साहित्यिक आँगनमा सुगन्धित लघुकथा

उमालाल आचार्य

जीवन र जगतसँग गाँसिएका यथार्थ वा काल्पनिक जुनसुकै विषयवस्तुमा त्यसको रूप, सौन्दर्य, गुण, भाव, भावुकता, विशेषता, कौतुहलता आदिका दृष्टिकोणबाट गरिएका रचना सबै साहित्य हुन् । यसरी हेर्दा साहित्यको आँगन अत्यन्त फराकिलो छ । यसको व्यापकताबाट यथार्थ वा सारतत्वमा जाँदा, सर्जकले हृदयको भाव ओगलेर लेखेको गीत, गजल, कविता, नाटक, कथा, निबन्ध उपन्यास, संस्मरण, काव्य इत्यादि रचना सामग्रीलाई नै समाजले साहित्य भनेर बुझ्ने गरेको छ । साहित्यका सबै विधाले आ–आफ्नै मान्यता र महŒव वहन गर्दछन् । नाटक, कथा र उपन्यासले पाठकमा चेतना फैलाउने शिक्षा र सन्देश दिने छुट्टै महत्व राख्दछन् ।

कुनै पनि घटनाको निर्माण र त्यसको सविस्तार वर्णन नै कथा हो, जसले सुरुदेखि अन्त्यसम्म पाठक श्रोतालाई कौतुहल बनाउँदै रुचिपूर्वक बाँध्ने क्षमता राख्छ । कथाको बयानसँग भाव, विचार र सन्देश बग्दै आउँछन् र मस्तिष्कमा सिञ्चित हुन्छन् । कथाकारले घटना, समय, परिस्थिति, परिवेश अवस्था आदिको आकर्षक बयान गरेर कथालाई प्राण भरी जीवन्त बनाउने गर्दछन् । त्यसर्थ कथा, उपन्यास, निबन्ध, संस्मरण जस्ता साहित्य लेखनीका विषयमा व्याख्या वृतान्तको ठूलो महत्व रहने भएकोले यिनलाई आख्यान विधा भनी नामाकरण गरिएको हो ।

घटनाक्रम जोडिदै कथासँग कथा गाँसिदै सिलसिलेवार बग्ने भएकोले उपन्यासलाई कथाको ठूलो रूप मानिन्छ, भने कथासार उस्तै हुने हुँदा लघुकथालाई कथाकै सानो रूप मानिन्छ । साहित्यको फराकिलो फाँटमा लघुकथाले पनि आफ्नो स्थान कायम गरिसकेको छ । कथामा जस्तो यसमा व्याख्या बयान अटाउने सम्भावना छैन । किनभने लघुकथा नाम जस्तै छोटो हुने भएकोले उसलाई समाप्तिमा जान हतार हुन्छ । त्यसकारण यसलाई छोटो आख्यान तथा उपविधा भन्ने गरिन्छ । तथापि पछिल्ला दिनमा मान्छेको परिस्थिति, समय–पावन्दी, कार्य व्यस्तताजस्ता कारणले पाठकमाझ लघुकथा पनि लोकप्रिय बन्दै गइरहेको पाइन्छ ।

विधा पहिचानका लागि सामान्यतया सबैखाले लेख–रचना सिर्जनामा शब्दहरू मानक संख्या कायम हुन्छन् । कथाका लागि एक हजार÷पन्ध्र सयदेखि चार हजारसम्म र लघुकथाका लागि शब्द संख्या ५० देखि तीन सयसम्ममा सीमित हुनुपर्ने भनि विद्वानहरूबाट सीमाना कायम गरिएको पाइन्छ । तर ५० भन्दा तलका शब्द संख्यामा पनि मार्मिक कथाहरू निर्माण भइरहेका छन् । उदाहरणका लागि लघुकथामा पुरस्कृत साहित्यकार तथा सशक्त नारी हस्ताक्षर इन्दिरा प्रसाईंको– आस्था ।

‘‘उसले धूप बाली । दियो सल्काई । र, आफ्नो बिरामी छोराको शिघ्र स्वास्थ्यलाभको कामना गरी ।
उसले धूप बाली । दियो सल्काई । र, आफ्नो मृत छोराको आत्माको चीरशान्तिको कामना गरी ।’

यसैगरी, लामो समयदेखि लघुकथामा समेत मन पोखीरहेका वरिष्ठ साहित्य साधक मणिकुमार पोखरेलको कथा–विवेक ।

‘‘आयो, आयो । भाग, भाग । अचानक भिडबाट आवाज निस्कियो । दायाँबायाँ, वरपर कतै नहेरी मानिसहरू भाग्न थाले । मञ्चबाट भाषण दि“दै गरेका महानुभावले स्थिति बुझ्न नपाउंँदै भिड तितरबितर भइसकेको थियोे, उनी पनि एकातिर लस्किए ।
एकैछिनपछि त्यसै ठाउँमा दुई साँढेहरू आपसमा घमासान युद्ध लडिरहेका थिए, नजिकै एउटा गाई मजाले उग्राइरहेको थियो ।’

माथि उल्लेखित दुई लघुकथामा शब्दहरू सीमित छन् । किफायती शब्दका लक्षणा र व्यञ्जनामा भाव अथाह छ । मर्म छ, दर्द छ । जीवन भोगाइ छ । व्यंग्यवाण छ, झापट छ । आफ्नै सीमाना उल्लंघन गरेर पनि लघुकथाले अत्यन्त मर्मस्पर्शी भाव पोखिदिन सक्ने क्षमता राख्दछ । थोरै शब्द संख्यामा अर्थ र मर्मको आयाम अधिक हुनुपर्ने र विम्ब तथा प्रतिकहरूको शब्द बनोटले सिर्जनालाई चोटिलो बनाउनु पर्ने मान्यता देखिन्छ । अथवा संक्षिप्तमा सम्पूर्णता नै यसको विशेषता रहेछ भन्ने बुझिन्छ ।

आजभोलि सामाजिक सञ्जालमा रमाइला र केही मिठा लघुकथाहरू पढेर ज्ञान खुराक आर्जन गर्न पाइन्छ । कथा छोटो, मिठो र छरितो हुने भएकोले पाठक संख्यामा पनि बढोत्तरी भइरहेको छ । यो उपविधामा कलम चलाउने लगनशील सर्जकहरूको प्रयासमा लघुकथा समाज नेपाल नामको एउटा साहित्यक संस्था स्थापना भइसकेर भर्खरै १३औं वार्षिकोत्सव मनाइरहेको अवस्था छ । सबै प्रदेशमा यसका शाखाहरू विस्तार भइरहेका छन् । यो अवसरलाई सदुपयोग गर्दै, वरिष्ठ साहित्यकार मणिकुमार पोखरेलको अध्यक्षतामा लघुकथा समाज कर्णाली प्रदेश गठन भएर केन्द्रसँग जोडिँदै आफ्ना गतिविधि बढाउने जमर्को गरीरहेको छ । २०४८ सालमा ‘श्रद्धाञ्जली’ कविता संग्रह प्रकाशनबाट साहित्यिक यात्रारम्भ गर्दै लघुकथा र खण्डकाव्यमा समेत निरन्तर कलम चलाइरहेका पोखरेलको नेतृत्व फलदायी हुने र साहित्यिक गतिविधि झाँगिने मौलाउने कुरामा बलियो विश्वास गरिन्छ ।

प्रायः गजल, कविता, मुक्तक, कथा र उपन्यासमा कलम चलाउने प्रशस्त साहित्यकारहरू भए पनि विषय अप्ठ्यारो भएर हो वा जाँगर नपलाएर हो नाटक लेखनी थोरै छायाँमा परेझैँ देखिन्छ । सबैको रुचि गजल, मुक्तक, कथा र कविता तिरै केन्द्रित छ तथापि सीमित केही स्थापित साहित्यकारका सिर्जनाहरू अत्यन्त चाख लाग्दा, रोमाञ्चित मर्मस्पर्शी र स्मरणयोग्य छन् ।

सिर्जनाले नै साहित्यकारलाई जन्माउँछ, जगाउँछ, चिनाउँछ । सुर्खेती साहित्यिक फाँटमा उम्रेका कुनै–कुनै सर्जकहरू चर्चाको ओझेलमा बसेर पनि निरन्तर सिर्जनामा खटिरहेका छन् । तीमध्ये तीर्थ पुरी, मीनराज पन्त, नारायणविक्रम जिसी लगायत सिर्जनशील पात्रका रचना उत्कृष्ट हुने गर्छन् । तीर्थका गजलले पाठकलाई हैरान बनाउँछन्, दोहो¥याउँदै पढ्न बाध्य पार्छन् । मीनराजका कवितामा विम्ब, प्रतिक र शब्दको खेलले रचनालाई अत्यन्त मिठास बनाउँछन् । नारायणविक्रमका कविताले सिधै विकृति र विसंगतिमाथि प्रहार गर्छन् । साहित्यक गतिविधि र उनन्नयका लागि यस्ता सबै सर्जकहरू समेटिएर गोलबन्द हुनु आवश्यक देखिन्छ ।

कविताकै शब्द उन्न बुन्न रमाउने, लघुकथा समाज कर्णाली प्रदेशका पदाधिकारी नारायणविक्रम जिसीले पछिल्ला दिनमा लघुकथामा पनि कलम चलाएको देखिन आएको छ । नारायणको ‘एक रात’ शीर्षकको लघुकताले निकै भावविभोर बनाइ छाडेको थियोे । यसले सबैको मन छुने छ भन्ने आशा राखिन्छ ।


एक रात

दिनपछि रात हुनु प्रकृतिको नियम हो, सबैलाई थाहा छ । रंगीन रातहरूले कतै नबिर्सने खुसी दिन्छन् भने कुनै काला रातले मानिसका जीवनमा असैह्य पीडा दिएर जाने गरेका छन् । अँध्यारो सँगसँगै बजार विस्तारै बिजुली बत्तीको उज्यालोमा चढ्दै थियोे, वर्षायाम भएकोले आकाशलाई बादलले ढाकेपछि छिट्टै रात परेको आभाष भइरहेको थियोे ।

सिमसिमे पानी पर्न थालेपछि भिडभाड पातलिदै गयो, बजार सुस्ताउन थाल्यो र केही छिनपछि निसम्म भयो । रात छिप्पिदै जाँदा मानिसहरूले निन्द्रासँग सपना साट्न थाले । यत्तिकैमा शून्यतालाई चिर्दै भोटेकोशी डरलाग्दो बेगले सुसाउँदै आयो । निन्द्राबाट पूर्णतया जाग्न नसकेका मानिसहरू आत्तिदै, रुदै, कराउदै, चिच्याउँदै भाग्न थाले । साँझमा त्यति झिलिमिली बजार यतिखेर पूरै चकमन्न अन्धकार थियोे । एकाएक आधा रातमा आएको नदीको भयंकर भेलले सुन्दर बजारलाई निलेर आफैसँग लग्यो । सुन्दर बस्तीलाई बालुवा माटाले पुरेर कुरूप बनायो । मानिसहरूलाई टुहुरो बनायो, बेघर बनाइ सपना र विपना मुछेर माटैमा मिलाई दियो । एक रातको वितण्डा, बिहानीपख नदी किनारमा टुक्रुक्क बसेर एकजना वृद्ध पुरुष वर्षौंदेखिको आफ्नो सपनालाई सजल आँखाले टुलुटुलु हेर्दै थिए । त्यो एक रातले सारा सपना छरेर छिन्नभिन्न बनाइदियोे ।

प्रकाशित मितिः   १९ भाद्र २०७८, शनिबार ०५:००