अक्सिजन उत्पादनमा उपलब्धी
कोरोना भाइरस (कोभिड–१९)को महामारी नफैलिदासम्म अस्पतालहरूमा मेडिकल अक्सिजनको चर्को अभाव थिएन । आवश्यक मात्रामा आपूर्ति भइरहेको थियो । जसका कारण अक्सिजन प्लान्ट स्थापना गर्ने र अस्पतालहरूमै अक्सिजन उत्पादन गर्नेतर्फ सम्बन्धित पक्षले ध्यान दिएनन् । तर जब कोरोनाको दोस्रो लहर सुरु भयो । संक्रमितहरू ह्वात्तै बढे । जटिल लक्षणसहितका बिरामी बढेपछि अस्पताल भर्ना गरेरै उपचार गर्नुपर्ने भयो । स्वासप्रश्वासको जटिल समस्या भएका संक्रमितले कोरोना विशेष अस्पताल भरिएका थिए । त्यसमाथि अस्पताल भर्ना भएकामध्ये अधिकांशलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था आइप¥यो । तब कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको चरम अभाव भयो । कर्णालीका लागि आवश्यक अक्सिजन नेपालगञ्जलगायतका सहरहरूबाट भरेर ल्याउनुपर्ने बाध्यता थियो । बिरामीको चाप अत्यधिक हुँदा बाहिरबाट ल्याइएकाले पनि माग धान्ने अवस्था थिएन । प्रदेशमा अक्सिजनको हाहाकार भयो । जसले गर्दा कोरोनाका कतिपय गम्भीर बिरामीले समयमै अक्सिजन नपाउँदा ज्यानसमेत गुमाए । कतिसम्म भने अक्सिजन अभावले अस्पतालहरूलाई बिरामी भर्नामा समस्या थियो ।
ठूलो क्षति व्यहोरिसकेपछि मात्रै सम्बन्धित निकायहरू तातिए । कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको निकै अभाव भोगेको कर्णालीमा अहिले भने विभिन्न स्वास्थ्य संस्थाहरूले धमाधम अक्सिजन प्लान्ट निर्माणको काम अघि बढाएका छन् । प्रदेश र स्थानीय सरकारले समेत स्वास्थ्य पूर्वाधारको विकाससँगै अस्पतालहरूमा अक्सिजन प्लान्ट जडानमा जोड दिएका छन् । दोस्रो लहर जस्तो आगामी दिनमा समस्या नहोस् भनेर प्लान्ट निर्माणमा प्राथमिकता दिइएको सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि सुर्खेतस्थित प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मात्रै अक्सिजन उत्पादन हुन्थ्यो । त्यहाँ उत्पादन हुने अक्सिजनले ती अस्पतालहरूलाई नै पुगिरहेको थिएन । अहिले भने प्रदेशभर दर्जन बढी अक्सिजन प्लान्ट निर्माणको क्रममा छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार धमाधम नयाँ जडानको प्रक्रिया थालिएका छन् । पुराना दुई वटासहित कर्णालीमा हाल ११ वटा ठूला तथा नौ वटा साना प्लान्ट सञ्चालन र निर्माणको क्रममा छन् । ठूला ११ वटा अक्सिजन प्लान्ट मध्ये रुकुम–पश्चिम र कालीकोटमा मात्र नयाँ प्लान्ट जडान भएर सञ्चालमा ल्याइएको छ । यी प्लान्ट २४ घण्टामा ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिने क्षमताका हुन । अन्य क्षेत्रमा भने प्लान्ट जडानको काम भइरहेको छ ।
अहिले प्रदेशका अधिकांश जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको छ । प्लान्ट जडानका लागि संघीय र प्रदेश सरकारसँगै स्थानीय तह, विभिन्न संघ–संस्था तथा दातृ निकायको सहयोगमा पनि कामहरू अघि बढाइएको हो । ढिलै भए पनि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । यसले आगामी दिनमा सहज हुनेछ । त्यसो त विगतमा पनि संरचना निर्माण हुने तर त्यसको सञ्चालनमा ध्यान नदिने गरिएका उदाहरण छन् । अक्सिजन प्लान्टको स्थापना सँगै त्यसको नियमित सञ्चालनमा पनि ध्यान दिन जरुरी छ । यसमा भने सम्बन्धित निकायको गम्भिरता अपरिहार्य हुन्छ ।
प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार २१:३६
साझा बिसौनी ।