आयुर्वेदमा बढ्दो आकर्षण

प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा पछिल्लो समय सेवाग्राही बढ्दै गएका छन् । चार आर्थिक वर्षयताको तथ्याङ्क हेर्दा हरेक वर्ष आयुर्वेद सेवा लिनेहरूको सख्या वृद्धि हुँदै गएको पाइएको हो । आर्थिक वर्ष २०७४/०७५ मा २० हजार पाँच सय ४४ जनाले औषधालयबाट ओपीडीलगायतका अन्य सेवा लिएका थिए । त्यसको पछिल्लो वर्ष २०७५/०७६ मा २२ हजार ९० जनाले सेवा लिए ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ सालमा औषधालयबाट सेवा लिनेको संख्या बढेर २८ हजार तीन सय ५५ पुगेको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७७/०७८ मा ३४ हजार दुई सय जनाले सेवा लिएका छन् । तीमध्ये २९ हजार सात सय ३७ जनाले ओपीडी सेवा लिएका हुन् । मंगलवार अस्पताल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विनोद ढकालले जनशक्ति अभाव हुँदाहुँदै पनि गुणस्तरीय सेवा दिन सकिएको दाबी गरे । उनले स्तरीय सेवा दिएकै कारण पछिल्ला वर्षहरूमा औषधालयप्रति विरामीहरूको विश्वास बढ्दै गएको बताए । ‘कुनै बेला न्यून संख्यामा बिरामी आउने औषधालयमा पछिल्ला वर्षमा आकर्षण बढेको छ । सेवाग्राही थपिँदै जानु भएको छ । यो औषधालयले दिएको सेवाप्रतिको विश्वास हो,’ उनले भने ।

अध्यक्ष ढकालले आफूहरूको कार्यकाल सकिएकाले आउने व्यवस्थापन समितिले औषधालयको जनशक्ति, सेवा विस्तार र गुणस्तरीयमा ध्यान दिनुपर्ने सुझाए । ‘यहाँ जनशक्तिको अभाव छ । आउँदो समितिले त्यसको पूर्तिका लागि पहल गर्नुपर्ने छ,’ उनले भने । आफ्नो कार्यकालमा अस्पतालको भौतिक संरचना निर्माण लगायतका थुप्रै काम भएको ढकालले बताए । उनका अनुसार १८ करोड ३२ लाख लागतमा सुविधा सम्पन्न १५ शैड्ढयाको भवनका लागि टेन्डर प्रक्रिया पूरा गरी निर्माणको काम अघि बढाइएको छ । त्यस्तै, तीन करोड ३३ लाख लागतमा निर्माण गर्ने गरी फार्मेसी भवनको समेत टेन्डर गरिएको छ । औषधालयमा डिजिटल ल्याबको थालनी, भिडियो एक्सरे सेवा, औषधालय भवनको स्तरोन्नती, बैठक र योगा हलको निर्माण, अस्पतालमा सवारी साधनको व्यवस्थालगायतका काम यो समितिले गरेको अध्यक्ष ढकालले सुनाए । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नियन्त्रण, रोकथाम तथा उपचारमा आयुर्वेद औषधालयले थुप्रै काम गरेको बताइएको छ । औषधालयले संक्रमितका लागि आइसोलेसनसमेत सञ्चालन गरेको थियो ।

जनशक्ति अभाव

सेवाग्राही बढ्दै गएपनि औषधालयमा जनशक्ति भने अभाव छ । हरेक वर्ष सेवाग्राहीको चाप बढ्न थालेपछि सेवा प्रवाहमा चुनौती थपिदै गएको औषधालयले जनाएको छ । भौतिक संरचना र प्रविधि भए पनि जनशक्तिको अभाव झेल्दै आएको औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । अस्पतालमा आवश्यक पर्ने जनशक्ति ४२ भए पनि हाल १६ जना मात्रै कर्मचारीको भरमा सेवा दिइरहेको उनले जनाए । अहिले औषधालयमा एक जना चिकित्सकसहित आठ जनाको स्थायी दरबन्दी छ । चार जना कार्यालय सहयोगीसहित अन्य आठ जना करार सेवामा कार्यरत छन् । कर्णाली प्रदेश सरकारलाई विशेषज्ञ डाक्टरसहित ४२ जना कर्मचारी आवश्यक रहेको माग विवरण पठाइसकिएको डा. रिजालले बताए ।

प्रकाशित मितिः   २० श्रावण २०७८, बुधबार ०५:००