कमजोर पूर्वतयारी

सुर्खेत जिल्लामा साढे तीन महिनादेखि जारी निषेधाज्ञा फेरि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गएको वैशाख १४ देखि लागू गरेको निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय सबै क्षेत्र खुकुलो बनाउँदै लगिए पनि निषेधाज्ञा भने कायमै राखिएको छ । तेस्रो लहर आउन सक्ने भएकाले पनि प्रशासनले अहिले नै निषेधाज्ञालाई पूर्णरूपमा हटाइसकेको छैन । बरु खुकुलो बनाइएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण हुन सकेको छैन । अहिले पनि दैनिक संक्रमितको संख्या थपिएको छ । संख्यामा भने थपघट भइरहेको छ । कहिले बढी त कहिले कम । त्यसैले जोखिमजन्य गतिविधि रोक्न तथा संक्रमण नियन्त्रण, रोकथाम, निदान र उपचारलाई सहज बनाउन निषेधाज्ञा कायमै राखिएको हो ।

निषेधाज्ञा कायमै रहेपनि लामो समय बन्द भएका सबैजसो क्षेत्र अहिले सञ्चालनमा आइसकेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सार्वजनिक स्थानहरूमा बढेको भिडभाड व्यवस्थापन गर्न प्रशासन कार्यालयले निश्चित मापदण्ड बनाइ सोहीअनुसार गर्न÷गराउन आदेश जारी गरेको छ । यसअघि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुँदै आएको थियो । प्रशासनले अबदेखि भने बिहान ८ देखि साँझ ७ बजेसम्म बजार खोल्न पाइने जनाएको छ । बजार खुल्ने समय बिहान र बेलुका एक–एक घण्टा थप गरिएको हो । प्रशासन कार्यालयले जारी गरेको आदेशमा सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार, फुटसल, जिमखाना, सिनेमा हल, सैलुन, ब्यूटीपार्लरलगायतका व्यवसाय सञ्चालन गर्न अझैं रोक लगाइको छ । आदेशको अवज्ञा गरे कोभिड संकट व्यवस्थापन अध्यादेश तथा स्थानीय प्रशासन ऐन बमोजिम सजाय गरिने प्रशासन कार्यालयले जनाएको छ । भिड हुन नदिनका लागि यस्तो निर्णय गरिएको हो । यद्यपि सुर्खेतमा यी मध्ये अधिकांश व्यवसाय निर्वाध रूपमा सञ्चालन हुँदै आएका छन् । जारी निषेधाज्ञाको अवज्ञा भइरहेको छ । लापरबाही र हेलचक्य्राइँ बढेको छ । प्रशासनको आदेशमा फुटपाथ तथा खुल्ला स्थानमा गरिने व्यवसायमा समेत रोक लगाइएको छ । तर, ती व्यवसाय पनि सञ्चालन भइरहेका छन् । निषेधाज्ञाको पालना भए÷नभएको अनुगमन तथा नियमन गर्ने निकाय यसमा चुकेको छ ।

निषेधाज्ञा खुकुलो पारिएपछि जोखिम पनि बढेको छ । किनभने स्वास्थ्य सुरक्षाका मापदण्डसमेत पालनामा हेलचक्य्राइँ बढेको छ । जसले गर्दा संक्रमण अपेक्षाकृत रूपमा घट्न सकेको छैन । अर्कोतर्फ अब कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावनातर्फ पनि विशेषज्ञहरूले सचेत बनाएका छन् । त्यसकारण अहिलेदेखि नै आवश्यक सावधानी र सतर्कता अपनाउन जरुरी छ । सम्भावित जोखिमबाट जोगिनका लागि तेस्रो लहरको पूर्वतयारीका काम अहिलेदेखि नै गर्नुपर्ने हुन्छ । समयमै कार्ययोजना बनाएर प्रदेशभर कोरोना प्रतिकार्यका गतिविधि सञ्चालन हुन सकेको खण्डमा मात्र अवस्था भयावह हुनबाट बचाउन सकिन्छ । सामान्य निषेधाज्ञाले मात्रै जोखिम नियन्त्रण गर्न सकिदैन ।

प्रकाशित मितिः   २४ श्रावण २०७८, आईतवार ०५:००