भेडा पालनमा आकर्षण
जुम्ला: कनकासुन्दरी गाउँपालिकाका किसान व्यावसायिक भेडा पालनमा आकर्षित भएका छन् । जुम्लामा परम्परागत पेसा मानिने भेडा पालन कम हुँदै गएका बेला कनकासुन्दरीका युवाहरूले यसलाई व्यावसायिक रूपमा अंगालेका हुन् । उक्त पालिकाका केही युवाहरू अहिले भेडा पालनमा जोडिन थालेका छन् । स्थानीय र प्रदेश सरकारले भेडा–बाख्रा पालन गर्ने किसानलाई प्रोत्साहन गरेपछि पछिल्लो समय यसमा आकर्षण बढेको हो ।
भेडा बाख्रा पालनसम्बन्धी सरकारी निकायले त्यहाँ विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । यहाँका स्थानीयले सामुहिक भेडा पालन गर्न थालेका हुन् । चरन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि पाटन र खर्कमा कम्तीमा चारदेखि ६ जनासम्म गोठाला मिलेर भेडा पालन हुने गरेको कनकासुन्दरी गाउँपालिका–२ का स्थानीय अमृत रावतले बताए । गाउँपालिकाले आफूहरूलाई व्यावसायिक रूपमा भेडा पालन गर्न सहयोग गर्दै आएको भेडिगोठाला रनबहादुर कार्कीले बताउँछन् ।
कनकासुन्दरीका किसानलाई प्रदेश र गाउँपालिकाले पाँच÷पाँच वटाका दरले भेडा र बाख्रा वितरण गरेको छ । गत आर्थिक वर्षमा मात्रै कनकासुन्दरीका १९ वटा बस्तीमा भेडा बाख्रासम्बन्धी भेडा प्याकेज, ऊन विकासका लागि भेडा प्रवद्र्धनलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । साना व्यवसायी गोरुचौर बाख्रा पकेट विकास सञ्चालन समितका सदस्य हिरादेवी शाहीका अनुसार सरकारी निकायले सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा भेडा पालनमा आकर्षण बढेको छ । कनकासुन्दरीका रानीसैन, रिया, सिप्टी, मर्फान, नेटा, बुम्र, मालिकाबोता, बुडु, लुम, ओखरपाटा, जोडलबाडा, गोठलबाडा लगायतका दर्जन बढी गाउँमा भेडापालन हुन्छ । उक्त पालिकामा करिब १४ हजारको संख्यामा भेडा बाख्रा पालन गरिएको छ ।
प्रकाशित मितिः ३२ श्रावण २०७८, सोमबार ०५:०१
साझा बिसौनी ।