ठडियो काँक्रेविहार, फेरियो मुहार

जता हेर्‍यो ढुङ्गैढुङ्गा । जुन ढुङ्गा हे¥यो त्यसमा अनेक किसिमका आकर्षक आकृति । असरल्ल छरिएका अनेक मूर्तिहरू । केही टुटेफुटेका, केही आकार नै बिग्रिसकेका । केही वर्षअघिसम्म यस्तै दृष्य देखिन्थ्यो, काँक्रेविहार परिसरमा । तर अहिले दृष्य फेरिएको छ । अब असरल्ल मूर्तिहरू होइन अग्लो बिहार देखिन्छ । शिखर शैलीको । आकर्षक । ठडिएको काँक्रेविहार ।

भग्नावशेष उत्खनन् भएको दुई दशकपछि काँक्रेविहारले पूर्णता पाएको छ । वि.सं. २०५७ साल फागुनमा भग्नावेश उत्खनन् गर्दा दुई हजार बढी ऐतिहासिक एवम् पुरातात्विक वस्तुहरू फेला परेका थिए । त्यसपछि २०६१ सालमा पुननिर्माणको काम थालियो । पटक–पटक गरेर लाखौं रूपैयाँ खर्च भइसक्दा पनि पुनर्निर्माण कार्यले भने पूर्णता पाउन सकेको थिएन । यसपटक काँक्रेविहारको पुनर्निर्माणको काम सकिएको छ । ढिलै भए पनि अहिले निर्माण सम्पन्न भएको छ ।

सम्झौता भएको पाँचवर्षमा निर्माण सम्पन्न भएको हो । उत्खनन् गर्दा भेटिएका ढुङ्गाको आकृतिहरूलाई नै प्रयोग गरेर पहिलेकै आकारमा शिखर शैलीमा निर्माण गरिएको छ । काँक्रेविहार रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरका अनुसार पछिल्लो पटक २०७२ सालमा पुननिर्माणका लागि ठेक्का सम्झौता भएको थियो । त्यतिबेला दुई वर्षमा काम सम्पन्न गरी सक्नेगरी सिद्धबाबा कन्ट्रक्सन काठमाडौंले कामको जिम्मा लिएको थियो । पुरातत्व विभाग काठमाडौंले १४ करोड रकम छुट्याएको भए पनि ठेकेदार कम्पनीले आठ करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७४ सालमा काम सक्नेगरी सम्झौता भए पनि पाँच वर्ष लगाएर सम्पन्न गरिएको छ । हाल निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण भने भइसकेको छैन । सिद्धबाबा कन्ट्रक्सन प्रालिका दिपक कार्कीले भारतमा गएर विभिन्न शिखर शैलीका मन्दिरहरू अनुमगन गरी सोहिअनुसार निर्माण कार्य गर्नुपरेकाले काममा ढिलाई भएको बताए ।

विहार मात्रै निर्माण गरिएको छैन, अहिले अन्य संरचनाहरूको पनि विकास गरिएको छ । वरीपरी खुल्ला स्थान, शौचालय, प्रतिक्षालय, प्रवेशद्धार लगाएतका कुनैपनि संरचना पहिले थिएनन् । अहिले यी सबै कुरा फेरिएका हुन् । काँक्रेविहारसम्म पुग्ने सडक कालोपत्र गरिएको छ । वरिपरी पर्खाल लगाई यसलाई सुरक्षितसमेत गरिएको हो । वडा कार्यालयको संरक्षणमा रहेको काँक्रेविहार संरक्षणका लागि चौकिदारको समेत व्यवस्था गरिएको छ । सरसफाईका नाममा उठाइएने प्रतिव्यक्ति दश रूपैयाँले उक्त क्षेत्रको सरसफाई गरिन्छ । सुरक्षा तथा संरक्षणका लागि भने स्थानीयवासिन्दा, वडा कार्यालय, वन डिभिजन कार्यालयलगायतले पनि सहयोग गरेका छन् ।

काँक्रेविहार पुनर्निर्माणको काम सम्पन्न भएपछि हेर्न आउने पर्यटकहरूसमेत उत्साहित बनेका छन् । चिङगाड गाउँपालिका–६ सुर्खेतका विराज भण्डारीले पहिले भग्नावशेष मात्रै हुँदा खासै रमाइलो नभएपनि अहिले रमाइलो लाग्ने बताए । काँक्रेविहार पुनर्निर्माणको काम सकिएपछि घुम्नलायक बनेको उनले तर्क गरे । ‘यो सुर्खेतको परिचित नाम हो’ काँक्रेविहारमा भेटिएका भण्डारीले भने ‘बर्दियामा रहेका मेरो आफन्तहरूलाई आज घुमाउन ल्याएको हुँ ।’ उनले सुर्खेत आएपछि काँक्रेविहार कस्तो रैछ भन्ने जिज्ञासा सबैलाई लाग्ने र घुम्न अनिवार्य आउने गरेको सुनाए ।

बराहताल गाउँपालिका १० सुर्खेतकी कौशिला सारु मगरले समेत सानो छँदा काँक्रेविहार घुम्न आएको र खासै राम्रो नभएपनि अहिले सुन्दर भएको बताइन् । विहार मात्रै नभएर कम्पाउन्ड वाल, सडक, सार्वजनिक शौचालयलगाएत सबै कुराको व्यवस्थापन हुँदा झनै आकर्षित बनेको उनले सुनाइन् । सारुले सुर्खेतलाई चिनाउन र पर्यटकीय क्षेत्रमा टेवा पुर्‍याउन काँक्रेविहारले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

बन्दै छ चिडियाखाना

काँक्रेविहारलाई थप व्यवस्थित र आकर्षक बनाउने प्रयास भइरहेको छ । यसैक्रममा विहार परिसरमा चिडियाखाना निर्माणको कामसमेत सुरुवात गरिएको छ । ‘मिनी जु’को नामले वीरेन्द्रनगर नगरपालिकाको ११ लाख बजेटमा चिडियाखान निर्माणको काम सुरु गरिएको हो । यसको लागि कम्पाउन्ड वाल निर्माणको कामको थालनी भइसकेको वडा अध्यक्ष मानन्धरले जानकारी दिए । कम्पाउन्ड वाल निर्माण गरी विभिन्न वन्यजन्तुहरूलाई मिनी जुमा राखिने उनले बताए ।

अध्यक्ष मानन्धरका अनुसार मृग, जरायो, दुम्सी, खरायो, विभिन्न चराहरू लगाएतका वन्यजन्तुहरू चिडियाखानामा राखिने छन् । चिडियाखानामा राखिने जनावरहरूका लागि घाँसहरूसमेत रोपिएको उनले बताए । घाइते भएका जनावरहरूलाई समेत सोही चिडियाखानामा राखिने छ । यसले एकातर्फ वन्यजन्तुको संरक्षण हुनेछ भने अर्कोतर्फ पर्यटक आकर्षित गर्न पनि सघाउ पु¥याउनेछ ।

सडक सुधारको योजना

काँक्रेविहारको पुनर्निर्माणसँगै यसको मुहार फेरिएको छ । तर त्यहाँसम्म पुग्ने सडकको अवस्था भने सुधार गर्न बाँकी छ । लाटीकाइलीदेखि काँक्रेविहारसम्मको बाटो कालोपत्र भए पनि मंगलगढीदेखि लाटीकोइली जोड्ने सडक भने मर्मत गर्नुपर्ने अवस्थामा छ । उक्त सडकलाई यही वर्षभित्र मर्मत गरिसक्ने योजना बनाइएको छ ।

सडक स्तरोन्नतीका लागि लामो समयदेखि निर्माणको कामको थालनी भए पनि सम्पन्न हुन सकेको छैन । चालु आर्थिक वर्षमै काम सक्ने गरी टेन्डर प्रक्रिया सुरु गरिसकेको वडा अध्यक्ष मानन्धरले जानकारी दिए । १७ करोड ८९ लाखमा सडक कालोपत्र गर्ने, दुईतर्फ नाला बनाउने, सडक बत्ती जोड्ने लगायतका कामका लागि एउटै निर्माण कम्पनीलाई जिम्मा दिने तयारी भएको छ ।

अध्यक्ष मानन्धरका अनुसार आगामी भदौ महिनाको पहिलो हप्तादेखि कामको सुरुवात गर्ने तयारी छ । कर्णाली प्रदेश सरकार तथा वीरेन्द्रनगर नगरपालिकाले पहिले कामको जिम्मा लिएपनि पूरा काम नभएको उनले सुनाए । ‘एकापट्टी नाला निर्माणका लागि मात्र नगरपालिकाले बजेट नगरले दियो’ उनले भने ‘दुुुुुुुुईतर्फ नाला नबनाई सडक कालोपत्र गर्न नमिल्ने रहेछ ।’ उनले नगरपालिकासँग दुईतर्फ नाला निर्माण गर्ने बजेट नभएको कारण काम रोकिएको जनाए । तर अब भने प्रदेश सरकारको लगानीमा काम अघि बढाइँदैछ ।

काँक्रेविहारका बारेमा अनेक किम्वदन्ती छन् । तर यसलाई एक पर्यटकीय स्थलको रूपमा विकास गरिने वडाअध्यक्ष मानन्धर बनाउँछन् । ‘यो एउटा रोचक धार्मिक तथा पर्यटकीय स्थल हो’ उनले भने ‘हिन्दु र बौद्धको साझा मन्दिर वा विहारका रूपमा पनि यसलाई लिइन्छ ।’ काँक्रेविहार भग्नावशेष उत्खनन् गर्दा त्यहाँ गणेश, सरस्वती, बुद्ध, शिव लगायत हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू भेटिएका थिए । त्यसैले पनि काँक्रेविहारलाई हिन्दु र बौद्ध धर्मको साझा स्थलका रूपमा व्याख्या गर्ने गरिएको छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७८, शनिबार ०४:५८