रोपाइँ उत्सव

मध्य असार । धान रोपाइँको उत्तम समय । कृषकका लागि उत्सव आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ उक्तिलाई सार्थक बनाउने अभियानमा जुटेका छन् । यतिबेला धमाधम रोपाइँ चलिरहेको छ । किसानहरूलाई धान रोप्ने चटारो छ । खेतहरूमा श्रम र पसिना बगाउँदै छन् । बिहानदेखि साँझसम्म कृषकहरू खेतमै भेटिन्छन् । खेतबारीको कामले भ्याइनभ्याइ छ । आफ्नो रोपाइँ साथसाथै छरछिमेकको परिमा । जे होस् रोपाइँ उत्सवको उत्साह छाएको छ । यस वर्ष मनसुनले पनि साथ दिएको छ । जसले गर्दा किसानले समयमै बिऊ राख्नेदेखि रोपाइँ समेत गर्न पाए । मनसुन समयमै सक्रिय भयो । मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ छिटो सुरू भयो । आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाइँ गरिसकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मध्यअसारसम्म आइपुग्दा कर्णाली प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

विशेष गरेर सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा रोपाइँ सकिएका छन् । अन्य स्थानमा चलिरहेको छ । सिँचाइको पर्याप्त सुविधा नभएका पहाडी जिल्लामा पनि धेरैजसो ठाउँमा धमाधम रोपाइँ भइरहेको छ । मौसमले साथ दिएर बेलैमा खेत रोप्न पाएका छन् । समयमै रोप्न पाउँदा कृषिक हर्षित छन् । अनुकुल समयमै रोपाइँ हुँदा यसवर्ष धान उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । गतवर्ष कर्णाली प्रदेशमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९५ प्रतिशत रहेकोमा यो वर्ष वृद्धि हुने अनुमान गरिएको छ । प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगाउने गरिन्छ । यी जातका धानको उत्पादन समेत बढी हुने गरेको छ । निर्देशनालयका अनुसार मध्य हालसम्म जुम्लामा सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भएको छ । हुम्ला र डोल्पामा ८०÷८० प्रतिशत, मुगुमा ७०, रूकुम–पश्चिम र जाजरकोटमा ६५/६५ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । त्यस्तै, सल्यानमा ६० प्रतिशत, दैलेखमा ४५ प्रतिशत र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको छ । कर्णालीमा धान खेती हुने ४१ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमध्ये २० हजार चार सय बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो ।

मंगलवार देशभर धान दिवस मनाइएको छ । तर बिर्सन नहुने कुरा के छ भने हर्षोल्लासका साथ रोपाइँ गरिए पनि कर्णाली प्रदेश धानमा आत्मनिर्भर छैन । प्रदेशमा हरेक वर्ष खाद्य संकट हुन्छ । प्रदेशमा बर्सेनि झन्डै २६ हजार मेट्रिक टन खाद्यान्न अभाव छ । जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा खाद्यान्न अपुग हुने गरेको छ । कर्णालीमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । जब की अहिलेकै अवस्थामा यहाँ तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । यो अवस्थाको अन्त्य गर्न र अनुदान तथा आयाति चामलको आपूर्ति घटाउन धानको उत्पादकत्व वृद्धि गर्नेगरी खेती प्रर्णालीको सुधार र विकास गर्न जरुरी छ ।

प्रकाशित मितिः   १६ असार २०७८, बुधबार ०५:४०