पर्यटक पर्खिरहेको बराहताल

baraha-tall-2-years-pahile

सुर्खेतको तरंगा गाउँ विकास समितिमा पर्ने बराह ताल सदरमुकाम वीरेन्द्रनगरबाट मात्र ३५ किलोमिटर पश्चिममा रहेको छ । ताल प्राकृतिक सुन्दरताले जति आकर्षक छ त्यति यसको महत्वलाई कसैले पनि बुझ्न सकेका छैनन् । जसले गर्दा यसको संरक्षण र विकासमा सकैको ध्यान पुग्न सकेको छैन । जिल्लाको थुप्रै सम्पदा बीच बराह ताल आज आफै संकटमा पर्दै गएको छ । करिब २६ विगाहा क्षेत्रफलमा फैलिएको ताल आवश्यक संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रले धनी जिल्ला सुर्खेतमा बराह ताल मात्र हैन अन्य यस्ता धेरै पर्यटकीय क्षेत्रहरू ओझेलमा परिरहेका छन् । न्यून संख्यामा पुग्ने आन्तरिक पर्यटकहरू तालको पछिल्लो अवस्थामा खिन्न हुने गरेको स्थानीयबासिन्दाको अनुभव छ । तालको संरक्षण र सम्वद्र्धनमा कसैले चासो नदिँदा दिनप्रतिदिन ताल जीर्ण बन्दै गएको हो ।

बराह तालका अनेक विशेषता छन् । एक त जंगलकोबीचमा रहेको यो ताल आफैमा आकर्षक छ । तालको एक भागमा मन्दिर छ । यद्यपि मन्दिरको संरक्षण हुन सकेको छैन । त्यति मात्र होइन बराह तालसँग चराहरूको मोह पनि रोचक छ ।

प्रत्येक वर्ष टाढा टाढाबाट विभिन्न प्रकारका फिरन्ते चराहरू घुम्न आउँछन् । तालमा हाँससहित अनेक प्रजातिका चराहरू पौडी खेलिरहेको दृश्य यसै पनि मनमोहक लाग्छ । चराहरू तालमा पौडिने मात्र होइन तालको बीच भागमा खसेका पात र फोहोर समेत चुच्चोले टिपेर बाहिर फाल्ने गरेको स्थानीयहरू बताउँछन् । तालमा पुगेपछि शरिरमा रौं नभएका चराहरू पौडी खेलिरहेको दृश्यावलोकन गर्न सकिन्छ ।

baraha-tall-ahile

बराह तालसम्म पुग्नका लागि अहिलेसम्म यातायातको सुविधाको विस्तार हुन नसक्दा पर्यटकहरू चाहेर पनि जान सकिरहेका छैनन् । हुर्केदेखि बराताल जाने सडक योजना निकै वर्ष पहिलेदेखिको हो । तर यो सडकको अवस्था स्तरोन्नति हुन सकिरहेको छैन । तरंगाको वडां. ५ सम्म सडक पुगे पनि बरातालसम्म भने पुगेको छैन । तरंगासम्म पुगेको सडकको अवस्था पनि जीर्ण छ । हरेक पटकको निर्वाचनमा यो सडक उम्मेदवारहरूको आश्वासनमा भने पर्ने गरेको छ ।

सुर्खेतकै सबैभन्दा ठूलो तालको रूपमा रहेकोे बराह तालको दुदर्शा देखेर त्यहाँ आउने जो कोहीको मन खल्लो हुने गरेको तरंगावासी बताउँछन् । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट नजिकै रहे पनि अहिलेसम्म बाटो समेत पुग्न नसक्दा यहाँका स्थानीयवासी, जनप्रतिनिधि र सरकारी निकायसँग एकदमै असन्तुष्ट बनेका छन् ।

जिल्लाकै नमुना पर्यटकीय स्थलको रूपमा रहेकाले यसको संरक्षणमा सबैजना जुट्नुपर्ने यहाँका बासिन्दाको धारणा छ । वास्तवमा बराह ताल जति सुन्दर छ त्यसको संरक्षण, सम्वद्र्धन हुन नसक्नु उत्ति नै विडम्वनापूर्ण पनि । पर्यटकीय मुलुक नेपालमा रहेका यस्ता सम्पदाहरूको संरक्षणमा हामी आफै नजुट्ने हो भने क्रमशः यिनको अस्तित्व मेटिने पक्का छ । यसर्थ सम्पदा संरुक्षणमा आजैबाट जुट्न जरुरी छ ।

हुर्के-बराहताल सडकको स्तरोन्नति गर्ने र बराहतालको प्रचार–प्रसार गर्न सकेको खण्डमा पर्यटकहरूका लागि बराहताल आकर्षक गन्तव्यस्थल बन्न सक्दछ । सरकारले घुमफिर वर्ष मनाइरहँदा सुर्खेतको बराहताल भने पर्यटक पर्खिरहेको छ ।

प्रकाशित मितिः   २० मंसिर २०७३, सोमबार ११:५१