‘जनजाति हुन चेप्टो नाक, चिम्सा आँखा हुनैपर्छ र ?’
रोकायगाउँ– ९ लिम्साका धमिन रोकायको घरमा हस्याङ्ग–फस्याङ्ग गर्दै ईलाका प्रहरी कार्यालय रामीडाँडाबाट प्रहरीको टोली पुग्यो । एक्कासी प्रहरीलाई देखेपछि घरका मान्छे आत्तिए । छोराले कतै केही लफडा गर्यो कि भन्ने चिसो पस्यो । गाउँलेहरु पनि छक्क परे । गाउँमा झै झगडा कसैको भएको थिएन । कसले के विराएछ ? गाउँलेमा त्रासपुर्ण उत्सुकता छायो ।
तर प्रहरी धमिनको घरमा पुग्नुको कारण भने अर्कै थियो । खासमा धमिन रोकायले मंसीर १४ गते गाउँ विकास समितिको कार्यालय रोकायगाउँमा आफू जनजाति समुदायको नागरिक भएको पहिचान प्रमाण पत्रका लागि सिफारिस बनाईदिन निवेदन दिएका रहेछन् । रोकायले निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई जनजातिको प्रमाण पत्र दिनुहुन भन्दै रोकायगाउँ गाविसले सिफारिस बनाईदियो ।
तर, जिल्ला प्रशासन कार्यालयले रोकायगाउँ गाविसले धमिनका लागि लेखिदिएको सिफारिस हेर्यो । धमिनको अनुहार र जिउडाल हेर्दा जनजाति जस्तो नदेखिने भन्दै प्रशासनले उनलाई केही दिन प्रतिक्षा गर्न आग्रह गर्यो । कार्यालयले प्रहरी मुचुल्का गरेर मात्रै जनजाति भए नभएको पहिचान गर्न सकिने बताएपछि उनी कार्यालयबाट निराश हुदै फर्किए ।
धमिन जनजाति हुन् । उनको जन्मजात परिचय जनजाति हो । उनी भारतीय सेनामा दराखस्त दिनका लागि जनजाति पहिचान प्रमाण पत्र लिन हिंडेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले आफूमाथि शंका गरेपछि दुःख लागेको बताए । ‘जनजाति हुनलाई चेप्टो नाक, चिम्सा आँखा नै हुनुपर्छ र ?’ उनी प्रश्न गर्छन् । प्रशासकहरुको यस्तो मान्यता रंगभेदी मानसिकताको उपज भएको स्थानीय बुद्धिजीवी क्षेत्रबहादुर घर्तीले आरोप लगाए ।
२०६८ को जनगणना अनुसार जाजरकोटमा क्षेत्री, दलित, ठकुरी पछि मगर समुदायको बाहुल्यता रहेको छ । अधिकासं क्षेत्रीको थर पनि मगर सुमदायका व्यक्तिहरुसँग मिल्दो जुल्दो भएकाले जनजाति पहिचानमा समस्या आउने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको बुझाई छ । रोकाय, थापा, बुढा जस्ता थरहरु मगर र क्षेत्रीसँग मिल्ने भएकाले पनि जनजाति पहिचान गर्न बेला बेला अन्यौलता सिर्जना हुने गौतमले बताए । सेवाग्राहीलाई दुःख दिनु नभई वास्तविक जनजातिहरु सरकारी सेवा सुविधाबाट बन्चित नहोउन् भन्ने मनसायले प्रहरी मुचुल्का गर्नुपरेको गौतमले बताए ।
प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १२:०९
साझा बिसौनी ।