कथा

धोको

कथा


उमालाल आचार्य

म सरकारी कारिन्दा । महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । मेरो तलब म एक्लैलाई त अपुग छ, चार जनाको परिवारमा त झन् त्यो चटनीबाहेक केही हुँदैन । तलबको अंकगणित मेरी पत्नी र छोराछोरीलाई पनि थाहा नभएको होइन । तैपनि गियरवाला साइकल नपाए स्कुलै नजाने घुर्की लगाउँछ छोरो । शोकेससितको दराज नपाए कुनै काम नसघाउने ध्वाँस दिन्छे छोरी । पत्नीले ताजमहल छाप भएको लकेटसहितको सिक्री माग गरेको धेरै भैसक्यो । तर यी माग पूरा गर्ने औकात मसँग कहाँ ? त्यसर्थले नामर्द र कंगालीको उपमा दिएकी छ पत्नीले । जतिसुकै गाली गलौज गरे पनि चुपचाप सहनुको विकल्प छैन । विकल्प भनेको पैसा ।

जुत्ता फाटेको तीन महिना भैसक्यो फेर्न सकिएन । टालेरै काम चलाउने सोचेँ । तर टाल्नेले बीस रूपैयाँ माग्यो, मसँग दस रूपैयाँ भन्दा छँदै थिएन । दुख्ने गरि वचन लगाउन थाल्यो, पैसा नहुनेले खेप्नै पर्दो रहेछ सबैका तीखा धारिला वचनबाणहरू ।

अफिसमा एक दिन फुर्सदको एकक्षण आफ्नो खुट्टामा टालेको जुत्ता हेर्दै टोलाइरहेथेँ । ‘नमस्कार हजुर’ भित्र आउनेले हात जोड्यो । दारी कपाल फुलेको पातलो बूढो । बुढेसकालमा सहारा कोही नभएर विरक्तिएको । रोगले गाँजेपछी पैसाको जोहो गर्न दैलादैला हात फैलाउनुपर्ने बाध्यता । उसको मर्मस्पर्शी नियतिले मेरो मन रसायो । बुढाको मुहारमा आँफैलाई झर्लक्क देखेँ मैले । केही त दिनै प¥यो । गोजीमा हात हाल्दा पो चाल पाएँ, भएको थोरै पैसा बिहानै छोराले टप्काइदिएछ । तलब आएपछि सहयोग गर्ने सर्तमा वृद्ध याचकलाई रित्तै हात पठाएँ ।

हातका रेखा हेरेर भाग्य चम्काइदिने दाबी गर्दै निधारमा खरानी घसेको एउटा कालो वर्णको जोगी आयो फेरि । पैसा दान गर्नुपर्ने, उसको पत्थरजडित औंठी किनिदिनुपर्ने सर्त तेर्सायो । उसको लट्ठिले उसैलाई बजाइदिउँ झैं भाथ्यो । हकारेँ जोडले । चुपचाप बाहिरियो ।

‘बा मरे, आमा पोइल गइन् र दुःख पाएँ’ भन्दै ओँठ कलेटी परेकी अर्कि केटी छिरी । उसलाई पनि धपाएँ । ‘पैसा चोरी भयो, बाटो खर्च पुगेन’ फेरि एउटी महिलाको बिलौना । धुत्ने तरिका आ–आफ्नै तर चाहिएको छ त सबैलाई पैसा ।

‘सरकारी अफिसमा पनि भिखारीको भिड । के काल जमाना आयोहोला यस्तो ?’ कंचट तातेपछि झर्किंएँ ।

‘यस्ता मनै नहुनेसँग के होला र माग्नु !’ आँखा तर्दै छेँड हानेर हिँडी ।

‘के बनाउँ सर खाजा ? चाउचाउमा अण्डा हालेर बनाउँ ?’ चियावाला साउजी पनि जिस्क्याउँछ । उसलाई थाहा छ, म एउटा समोसा र चिया बाहेक केही खान्न । जवाफमा खिस्स हाँसिदिन्छु मात्र । सहकर्मीहरू निकै उक्साउँथे, ‘तपाईं साह्रै सोझो हुनुहुन्छ कमलजी । समय अनुसार चल्न सिक्नुस् । सिधा औंलाले घिउ आउँदैन बुझ्नुस् ।’ मेरो जवाफ एउटै हुन्थ्यो, ‘औंला बाङ्गो पारेर घिउ ल्याउन प¥या छैन । मलाई त्यस्तो घिउ रुच्दैन ।’ घिउ पचाउने साथीहरू रातापिरा छन् म बबुरो भने ओइलाएको सागजस्तो जतिखेरै ।

माझघरेको छोरो एउटा संस्थानमा पिएन छ । कालो चस्मा लगाएर फुर्ति देखाउँछ । पहिला जस्तो हात जोड्दैन, देब्रे हात उठाएर मलाई नमस्कार भन्छ । म बुझ्छु उसले आदर होइन अनादर गरिरहेको छ । किनकि मेरो भन्दा उसको तलब माथि छ । पैसा नहुनेलाई सबैले हेप्दारहेछ्न् । हेपुन् ठीकै छ । तर आफ्नै अर्धाङ्गिनीले हेपेजति पीडा अरुमा हुँदो रहेनछ ।

‘पाहुना आउँदा आनन्दले राख्न मिल्ने गतिलो घर बनाउनुप¥यो ।’ रातोदिन कचकच श्रीमतीको । सरकारी सेवामा हाड घोटेबापत अलिअलि जम्मा गरेको संचय कोष रकम ननिकाली सुखै पाइनँ । त्यति जाबोले छोपे पनि पुगेन । छ्कोठे घरले अंश भागमा परेको खेतै खाइदियो । कठै बरै, अहिले कहाँ पुग्यो जग्गाको भाउ ! गह्रो काटेर घर हालेँ म मूर्खले ।

‘नयाँ घर भएपछि त इज्जतका लागी रंगीन टिभी चाहिन्छ’ भनेर अर्को भाउँतो झिकी जीवनसँगिनीले । मसँग नाइँ नास्ती गर्ने ल्याकत थिएन । ऋण काढेर टिभी ल्याएपछि त्यो महाऋण चुकाउनु दाँतबाट पसिना झरिरहेको छ । पहिला अन्नपानी किन्नु पर्दैनथ्यो । आजभोलि किन्नु नपर्ने केही पनि छैन । यो उमेरमा जागिर छोडी अर्को पेसा फेर्न मुस्किलै प¥यो । अनि यो चटनी तलबले परिवार धान्न पनि बडामुस्किलै त छ । सपना नै जिन्दगी भैदिए कति आनन्द हुन्थ्यो ! सपनामा त बिटाका बिटा पैसा सिरानी हालेर सुतेको छु । यही एउटा सपना छ सित्तैमा पाइने । न कसैले वचनै लाउने ।

श्रीमती स–साना कुरामा निउँ झिकेर झगडा गर्न तम्सन्छे । राम्ररी बोल्दिन । झर्किन्छे भुनभुनाउँछे । म चुपो लाग्दा पनि एक्लै कराइरहन्छे । मन कुँडिन्छ भक्कानो फुट्छ । यसो बिजाएजस्तो भएर आँखा चिम्लियो तप्लक्क आँसु पो खस्छ । धत यस्ता सानातिना कुरामा पनि आँसु झार्ने ? हत्तपत्त आँखा पुछेर आँफैलाइ सान्त्वना दिएको छु पटकपटक । यो उमेरसम्म जाँड रक्सीको स्वाद थाहा पाइएन, जुवातास समाउने ढङ्गै छैन । बरु जाँडरक्सीले बेहोस भएर घर आउनेलाई कति सन्चो ! स्वास्नी कराउँदै गर्छे आफू आफ्नै तालमा मस्त । अति भए जाँडकै सुरुमा एक चड्कन लाइदियो सकियो । तर म त चुपचाप वचन सहने अरु केही गर्न नसक्ने कमजोर छु । हे भगवान ! अर्को जुनिमा यति कमजोर नबनाउ । जे गरे पनि अपजस नआउने पैसाको छेलोखेलो हुने ठाउँतिर जागिर खुवाउ ।

‘अरु केही सोच्नुभएको छ ?’ डाक्टरले सोधे ।

‘सोचेर नै यो निर्णय गरेको डाक्टर साब । दुबै पक्ष मन्जुर छौं, मैले कागजमा सहिछाप पनि गरिसकेँ ।’

‘तपाईं तयार हुनुस हामी पनि तयारी गर्छौं ।’ त्यसो भन्दै डाक्टर भित्रतिर लागे ।

मनमा अनेक कुरा खेल्न थाले । स्वास्नी फलानाले यस्ता गहना लगाई उस्तो सारीको सप्को हाली भन्दै प्रायः मलाई हियाइरहन्छे । कसरी सम्झाउँ – फलानीको लोग्ने तलबको मात्रै भर पर्दैन बोनस पाउँछ, मह नकाढीकन हात चाट्छ भनेर । आफ्नै स्वास्नीले अर्काको पोइको बखान गर्दा मलाई खपी नसक्नु हुन्छ । तर के गर्नु सारा समस्याको जड आफैं जो परेँ । मसँग पैसै पुग्दैन । तलबको चौथाई भाग त उसैको लागि खर्च हुन्छ । लाली, पाउडर, गाजल, टीका घस्ने कृम, नङ्पालिस बसाउने तेल के के हो के के । भन्न केही हुन्न ।

दोकानमा महिनैपिच्छे उधारो बढेर चुलिंदै गाछ । त्यसमाथि छोराछोरीले चाउचाउ दोकानमा महिनैपिच्छे उधारो बढेर चुलिंदै गाछ । त्यसमाथि छोराछोरीले चाउचाउ चक्लेट बिस्कुट पनि त्यही उधारोमा थप्दा रहेछन् । दुई पैसा कमाउने दोस्रो बाटो कतै केही छैन । छोराछोरी पढ्दै छन । फुर्सदमा श्रीमती कि स्वीटर बुन्छे कि पोते उन्छे । केही पैसा आउने मेलोमेसो गरन भनेर संझाउँदा हप्तादिन रिसाउँछे । लोग्नेस्वास्नीबीच दुखानिसुखानि छुटेको धेरै भयो । पैसाहीन लोग्नेकी स्वास्नी पनि पराई ।

मोलतोल भएको रकम मेरो ग्राहकले मलाई दियो । आँफै बेच्छु भन्दै जानु र किन्नेवाला आफूसँग धाउनुमा एउटै वस्तुको मूल्य आकाशजमिनको फरक पर्दो रहेछ । लकेटसहित सिक्रीको मोल सोधेँ । पाएको मध्ये आधाभन्दा बढी रकम खाँदो रहेछ । बचेको केही पैसाले जुत्ता र कमिज फेरौँ झैं लाग्यो । भो तलब खाएर किनौला मन दोधारिन्छ– होइन अलिअलि जगेडा नराखे भोलि फेरि के बेच्नु ?

गरिबभन्दा गरिबहरू पनि मानसिक सुखमा रमाएर बाँचेका हुन्छन् । आँखा नदेख्ने लोग्ने र लठेब्री स्वास्नी मन्दिरछेउ सँगै माग्न बसेको देखेको छु कतै । श्रीसम्पत्ति त्यही एउटा माग्ने भाँडो र थाङ्ने झोला । साना छोराछोरी छन् । रुखमुनी पाल टाँगेर बस्छन् । पैसा परेका दिन खान्छन् नत्र भोकै । र पनि, आपसमा साह्रै माया गर्छन् । घर भाँडभैलो पार्ने मेरो चटनी तलबभन्दा त्यही जीवन जाती ।

आफ्ना माग पूरा भएपछि छोराछोरी रमाएको, खुसाउँदै श्रीमतीले मेरो ख्याल राखेजस्तो गरेको नाटकीय परिवर्तन पनि राम्ररी बुझेको छु । यत्तिले खुसी किन हुनु ? किनकि यो दीर्घकालीन होइन । धन्न स्वार्थी संसार ! ‘पैसाको जोहो कसरी गर्नुभयो ?’ श्रीमतीले सोधी । ‘पचास रुपैयाँको चिट्ठा लिएको थिएँ, लाखैलाख प¥यो ।’ कहिलेकाही नढाँटी नहुँदो रहेछ जिन्दगीमा । लोग्नेभन्दा प्यारो सिक्री सुमसुम्याएर उसले घाँटीमा लगाई । ऐना हेरी कपाल कोरी मुसुक्क हाँसेर भनी, ‘बल्ल मेरो धोको पूरा भयो ।’ म केही बोलिन बरु खिस्स हाँसेर मनमनै भनेँ, ‘घर पोलेर खरानी बटुल्ने धन्न तेरो धोको ।’

यी दिनहरूमा म अशक्त छु सबैलाई थाहा छ । किन छु कसैलाई थाहा छैन । पेटीमा बसेर दबाइ खाँदैथिएँ, एउटा डुलुवा कुकुर मेरो अगाडि उभिएर पुच्छर हल्लाउन थाल्यो । त्यतिखेर श्रीमती गाउँतिरबाट आई । सायद सिक्री देखाउन हिँडेकी थिइ । नजिकै आएर जर्कंदै सोधी, ‘तपाईंले मृगौला बेच्नुभा हो ?’

लौ बित्याँस प¥यो । गाउँमा हल्ला चलेछ, तब थाहा पाइसकी छ । ‘होकि होइन भन्या ?’

अब भन्नैपर्ने भो, ‘के भो त ? एउटैले पनि त मान्छे बाँच्दो रहेछनी !’ उ त रुन पो थाली, ‘त्यसो भए जसलाई तपाईंले बेच्नुभो किन चाहियो दुई वटा ? उसलाई चाहिँ किन पुगेन एउटाले ?’

‘ऊ हामीभन्दा हुनेखाने छ, धेरै तलब पाउँछ । म नाथेलाई किन चाहियो दुई वटा मृगौला ?’

‘म लाउँदिनँ यो सिक्री । जिउँदा मान्छेको अंग बेच्ने पापी’ फुकाल्न थाली ।

‘तिमीले यो सिक्री नलगाए पनि अब मेरो मृगौला फिर्ता हुँदैन त ।’ झिकेर हु¥याई । सिक्री बेरिएर कुकुरको पुच्छरमा अल्झिएपछी तर्सेर भाग्यो । मलाई हिँड्डूल गर्न डाक्टरले मनाही गरेको थियोे । श्रीमती दौडिइ पछिपछि, कुकुर डराएर झन टाढा गयो । देख्दादेख्दै लौ झाडीमा पो पस्यो । धेरै बेरपछि हारथाक भएर रित्तै हात फर्किइ श्रीमती । रुझेका उसका आँखामा हेरेर मनमनै सोधेँ, ‘अब म अर्को मृगौला पनि बेचिदिउँ त ?’ मलाई निकैबेर हेरि अनि डाँको छोडेर अंगालोमा कसि ।

प्रकाशित मितिः   १६ श्रावण २०७८, शनिबार ०५:००