सिटीहल सञ्चालनमा एक वर्ष लाग्ने

पहिलो चरणको ९५ प्रतिशत काम सकियो

वीरेन्द्रनगरमा निर्माणाधीन सिटी हल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ । वि.सं. २०७३ सालदेखि निर्माण कार्य थालिएको हलको ९५ प्रतिशत काम सकिएको छ । भवनहरूको फिनिसिङ्गको काम भने बाँकी छ । फर्निचर, स्टेज लगायतका आन्तरिक रङरोगन तथा सजावटका काम भइरहेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका अनुसार पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणका लागि टेण्डर आह्वान गरिएको छैन । पहिलो चरण अन्तर्गत सिटी हलको हातामा रहने भवनहरू निर्माण गरिएको हो । उक्त चरणको लागि २३ करोड ४८ लाख ३२ हजार आठ सय तीन रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सो बजेटमध्ये २१ करोड ६९ लाख ३८ हजार तीन सय ८० रूपैयाँ खर्च भइसकेको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले जनाएको छ ।

पहिलो चरणको ९५ प्रतिशत काम सकियो

निर्माणको जिम्मा समानान्तर चक्रेश्वरी–शिवशक्ति जेभी काठमाडौंले लिएको छ । ठेकेदार कम्पनीले पहिलो चरणको काम पूर्णरूपमा सम्पन्न गरिसकेको छैन । भवनको काम तीन वर्षमा अर्थात् २०७६ चैत २४ गते सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । तीव्र गतिमा भइरहेको काममा कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण केही समय बाधा पुगेको निर्माण कम्पनीले जनाएको छ । सम्झौता भएको मितिमा सम्पन्न नभए कारण देखाएर म्याद थप्न पाइने र उक्त म्याद थप्ने अवधि आइनसकेको जनाइएको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका इन्जिनियर रामकृष्ण आचार्यले सिटी हलमा एउटा स्टेजसहितको ठूलो हल र दुई वटा साना हल तयार भएको बताए । ठूलो हल सात सय ६८ जना अटाउने क्षमताको छ । साना हलमध्ये एउटामा ५० जनाको क्षमता र मिटिङ हल छ भने अर्कोमा एक सय जना क्षमताको सेमिनार हल बनेको हो । त्योबाहेक क्यान्टिन, गार्डेन, फुटपाथ, पार्किङ, पर्खाल लगायतका थुप्रै निर्माणका काम  सम्पन्न भएका छन् । दोस्रो चरणको फर्निचर, कार्पेटलगायतका काम सकेपछि सिटी हल सञ्चालनका लागि प्रक्रिया थालिने इन्जिनियर आचार्यले जनाए ।

सहरी विकास मन्त्रालयले उक्त सिटी हल हस्तान्तरणसम्बन्धी कार्यविधि निर्माण गर्दैछ । निर्माण कार्य पूर्णरूपमा सकिएपछि सोहीअनुसार हस्तान्तरण गर्ने तयारी गरिएको छ । कार्यालयका अनुसार यसअघि निर्माण गरिएका सभा हलहरू सम्बन्धित स्थानीय तहहरूलाई नै हस्तान्तरण गरेकाले यो हल पनि वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिने छ । यद्यपि सिटी हल कसरी सञ्चालन गर्ने भन्नेबारे अहिले कुनै टुङ्गो लागि नसकेको बताइएको छ ।

वीरेन्द्रनगर–६ स्थित आँखा अस्पताल केन्द्रको दक्षिणपट्टी निर्माण भइरहेको सभा हल कर्णाली प्रदेशकै अहिलेसम्मको ठूलो क्षमताको हो । सिटी हलले साढे तीन विगाहा क्षेत्रफल ओगटेको छ । त्यहाँ झन्डै चार सय मोटरसाइकल र दुई सय गाडी पार्किङको क्षमता छ । सभाहलमा प्रवेश गर्न र बाहिरिन दुई साइडमा गेट रहने छन् । जसमध्ये एउटा मुख्य र अर्को साइड गेट रहने छ । अब दोस्रो चरणको कामको लागि टेण्डर आह्वानको प्रक्रियामा जाने तयारी भइरहेको इन्जिनियर आचार्यले बताए । त्यसका लागि स्टिमेटसमेत तयार भइसकेको उनले जानकारी दिए ।

प्रदेश राजजधानीसमेत रहेको वीरेन्द्रनगरमा ठूलो क्षमताको सभाहल छैन । सभाहलको अभावमा समारोह, सेमिनार गोष्ठी र कतिपय सार्वजनिक कार्यक्रमहरू खुल्ला चौरमा गर्नुपर्ने बाध्यता छ । अत्याधुनिक सुविधासहितको सिटी हल निर्माण भएपछि सार्वजनिक समारोहरूका लागि निकै सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   ११ भाद्र २०७८, शुक्रबार ०५:००