माछाबाट मनग्य आम्दानी, छैन विदेश जाने रहर
वीरेन्द्रनगर–६ गणेशचौकका विदुर कटुवालले माछापालन सुरु गरेको ६ महिना मात्रै भएको छ । यो अवधिमा उनले करिब ९ लाख बराबरको माछा बिक्री गरेर आम्दानी लिइसकेका छन् । माछापालनबाट पहिलो पटक भएको आम्दानीले उनी खुशी मात्रै भएका छैनन्, यही व्यवसायलाई थप विस्तार गर्ने योजनामा पुगिसकेका छन् ।
छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएपछि सुर्खेतमा पछिल्लो समय माछापालन व्यवसायमा आकर्षण बढ्दै गएको छ । केही वर्षयता माछापालनमा लगानी पनि बढ्दै गएको छ । जिल्लाको माछाको मागलाई स्थानीयस्तरबाटै पूर्ति गर्ने लक्ष्यसहित युवाहरू माछापालनमा लागेका छन् । यस्तै युवा हुन्, विदुर कटुवाल । उनले लाटीकोइलीमा तीन वटा माछापोखरी निर्माण गरेका छन् । तीन वटा पोखरीमा ४० हजार भुरा हालेर व्यवसाय सुरु गरेका उनले ३५ क्वीन्टलभन्दा बढी माछा बिक्री गरिसकेको जानकारी दिए । हरेक दिन पोखरीस्थलबाटै ७० देखि ८० केजीसम्म माछा बिक्री हुने गरेको समेत उनले जनाए । ‘माछाका लागि बजार खोज्दै जानु परेको छैन’ उनले भने, ‘हरेक दिन पोखरीबाटै धमाधम बिक्री हुने गरेको छ ।’
आफै व्यवसाय गरी आत्मनिर्भर हुने उद्देश्यले माछा पाल्न सुरु गरेको विदुर बताउँछन् । ‘आफै आत्मनिर्भर हुनुपर्छ भन्ने सोच थियो, त्यसैले माछापालनमा राम्रो सम्भावना देखेपछि यसैमा लागनी गरें’ उनले भने । पछिल्लो समय माछामासुप्रति मानिसहरूको बढ्दो मोह देखेर पनि माछापालनमा लगानी गर्न प्रेरित भएको उनी बताउँछन् । ‘सुर्खेतमा ताजा माछा नै पाइदैनथ्यो, तर यहाँ माग भने दिनप्रति दिन बढिरहेको छ’ उनी भन्छन्, ‘यहाँको बजारमा माछाको स्रोत भनेको भारत हो, भारतबाट ल्याउँदा थुप्रै मरेको माछाहरू ल्याउने गरेको पाएँ । त्यसैले सुर्खेतवासीलाई सुर्खेतमै उत्पादन भएको ताजा माछा उपलब्ध गराउने अठोटसहित व्यवसाय सुरु गरेँ ।’ पहिलो पटक माछापालन व्यवसाय सुरु गरेका उनी माछाबाट हुने आम्दानी देखेर खुशी छन् । जिउँदो माछा प्रतिकेजी तीन सय पचासको दरले पोखरीबाटै बिक्री भइरहेको उनले बताए ।
माछापालनबाट राम्रो आम्दानी भएपछि उनी अब यसलाई थप विस्तार गर्ने योजनामा छन् । ‘पहिलो वर्ष भएकाले के हुन्छ भन्ने थियो तर यो वर्ष धेरै सिकाइ भयो र आम्दानी पनि राम्रै भयो त्यसैले अब लगानी वृद्धि गर्ने सोच बनाएको छु’ उनले भने । अहिले २२ कठ्ठा जग्गामा व्यवसाय गरेका उनले अब विस्तार गरेर ४ विगाहसम्म जग्गा लिएर माछापालन गर्ने जनाए । माछाको लागि बजारको समस्या छैन । सुर्खेतमै पनि माग बढ्दै गएको छ । सुर्खेतबाहिर पनि बजारीकरण गर्न सकिने सम्भावना रहेको विदुर बताउँछन् । यही सम्भावनाले उनलाई माछापालनमा थप लगानी गर्न हौस्याएको छ ।
विदुरजस्तै माछापालन गरेर राम्रो आम्दानी गरिरहेका अर्का कृषक हुन्, जगदिश शाही । कालिकोट स्थायी घर भइ हाल सुर्खेतमा माछापालन गर्दै आएका उनी पनि पहिलो आम्दानीले हौसिएका छन् । सुरुवातमा ७ लाख लगानी गरेको उनले बताए । आत्मनिर्भर हुने उत्तम उपाय नै व्यवसाय भएको भन्दै उनले आत्मनिर्भर हुनकै लागि आफूले माछापालन सुरु गरेको बताए । ‘राम्रोसँग बजारको अवस्था बुझेर व्यवसायमा लगानी गर्ने हो भने सोचेअनुसार आम्दानी लिन सकिन्छ’ उनी भन्छन् । सुर्खेतको बजारमा जिउँदो र ताजा माछा उपलब्ध गराउने उद्देश्यले नै आफूले यसमा लगानी गरेको बताए । ‘एकातिर यहाँका नागरिकले ताजा माछा खान पाइरहेका छन् भने अर्कोतर्फ यसबाट आम्दानी लिएर म आत्मनिर्भर भएको छु’ शाहीले भने ।
विदुर र जगदिश मात्र होइन जिल्लामा पछिल्लो समय माछामा लगानी गर्नेहरूको संख्या बढ्दो छ । यसरी आफै व्यवसाय गरेर आत्मनिर्भर बनेका युवाहरू अन्य युवाहरूलाई पनि व्यवसायमा लगानी गर्न सुझाव दिन्छन् । विदेश गएर मात्र आम्दानी गर्न सकिन्छ भन्ने मानसिकता गलत भएको उनीहरूको भनाई छ ।
साझा बिसौनी ।