हरित पुनस्र्थापना प्रवद्र्धन परियोजना सुरु

प्रदेश राजधानी वीरेन्द्रनगरमा हरित पुनस्र्थापना प्रवद्र्धन परियोजना सुरु गरिएको छ । फोहोर व्यवस्थापन गर्दै हरित नगरको रूपमा विकास गर्न नगरपालिका, यूएनडीपीको साझेदारी र अन्तरनिर्भर समाज सुर्खेतको सहजीकरणमा उक्त परियोजना सञ्चालन गरिएको हो ।

परियोजना अन्तर्गत स्वयम्सेवक परिचालन गरिने भएको छ । फोहोर संकलनका लागि ४० जना र व्यवस्थानमा सहयोग पु¥याउनका लागि १० जना ग्रीन स्वयम्सेवक राख्न थालिएको हो । मंगलवार बसेको परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागीहरूले वीरेन्द्रनगरमा बढ्दो सहरीकरणका कारणले फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् । बजार क्षेत्रमा फोहोर व्यवस्थापनका लागि कर्मचारी राखेको भए पनि समयमा सबै क्षेत्रमा पुग्न नसक्दा समस्या हुने गरेको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । हरित पुनस्र्थापना प्रवद्र्धन परियोजना लागू भएपछि बजारमा देखिने अव्यवस्थित फोहर व्यवस्थापन भइ नगरबाट निस्कने फोहरमा कमी हुने बताए ।

परियोजनाका सहरी फोहोरमैला व्यवस्थापन विज्ञ सन्तोषदास श्रेष्ठले नगरपालिकाको फोहोर व्यवस्थापनका लागि प्रसोधन केन्द्र बनाउन यूएनडीपीले सहयोग गर्ने जानकारी दिए । फोहोरलाई मोहोर बनाउने उद्देश्यसहित नगरपालिकामा कोभिड–१९ बाट प्रभावित र सीमान्तकृत वर्गलाई लक्षित गरि तीन सय जनाभन्दा बढीलाई हरित पुनस्र्थापना प्रवद्र्धन परियोजनामार्फत रोजगारीसमेत सिर्जना गरिएको उनले जनाए ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकासँग मिलेर काम गरिएको अन्तरनिर्भर समाजका प्रमुख विवेककुमार शाहीले बताए । उनले वीरेन्द्रनगरलाई सुन्दर सहरका रूपमा विकास गर्न आवश्यक रहेको औंल्याए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले सफा टोल, हरित पार्क जस्ता काम अगाडी बढाउन सकिने यूएनडीपीका फिल्ड कार्यालय कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले सुझाव दिए । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सबै मिलेर हरित नगर स्थापना गर्न सकिने जनाए ।

प्रकाशित मितिः   ३० असार २०७८, बुधबार ०५:००