छैन पूर्वतयारी
प्राकृतिक विपद् कर्णालीको एक प्रमुख चुनौति हो । हरेक वर्ष विपद्ले क्षति पु¥याउँछ । प्रदेश राजधानी वीरेन्द्रनगर पनि उच्च जोखिममा छ । नगरका धेरैजसो वडा कुनै न कुनै प्राकृतिक विपद्को जोखिममा छन् । खासगरी बाढी–पहिरो र कटानको जोखिममा छ । जोखिम छ भन्ने थाहा पाएपछि त्यसविरुद्ध पूर्वतयारी गर्नु अपरिहार्य हुन्छ । तर वीरेन्द्रनगरको तयारी भने पर्याप्त छैन । नगरपालिकाकै तथ्याङ्कअनुसार वडा नं. २, ३, ९ र १० नं. डुबानको खतरामा छन् भने १, ४, ५, ६, ७, ८, ११ र १२ नं. वडा बाढी र कटानबाट प्रभावित छन् । त्यस्तै, नगरका १३, १४, १५ र १६ नं. वडा पहिरोको उच्च जोखिममा भएका वडा हुन् । यहाँका नागरिक हरेक वर्षजसो वर्षायाममा विपद्को त्रासमा हुन्छन् ।
विपद् व्यवस्थापन गर्न नागरपालिकाले काम त गरिरहेको छ तर सुस्त छ । अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न लागेको नगरपालिकाले जनाएको छ । तर कहिलेसम्म योजना बन्छ र कार्यान्वयन हुन्छ भन्ने टुङ्गो छैन । वर्षात सुरु भइसकेको छ तर नगरपालिका भने अहिले तटबन्ध निर्माणको काम भइरहेको बताउँछ । प्रत्येक वडाहरूमा तटबन्ध गर्न तारजाली दिइएको छ । विपद् व्यवस्थापनले नगरपालिकाले बेवास्ता गरेको छ । आगामी बजेट र योजना पनि प्राथमिकता दिइएको छैन । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नगरपालिकाले बजेट तथा कार्यक्रम ल्याइसकेको छ । एक अर्ब ५६ करोडको बजेटमा विपद् व्यवस्थापनका लागि ठोस कार्यक्रम भने ल्याएको पाइँदैन । केही योजनाहरू भने समेटिएका छन् । आगामी बजेटमा विपद् व्यवस्थापनमा प्रत्येक वडा र नगरमा रहेको विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै सोको परिचालन गर्ने, नगरभित्र हुने विपद्का घटनाका लागि तत्काल राहतको प्रबन्ध गर्ने, नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा कोभिड लगायतका महामारी समेट्ने उल्लेख छ । विपद् प्रतिकार्य टोली गठन गरि उनीहरूको क्षमता विकास गर्न तालिम दिने तथा गैरसरकारी निकाय तथा संघ–संस्थाहरूसँग समन्वय गर्ने गरि नगरले कार्यक्रम ल्याएको छ । विपद्का लागि उत्थानशील नगर निर्माणका लागि आवश्यक नीति तथा योजना निर्माण, विद्यालय, टोल, वडा तथा नगरतहका विपद्सँग सम्बन्धित संरचनाहरूको क्रियाशीलता बढाइने आगामी नीतिमा उल्लेख छ ।
नगरपालिकाले हरेक वर्ष विपद्का लागि आवश्यक पूर्वतयारी गरेको दाबी गर्दै आएपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको भने देखिदैन । उपत्यकाको दक्षिणी भू–भाग थोरै वर्षा हुँदा पनि डुबानमा पर्छ भने उत्तर, पूर्व र पश्चिममा बाढी तथा पहिरोले क्षति गर्दै आएको छ । उपत्यकाको दक्षिणी भागमा सालैपिच्छे डुबानको त्रास हुन्छ । बर्खाको समयमा उपत्यका र आसपासका साना खोलाहरूमा पानीको सतह बढेपछि निकास थुनिने गरेको छ । साँघुरो निकासका कारण पानी सहज रूपमा बग्न नपाउँदा तल्लो तटीयक्षेत्र डुबानमा पर्ने गरेको छ । अब भने नगरपालिकाले ठोसखालको योजना बनाएर पूर्वतयारीमा ध्यान दिन अपरिहार्य छ ।
प्रकाशित मितिः २० असार २०७८, आईतवार ०५:००
साझा बिसौनी ।