खोपमा खेलबाड

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन देशभर अभियान चलिरहेको छ । प्राथमिकताका आधारमा लक्षित वर्ग छुट्याएर खोप लगाउने गरिएको छ । तर सुर्खेतमा सञ्चालित खोप अभियानमा हेलचक्य्राँइ गरिएको पाइएको छ । स्वास्थ्य सेवा प्रदायक निकायले नै खोप अभियानमा चरम लापरबाही गरेका हुन् । सुर्खेतमा तोकिएका विभिन्न केन्द्रहरूमा खोप लगाउन आउने सेवाग्राहीको भिड अत्यधिक छ । भिड कोरोना संक्रमणको थप जोखिम हो । त्यसैले भिड नियन्त्रणकै लागि भनेर लामो समय लकडाउन र निषेधाज्ञा गरियो । तर यस्तो स्वास्थ्य मापदण्डकै पालना नगरी खोप अभियान चलाइएको छ । यसले थप जोखिम बढाएको छ । ठूलो संख्यामा लाग्ने भिडभाड व्यवस्थापन नगरी खोप अभियान सञ्चालन गर्दा केन्द्रमै संक्रमण फैलिने जोखिम उच्च देखिएको हो ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भौतिक दुरी अनिवार्य छ । स्वास–प्रस्वासबाट भाइरस संक्रमणको जोखिम बढी हुने भएकाले पनि दुरी कायम गर्नु अपरिहार्य भएको हो । तर स्वास्थ्यकर्मीहरूको सहभागितामा नै सञ्चालित खोप केन्द्रहरूमा यही मापदण्ड पालना भएको छैन । प्रदेश राजधानी वीरेन्द्रनगरकै खोप केन्द्रहरूमा चरम लापरबाही देखिन्छ । यहाँका अधिकांश केन्द्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी खोप अभियान सञ्चालन भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले खोप लगाउँदा मात्र नभइ कोभिड परीक्षणका लागि स्वाब संकलन गर्दा पनि स्वास्थ्य सुरक्षाका सावधानीहरू अपनाउने गरेको छैन । जसका कारण खोप र स्वाब संकलन केन्द्रमै संक्रमणको जोखिम हुने गरेको छ । स्वास्थ्य सेवा प्रदायक निकायकै अभियानहरूमा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भएको नागरिकहरूको गुनासो छ ।

एकातर्फ खोप केन्द्रमा लापरबाही भइरहेको छ भने अर्कोतर्फ खोपको चरम दुरूपयोग समेत हुने गरेको गुनासो सुनिएको छ । सरकारले बनाएको मापदण्डअनुसार लक्षित वर्गलाई लगाइनुपर्ने खोपको सुर्खेतमा दुरूपयोग भएको हो । लक्षित समूह तोकेर केन्द्रहरूमा पठाइएको खोप पहुँचवालाहरूका आफन्त तथा नजिकका व्यक्तिहरूलाई लगाउने गरिएको हो । खोप कार्डमा लक्षित समूह, पहिचानको प्रमाण, उमेर जस्ता व्यक्तिगत विवरण अनिवार्य भर्नुपर्ने भए पनि स्वास्थ्यकर्मीहरूले नाम र ठेगाना मात्र लेख्ने गरेका छन् । लक्षित समूह बाहेककालाई खोप लगाउने कार्यमा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि पनि संलग्न हुने गरेका हुन् । भनसुनका आधारमा खोप लगाइका कारण आवश्यक व्यक्तिगत विवरण पनि नभर्ने गरिएको पाइएको छ । खोप लगाएका कतिपयलाई कार्डसमेत दिने गरिएको छैन । कार्ड लिन पछि आउनुहोला भन्दै खोप लगाएर सेवाग्राहीलाई पठाउने गरिएको छ ।

स्वास्थ्य सेवा विभागले स्वास्थ्य कार्यालयहरूलाई परिपत्र नै गरेर खोपको लक्षित समूह किटान गरी सोहीअनुसार गर्न÷गराउन निर्देशन गरेको छ । मातहतका कार्यालयहरूबाट उक्त निर्देशन पालना नहुँदा खोपमा पहुँचवालाको रजाइँ भएको हो । यसरी खोप लगाउनेहरू बढ्दै गएपछि लक्षित समूह वञ्चित हुने अवस्था आएको छ । खोप अभियानमा मापदण्ड विपरीत मनपरी हुन थालेपछि जनस्तरमा समेत व्यापक गुनासो बढेको छ । अनुगमन तथा नियमनकारी निकायहरूले भने त्यसको बेवास्ता गर्दै आएका छन् । यस्तो लापरबाही र दुरूपयोगमा रोक लगाउन जरुरी छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७८, मंगलवार ०९:०५