शैक्षिक थलोमा सुधार गरौं

मध्यपश्चिम विश्वविद्यालयले स्थापनाको एक दशक पार गरिसकेको छ । समयका हिसाबले एक दशक थोरै होइन । यसबीचमा विश्वविद्यालय व्यवस्थित र विकशित भइसक्नुपर्ने थियो । तर, यो प्राज्ञिक थलो अहिले पनि अव्यवस्थित छ । प्रशासन, प्राध्यापक र विद्यार्थीबीच सधैं असमझदारी हुन्छ । शैक्षिक उन्नयनका लागिभन्दा सीमित व्यक्तिको स्वार्थले विश्वविद्यालय तनावग्रस्त भइरहन्छ । यहाँ आन्दोलन, तोडफोड, झडप र मुद्दामामिलाको श्रृंखला चलिरहन्छन् । पछिल्ला केही दिनयता फेरि आन्दोलन चर्किएको छ । पदाधिकारीहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्राध्यापक र विद्यार्थीहरू आन्दोलनमा छन् । एक सातादेखि शैक्षिक एवम् प्रशासनिक गतिविधि ठप्प छन् । वार्षिक कार्यतालिका प्रभावित बनेको छ । परीक्षाहरू स्थगित गरिएका छन् । शैक्षिक थलोमा सधैँको विवाद र झमेला छ । यसअघि पनि विश्वविद्यालय अनियमितता, अनेक खाले आन्दोलन र विवादहरूले जेलिएको थियो । संस्थापक पदाधिकारीहरू नै आर्थिक अनियमितता र भ्रष्टाचारको आरोपमा पदमुक्त भएका थिए । सुरूवातीमै बदनाम भएको विश्वविद्यालयले यतिका वर्षसम्म आफ्नो छवि सुधार गर्न सकेको छैन । विडम्बना नै मान्नुपर्छ त्यसयताका पदाधिकारीहरू पनि विवादरहीत बन्न सकेनन् । यसले गर्दा विश्वविद्यालयको आगामी यात्रा पनि सहज हुनेमा आशंका गर्न थालिएको छ ।

हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह पनि विवादमा मुछिएका छन् । विश्वविद्यालय सुधारको थालनी गर्ने बताइरहेका उनलाई सरोकारवाला निकायलाई बेवास्ता गर्दै आफूखुसी निर्णय गर्ने गरेको आरोप छ । उपकुलपतिको कार्यशैलीकै कारण आफूहरू आन्दोलित बनेको प्राध्यापक र विद्यार्थीहरूले बताउने गरेका छन् । उनीहरूको आन्दोलन र माग पनि उपकुलपति लक्षित नै छ । उपकुलपति जिम्मेवार नबन्दा यस्तो अवस्था आइलागेको उनीहरूको दाबी छ । उपकुलपति सिंहले पदभार गर्दा उद्घोष गरेका प्रतिबद्धताले विश्वविद्यालयमा एक खालको आशाको सञ्चार गराएको पनि थियो । तर, उनी त्यसलाई व्यवहारतः प्रयोगमा ल्याउन सफल भएनन् । यदी सफल भएका हुन्थे भने आज पनि त्यहीँ अवस्था दोहोरिरहेको पक्कै हुन्थेन  । विश्वविद्यालय सुधारका लागि आफैंले अघि सारेका दर्जनौं योजना कार्यान्वयनमा उनी चुकेका हुन नै । उपकुलपति सिंहले सार्वजनिक मञ्चहरूबाट दिएका अभिव्यक्तिले अब साच्चिकै बेथितिको अन्त्य हुन्छ र विश्वविद्यालयले एउटा उचाइ लिन्छ भन्ने थियो । तर, उनै उपकुलपति हुन् जो पछिल्लो समय एक्लिदै गएका छन् ।

प्राध्यापक र विद्यार्थीहरू मात्र होइन उनको कार्यशैलीप्रति केही पदाधिकारीसमेत असन्तुष्ट छैनन् । प्राध्यापक तथा कर्मचारीलाई प्रोत्साहनभन्दा हतोत्साहित पारेको आरोप उनलाई छ । आफूविरुद्ध भइरहेका आलोचना र टिकाटिप्पणीलाई उनी स्वीकार्ने पक्षमा भने देखिँदैनन् । त्यसको साटो विद्यार्थी र प्राध्यापकका माग विश्वविद्यालयको हित र आवश्यकभन्दा राजनीतिक स्वार्थबाट प्रेरित भएको अभिव्यक्ति दिँदै आएका छन् । सरोकारवालसँग छलफल र संवादमामा पनि उनको कमै चासो देखिन्छ । प्राध्यापक र विद्यार्थीहरू पनि शैक्षिक आन्दोलनको नाममा अराजकतातर्फ उन्मुख छन् । विवाद समाधान गर्न नेतृत्वले नै अग्रसरता देखाउनु पर्छ । दुवै पक्ष गम्भीर बनन्दा झन् संकट निम्तिन सक्छ । जुनसुकै विवाद समाधानका लागि संवाद र छलफलको विकल्प छैन । यसका लागि दुवै पक्ष तयार बन्नैपर्छ । सामूहिक प्रयास र योजनाबाट मात्र विश्वविद्यालयले गति लिन सक्छ । अध्ययन अनुसन्धानको केन्द्र बन्नुपर्ने स्थलमा सधैँजसो अस्वाभाविक गतिविधि भइरनु लज्जाको विषय हो ।

प्रकाशित मितिः   १३ श्रावण २०७८, बुधबार ०५:००