालतिर चाकरी खोज्ने व्यक्तिहरू उच्च पदमा आएपछि चाकरी गर्न नसकेर २०३३ सालमा नोकरीबाट रानीनामा दिएँ । उपदानमा अवकाश लिएर आएँ । त्यही उपदानको पैसाले उपत्यकामा घरघडेरी जोडेको हुँ ।

छोराछोरी सबैले आ–आफ्नो गरी खाएका छन् । पवन भट्टराई प्रहरीको डिएसपी छ । रमेश आखा“को डाक्टर छ भने गंगाधर व्यवसाय गरिबसेको छ ।

कान्छो विमलले विभिन्न शैक्षिक संस्थाहरू सञ्चालन गरेको छ । छोरीहरू सारदा, शोभा र निर्मलाले पनि आ–आफनो घर व्यवहार गरी खाइरहेका छन् । अहिले म श्रीमती र कान्छो छोरा विमलसँगै वीरेन्द्रनगर–८ खजुरामा वृद्धअवस्थाका दिनहरू बिताइरहेको छु ।

नोकरी छोडेपछि भैरवस्थानमा बस्ने पूर्व शिक्षक मदन भट्ट र लिलाधर गौतमसँग संगत भयो । उहाँहरू वामपन्थी राजनीतितिर लागेकाले म पनि उहाँहरूसँगै त्यतै लागेँ । भट्ट र गौतममार्फत नै सुर्खेतमा आएका कम्युनिष्ट नेताहरूसँग भेटघाट हुन थाल्यो । प्रशिक्षण लिन थालियो । मैले पार्टीको टिकट नलिए पनि अन्य सहयोग भने गरेँ ।

२०४८ सालपछि बहुदलीय प्रजातान्त्रिक निर्वाचनमा सधै एमाले पार्टीलाई मत दिने र दिलाउने काम गरेँ । किनभने हिन्दुका महान राजनीतिज्ञ एवम् कुटनीतिज्ञ कृष्णले अर्जुनलाई सन्त, महात्मा, गरिब, वेसाहारा मानिसलाई सहयोग गर्ने मानविय कर्तव्य हो भनि गितामा उल्लेख गरेका छन् ।

‘कम्युनिष्ट भनेका सर्वहारा, मजदुर, गरिव, किसान, दिनदुखीहरूको पार्टी हो । कम्युनिष्टको सरकार भयो भने तिनीहरूको भलो गर्छौं’ भन्दै आएर ३२ वर्षको अन्तरालमा स्थानीय तहदेखि राष्ट्रिय तहका सरकार निर्माण गर्न जनताले मत दिएर विजयी बनाए । तर सरकार बनाएपछि सामन्ती संस्कार, प्रोहितवादी चिन्तन छोड्न सकेनन् । राज्यको धुरीमा बसेर अनेकौं सञ्जाल प्रयोग गरेर सम्पत्ति आर्जन गर्र्न थाले । नातावाद र कृपावादमा रमाए । जनतामाझ गरेका बाचा र प्रतिवद्धता बिर्सिए । पार्टीमा योगदान दिएका, समृद्ध देश बनाउने सपना बोकेका कमरेडहरूलाई अनेकौ वहानामा पार्टी नेतृत्वबाट हटाउने, उम्मेदवार हुनबाट वञ्चित गर्ने खेल खेलिए । दुईतिहाइ बहुमतको वाम सरकार आफ्नै पार्टीभित्रकोे सत्ताको लुछाचुडीले ढाल्ने र दलाल पुँजीवादी पार्टीहरूसँग सहकार्य गरेर सरकार बनाउने क्रियाहरू देख्दा चिन्तित बनेको छु ।

तरपनि जनविद्रोहको बलमा युगौंयुग जनताको श्रम लुट्ने निरंकुश राजतन्त्रको अन्त्य भएको छ । २०७२ को जनसंविधानले शक्ति पृथकीकरण गरेर जनतामा अधिकार पु¥याएको छ । जनताको आवश्यकता अनुसार संविधानमा संशोधन तथा परिमार्जन थप्दै जाने बाटो खुल्ला गरेको छ । यो उपलब्धि हो । यसलाई संस्थागत गर्न जरुरी छ ।

सामन्ती व्यवस्थाको त अन्त्य भयो । अब सबैमा भएको सामन्ती संस्कारको पनि अन्त्य गर्नुपर्दछ । राजनीतिलाई आम्दानीको लागि होइन सेवाका लागि अवलम्बन गर्ने हो भने देशको उन्नती हुने छ । यो ८७ वर्षको वृद्ध अवस्थामा यही आसापासो बोकेर बसेको छु । बहुदलीय प्रजातन्त्रमा लोकतान्त्रीक राज्य व्यवस्थापन गरेर मेरो देश समृृद्ध र सुन्दर हुनेछ भन्ने अपेक्षा गरेको छु ।

(देवप्रसाद भट्टराइसँग लेखक पृथ्वीबहादुर सिंहले गरेको कुराकानीमा आधारित)